+
+

भाग्यमानी महत, जसलाई चुनाव हारे पनि अवसरै अवसर

डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय चुनावमा प्रत्यक्ष प्रतिस्पर्धा गरेको एकाध दृष्टान्त मात्रै छन् । पार्टीको आन्तरिक चुनावमा एक पटक केन्द्रीय सदस्य जितेका उनले राष्ट्रिय चुनाव जितेको विगत छैन । तर पनि उनी अवसरबाट भने वञ्चित हुन परेको छैन ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ असोज ५ गते २०:३०

५ असोज, काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई रिझाएर सर्वाधिक अवसर प्राप्त गर्ने नेतामा सम्भवतः एक्लो व्यक्ति हुन्– डा प्रकाशशरण महत । सभापति देउवाको विश्वास पात्रको पहिचान बनाएका महतले पार्टीभित्र अद्धितीय अवसर पाएको आरोप नेपाली कांग्रेसभित्र छ ।

पार्टीको आन्तरिक जीवन र राष्ट्रिय चुनावमा उनले प्रत्यक्ष प्रतिस्पर्धा गरेको एकाध दृष्टान्त मात्रै छन् । पार्टीको आन्तरिक चुनावमा एक पटक केन्द्रीय सदस्य जितेका उनले राष्ट्रिय चुनाव जितेको विगत छैन । तर पनि उनी अवसरबाट भने वञ्चित हुन परेको छैन ।

महतलाई यसपटक पार्टीले समानुपातिक पद्धतितर्फको उम्मेदवारमा सिफारिस गरेको छ । उनले समानुपातिक रोजेपछि प्रत्यक्ष चुनाव लड्न सक्षमहरुले नै सजिलो बाटो रोजेपछि निर्वाचन पद्धति माथि नै प्रश्न उठेको भनेर कांग्रेसवृत्तमा आलोचना हुने गरेको छ ।

प्रत्यक्षतर्फ नुवाकोट–१ र काठमाडौं ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएर पनि महतले प्रतिस्पर्धा गर्ने आँट गरेनन् । ‘काठमाडौं–५ र नुवाकोट–१ दुबैतिर सुरक्षित देखेनन् र सजिलो बाटो खोजे’, कांग्रेसका एक जना केन्द्रीय सदस्य भन्छन्, ‘प्रधानमन्त्री रिझाएर खस आर्यतर्फ १ नम्बरमा बसे ।’

सत्तारुढ दलहरुबीच गठबन्धन भएकाले महतलाई यसपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न सहज पनि थियो । तालमेल हुँदासमेत उनले चुनाव लड्न आँट गरेनन् । अघिल्लोपटक नुवाकोट–१ मा माओवादी केन्द्रले बाम गठबन्धनबाट जितेको थियो ।

माओवादीले उक्त स्थानमा यस पटक पनि दाबी गरेको छ । तर, माओवादीलाई अरु कुनै क्षेत्रमा व्यवस्थापन गरेर यहाँबाट प्रतिस्पर्धा गर्ने विकल्प हुँदा समेत उनी निर्वाचनबाट भागेको नुवाकोटका कांगेस नेताहरु आरोप लगाउँछन् ।

जिल्लाका नेताहरुका अनुसार महतलाई नुवाकोट–१ मा उम्मेदवार हुन माओवादी बाधक बन्यो भने पनि क्षेत्र नम्बर २ मा उनलाई अवरोध गर्ने कोही हुने थिएन । नेता अर्जुनरसिंह केसीको नाम समानुपातिक पद्धतिमा सिफारिस भएको छ ।

प्रत्यक्ष तर्फ सिफारिसमा परेकामध्ये बहादुरसिंह लामालाई मनाउन सके महत प्रतिस्पर्धी बन्न सक्ने थिए । लामा पार्टीमा संस्थापन पक्षका केन्द्रीय सदस्य हुन् । एउटै पक्ष भएकाले महतले दाबी गरे लामा पछि हट्ने विकल्प पनि जिल्ला नेताहरुले सुझाएका थिए । अर्कोतर्फ, माओवादीलाई नै नुवाकोट–२ छुट्याउन सकिने सम्भावना पनि थियो ।

गठबन्धनको बलमा महतले चुनाव सहजै जित्ने अवस्था रहेको जिल्ला नेताहरु दाबी गर्छन् । नुवाकोटमा स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा कांग्रेस नै पहिलो थियो । ‘पार्टीमा अवसर पाउन नसकेका सक्षम व्यक्ति, सीमान्तकृत समुदाय, विज्ञ व्यक्तिहरुलाई समानुपातिक प्रणाली मार्फत संसदमा पुर्‍याउने यो पद्धतिकै दुरुपयोग गरे उनले,’ कांग्रेसका एक जना केन्द्रीय सदस्य भन्छन् ।

महतको भाग्योदयको श्रृङ्खला

२०४० चैतमा बलबहादुर केसी नेपाल विद्यार्थी संघको अध्यक्ष बने । संघको उनी पाँचौ अध्यक्ष थिए । पञ्चायतकालको कठिन समय भएकोले खुला महाधिवेशन गर्न सकिने अवस्था थिएन, टिके प्रथा चलिरहेकै अवस्था थियो, केसी अध्यक्ष भए । महामन्त्रीमा प्रकाशशरण महत मनोनित भए ।

