+
+

‘प्रेमगीत ३’ र हलवाला विवादमा बक्स अफिस संयोजकको टिप्पणी : बोर्डले कसैलाई हस्तक्षेप गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:४९

काठमाडौं । बक्स अफिसलाई प्रभावकारी बनाउनेदेखि अन्तर्राष्ट्रिय बजार खोज्ने काममा लाग्नुपर्ने बेला नेपाली फिल्मको नियामक निकाय चलचित्र विकास बोर्ड विवादमा अल्झिएको छ । ‘प्रेमगीत ३’ र चलचित्र संघसँगको विवाद बोर्ड वरपर घुमिरहेका छन् ।

रात्रिकालीन शो व्यवस्थापन गर्ने कुरामा अहिले चलचित्र संघ र बोर्डबीच रस्साकस्सी चलिरहेको छ । यो आयाममा अब बोर्डको भूमिका के हुन्छ ? अहिलेको विवाद खास के हो ? बोर्डको प्राथमिकता के हुन्छ र बक्स अफिस कसरी प्रभावकारी हुनसक्छ ? बोर्डअन्तर्गतको बक्स अफिस संयोजक तथा बोर्ड सदस्य राज कटुवालसँग गरिएको संक्षिप्त संवादको सम्पादित अंश :

अहिले बोर्ड र चलचित्र संघबीचको खास विवाद के हो ?

मलाई विवादजस्तो लागेको छैन । सबैले आफ्नो धारणा पोखेका होलान् । विकास बोर्डले आफ्नो नीति नियममा काम गर्छ । बोर्डले कसैलाई हस्तक्षेप गरेको छैन । सबैलाई हेरेर समान नियम बनाउँछ ।

११ बजेपछि फिल्म चलाउन नदिएको भन्ने आरोप छ, यसबारे के भन्नुहुन्छ ?

हामीले चलाउन हुँदैन र पाइँदैन भनेका छैनौं । यो गलत कुरा सम्प्रेषण भइरहेको छ । ११ बजेसम्म चलाउन पाइने भन्ने कुरा पहिलेको नियम हो । राति चलाउनुपरेको खण्डमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्छ भन्ने कुरा मात्रै हो ।

किनकि हल भनेको रात्रिकालीन व्यवसायमा पर्दैन । हाम्रो तर्फबाट त चौबिसै घण्टा पनि चल्छ भने चलाउनुस् भन्ने कुरा हो खासमा । यसमा चलचित्र संघले पनि एउटा निवेदन पेस गरेको छ यसको विषयमा बिहीबार बैठक बस्दैछौं ।

केही सहजीकरण गरिदिनुपर्‍यो । सीडीओबाट अनुमति माग्नुभन्दा बोर्डबाटै होस् भन्ने उहाँहरुको माग छ । त्यो मागलाई भोलि सम्बोधन गर्न सक्छौं । हामीले गरेको निर्णय गलत चाहिं छैन ।

प्रेमगीत ३’ को तर्फबाट आफूहरुलाई पेल्न रात्रिकालीन शोमा रोक लगाइएको भन्ने आरोप छ नि ?

यो व्यक्तिगत धारणा हो । यसमा बोर्डले जवाफ दिनुपर्छ जस्तो लाग्दैन । सरकारी निकायले कसैलाई टार्गेट गरेर नीति नियम बनाउँदैन । बनाउने कुरा पनि रहँदैन । सात जना बोर्ड सदस्य सबैको राय मिलेपछि एउटा नीति बन्ने न हो । नीति नियम बनाउने मान्छेले कसको फिल्म आउँदैछ, कसको फिल्म जाँदैछ भन्ने हेर्दैन खासमा ।

आफ्नो बाउआमा कसैले पनि छोराछोरीलाई भेदभाव गर्दैन । हामीले प्रेमगीतलाई नेपाली फिल्म सरहको व्यवहार गरेका हौं । जति नेपाली फिल्म चल्यो, हामीलाई उति फाइदा हो । जुनै नेपाली फिल्म चले पनि हामी स्वागत गर्छौं नि । हामी गलत छैनौं ।

बक्स अफिसको रियल टाइम डेटालाई प्रभावकारी तुल्याउन बोर्डका योजना कस्ता छन् ?

बक्स अफिस संयोजकमै छु । हामीले बक्स अफिस सिस्टम बनाउने डेभलपरसँग पनि हामी बस्यौं । यसबीचको समस्या के हो, रियल टाइम डेटाबारे पत्ता लगाएर हामी एउटा निष्कर्षमा पुग्छौं । दुई चार दिनभित्रै बैठक बसेर प्रक्रिया सुरु हुन्छ । हलमा क्लिक गरेपछि बोर्डमा हिसाब जाने हिसाबले बनाउँदैछौं ।

आगामी वर्षका लागि बोर्डका प्राथमिकता के छन् ?

अन्तर्राष्ट्रिय रुपमा हामीले बजार खोज्नैपर्नेछ । प्रेमगीत ३ ले सुरु गरेकोमा हामीले प्रोत्साहन पनि गर्‍यौं । सरकार र विकास बोर्डले गर्नुपर्ने काम उहाँहरुले गर्नुभयो भनेर सम्मान गरेका हौं । विदेशमा बजार खोज्न नीति नियम बनाउनेदेखि बजेटिङका कुराहरु लिएर मन्त्रालयमा प्रस्ताव पेस गरेका छौं । स्वीकृति पाएपछि राम्रै गर्ने हुने आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?