+
+

भारतसँगको स्थिर विनिमय दरको प्रभाव अध्ययन गर्न नेपाललाई विश्व बैंकको सुझाव

विश्व बैंकका अर्थशास्त्रीहरुले भारतसँगको स्थिर विनिमय दरले पारिरहेको प्रभावबारे अध्ययन गर्न नेपाललाई सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:४७

५ असोज, काठमाडौं । विश्व बैंकका अर्थशास्त्रीहरुले भारतसँगको स्थिर विनिमय दरले पारिरहेको प्रभावबारे अध्ययन गर्न नेपाललाई सुझाव दिएका छन् ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले विश्व बैंकसँगको सहकार्यमा गरेको वस्तुको मूल्य र आर्थिक विकास अन्तरक्रिया कार्यक्रममा विशव बैंकका अर्थशास्त्रीहरुले भारतसँगको स्थिर विनिमय दरबारे चासो राखेका हुन् ।

बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा केन्द्रित छलफलमा अर्थविद्‍हरुले नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको प्रभाव के हुन्छ भन्ने विषयमा छलफल भएको छ ।

नेपालका अर्थशास्त्रीहरुले भने प्रतिस्पर्धी क्षमता कमजोर भएर निर्यात घटिरहको, वित्तीय घाटा उच्च हुँदै गइरहेको तथा अन्य उदयमान चुनौतीहरूको सामना गर्न कठिन बन्दै गएको सन्दर्भमा स्थिर विनिमय दरकाबारे अहिले परिमार्जन गर्दा जोखिम हुनसक्ने बताएका छन् ।

कार्यक्रममा विश्व बैंकले उथलपुथलको समयमा पनि अवसरको सदुपयोग गर्ने वास्तविकतालाई मान्यता दिनुपर्ने सुझाव दिएको थियो । दिगो आर्थिक वृद्धिका लागि स्वदेशी उत्पादनमा वृद्धि गर्न, स्रोत परिचालन गरेर मिडियम तथा साना व्यवसायीलाई प्रवर्द्धन गर्न र अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा ल्याउन आवश्यक रहेको विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले सुझाव दिए ।

उनले दक्षिण एसियाले स्रोत र साधनको पर्याप्त सदुपयोग गर्ने, विश्वस्तरमा पनि भइरहेको मूल्य वृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने बताए ।

डा. टिमरले अहिले विशेष समयमा जीविकोपार्जनको लागि घरपरिवार लगायत समष्टिगत आर्थिकस्तर र व्यापारको स्तरमा लचिलोपन बढाउन आवश्यक रहेको उल्लेख गरे । आयात बढ्दै गएको अवस्थामा पनि नेपालले वैदेशिक स्रोतसाधनमा राम्रो पहुँच राख्ने भएकाले अहिले सोचे जस्तो अवस्था नरहेको भन्दै टिमरले संघीय सरकारका विभिन्न स्थानीय तहमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गरी राजस्व परिचालनमा जोड दिन सुझाव दिए ।

युक्रेन–रसिया युद्ध जस्ता विश्वव्यापी घटनाहरूले इन्धनको मूल्य वृद्धि भएका कारण विश्वव्यापी रुपमा नै खाद्यान्नको मूल्य बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल आर्थिक संघका कार्यकारी समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डेले व्यापार घाटा, कृषि क्षेत्रको वृद्धि, सामाजिक सुरक्षा सञ्जाल, वित्तीय घाटा लगायत विषय अहिले नेपालको प्रमुख समस्या रहेको उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफिन) का अध्यक्ष पवनकुमार गोल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराउन सके तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने बताए । यसले बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने उनको भनाइ छ ।

उनले दीगो आर्थिक विकास र उदीयमान संकटको सामना गर्नका लागि मध्यम तथा साना व्यवसायीलाई लक्षित ऋण पनि बैंक तथा वित्तीय संस्थाहरूमार्फत उपलब्ध गराउनुपर्ने बताए । ‘जब भारतीय रुपैयाँसँगको स्थिर विनियमदरलाई पुनर्विचार गर्ने कुरा आउँछ, यसले वस्तु र सेवाहरूको मूल्यहरू अझ बढाउनेछ जुन उपभोक्ताहरूलाई अझ गाह्रो हुनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?