त्यसपछिको अध्यक्ष हुने चाहना महतको थियो । तर, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई उनको पक्षमा देखिएनन् । २०४४ पुसमा संघको अध्यक्षमा बालकृष्ण खाँड मनोनित भए ।

नेविसंघको अध्यक्ष हुन नपाएपछि महत नेताहरुसँग रुष्ट थिए । तत्कालीन परिवेश स्मरण गर्दै कांग्रेसका उच्च तहका एक नेता भन्छन्, ‘त्यसपछि महतलाई अध्ययन गर्न विदेश पठाउने बारेमा पार्टीभित्र छलफल भयो । उनी अमेरिका पढ्न जान पाए ।’

उनलाई शैक्षिक योग्यता बढाउने अवसर मिल्यो । महतले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरे । ‘अमेरिकामा उच्च अध्ययन गरेर फर्केका व्यक्ति हुनुको साथै तत्कालीन समयमा नामको अगाडि डाक्टर लेखेपछि पार्टीभित्र मूल्यांकन नै फरक हुने भयो’, कांग्रेसका नेता स्मरण गर्छन्, ‘त्यसपछि उनका लागि अवसर प्राप्त हुन सुरु भयो । पार्टीले योजना आयोगको सदस्य बनाइदियो ।’ २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनी योजना आयोगको सदस्य भए ।

महत पार्टीभित्रका समीकरणमा लामो समयदेखि देउवा पक्षमा निरन्तर सक्रिय छन् । देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा (२०५८) उनले राजनीतिक सल्लाहकारमा नियुक्ति पाए । ०६१ मा देउवा नै प्रधानमन्त्री रहेका बेला महत परराष्ट्र राज्यमन्त्री भए ।

देउवाले परराष्ट्र मन्त्रालय आफैंसँग राखेर राज्यमन्त्री उनलाई बनाएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा महत समानुपातिक तर्फको उम्मेदवार बने । २०६६ सालमा माधव नेपालले नेतृत्व गरेको सरकारमा ऊर्जामन्त्री भए । तत्कालीन समयमा एमाले र कांग्रेसको संयुक्त सरकार बनेको थियो ।

दोस्रो संविधान सभाको निर्वाचनमा पनि समानुपातिकमा बसे । २०७३ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाए । २०७४ सालमा प्रत्यक्ष निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ५ मा पहिलोपटक प्रतिस्पर्धा गरेका उनी फराकिलो मत अन्तरले पराजय भोगे ।

पार्टीको आन्तरिक चुनाव पनि हारे

पार्टी विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा देउवाले आफूलाई साथ दिएका धेरैलाई केन्द्रीय सदस्यमा समेटे । २०६४ सालमा मूलधारको कांग्रेससँग प्रजातान्त्रिक समाहित भयो । पार्टी एकीकरण गर्ने बेला दुबैतर्फका केन्द्रीय समिति सदस्यहरु सोही पदमा रहने निर्णय गरिएको थियो । पार्टी एकीकरण हुँदा महतलाई पनि केन्द्रीय सदस्य हुने बाटो खुल्यो ।

२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यो बाहेक पार्टीको आन्तरिक निर्वाचनमा उनले जितेको इतिहास छैन ।

१३ औं महाधिवेशनपछि पनि उनले देउवाबाट लाभ लिने क्रम यथावत थियो । अघिल्लो विधान अनुसार १ महामन्त्री र कोषाध्यक्षमा निर्वाचित हुने व्यवस्था थियो । विधान अनुसार सभापतिले उपसभापति, एक जना महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था थियो ।

त्यही व्यवस्था अनुसार देउवाले सहमहामन्त्रीमा महतलाई मनोनित गरे । संस्थापनइतरले पदाधिकारीमा एक जना मनोनितको माग गरिरहेको थियो । तर, महतले बाजी मारे । सहमहामन्त्रीमा देउवा समूहबाट नै ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण लगायत नेता आकांक्षी थिए । अरुलाई पन्छाएर देउवाले सहमहामन्त्रीमा महतलाई रोजेका थिए ।

१४ औं महाधिवेशनमा आइपुग्दा आफ्नो समूहका आकांक्षीलाई पछि पार्दै महत महामन्त्रीमा देउवा समूहबाट भिडे र पराजय भोगे । तर, पनि उनलाई देउवाले भरोसा दिइरहे । १७ पुस २०७८ मा देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरे । केन्द्रीय सदस्य बनाएको अर्को महिनामा देउवाले उनै महतलाई प्रवक्ता नियुक्त गरे ।

देउवालाई साथ दिएर पटक पटक लाभ पाउनेमा महतको नाम अघिल्लो पङ्तिमा आउँछ । एकजना कांग्रेस नेता भन्छन्, ‘पार्टीभित्र र बाहिरका निर्वाचनमा जित निकाल्न नसकेपनि उहाँ भाग्यमानी नेता सावित हुनु भएको छ ।’

पार्टीभित्र अरु भन्दा धेरै अवसर पाएको सम्बन्धमा प्रतिक्रिया लिन महतसँग पटकपटक फोन सम्पर्क र एसएमएस गर्दा पनि उनको प्रतिक्रिया प्राप्त गर्न सम्भव भएन ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?