+
+

मिटरब्याजी अनिरुद्ध साह पुर्पक्षका लागि कारगार चलान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते २०:०१

५ असोज,  जनकपुरधाम । महोत्तरीका मिटरब्याजीको आरोप लागेका अनिरुद्ध साह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

महोत्तरी जिल्ला अदालतको आदेशमा उनलाई बुधबार जलेश्वर कारागार चलान गरिएको हो । न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले उनलाई ठगी तथा अपराधी विश्वासघात मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।

महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका बासिन्दा मिटरब्याजी अनिरुद्धलाइ प्रहरीले गत भदौ ४ गते घरबाट पक्राउ गरेको थियो । उनले लामोसमयदेखि चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने धन्दा चलाएको आरोप छ ।

गैरकानुनी रूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गरि उनले करोडौंको अकुत सम्पत्ति आर्जन गरेको आरोप पनि छ ।

मिटरब्याज तथा ठगी धन्दा चलाएर उनले ९३ विघा जग्गा जोडेको कागजात फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । साहको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुध्दीकरण आयोगलाई समेत पत्राचार गरिने बताए ।

उनको घरबाट ठूलोमात्रामा ऋण लगानीको कपाली तमसुक तथा गरिब विपन्नको घरघडेरी आफ्नो नाममा गराएको कागजात बरामद भएको थियो ।

मिटरब्याजमा उनका दाइ लक्ष्मण साहसहित घरपरिवारका सदस्य पनि संलग्न रहेको आरोप छ। आफूसहित परिवारका सदस्यलाई पनि साहुका रूपमा खडा गरी कपाली तमसुक बनाएर उनले ऋण लगानी गर्ने गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?