+
+
विचार :

हुँदाखानेको भोक, हुनेखानेको जिब्रो

आज कसैको भान्सामा के पाक्ने भन्ने कुरा त्यो घरको परिवारका सदस्यहरूको हातमा वा रुचिमा मात्र रहेन । यसमा विश्व बजारदेखि स्थानीय ठूलाठालुले के खान्छन् वा केलाई खाना मान्छन् भन्नेले समेत प्रभाव पार्न थाल्यो ।

सरोज खतिवडा/दिपेश नेपाल सरोज खतिवडा/दिपेश नेपाल
२०७९ असोज ८ गते १२:१८

केही समय अगाडि बढ्दो महङ्गीले गर्दा आफ्नो भान्सामा दुई थरी तरकारी पाक्न छाडेको र आफूले एउटा मात्र तरकारीमा सम्झौता गर्नु परेको एकजना प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्रीको भिडियो सामाजिक संजालमा खुब चर्चित भयो । प्रशस्तै आलोचना भएको उनको उक्त भनाई अहिले खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरूको मूल्यवृद्धिको प्रसङ्गमा थियो । पछिल्लो आर्थिक वर्षमा दैनिक उपभोग्य सामानहरूको मूल्यमा आएको वृद्धिसँगै आम मानिसको दैनिकी झनै कष्टकर बन्दै गएको पक्का छ ।

विश्व परिवेशमै खाद्य संकट प्रष्ट रूपमै देखिएको छ । एक सर्वेक्षण अनुसार जीवनयापनको मूल्य उच्च स्तरमा बढ्दा युरोपका नागरिकको दैनिक खाद्यान्न उपभोगको मात्र घटेको देखाएको छ । कोभिड महामारी तथा युक्रेन-रुस युद्धले पनि आकाशिएको खाद्यान्नको मूल्यले सर्वसाधारणको दैनिकी थप कष्टपूर्ण बन्दै गएको छ ।

उल्लेखित अवस्थामा आयातमा आधारित नेपाली भान्सामा पनि संकट नआउने भन्ने नै हुँदैन । विगत केही दशकको अन्तरमा नेपाली भान्सामा पाक्ने खाना र आम नेपालीको खानाको रोजाइमा व्यापक परिवर्तन आएको छ । यसलाई आधुनिकता, विकास र विश्व व्यवस्था जे भनिएपछि यो स्वभाव र गुणका आधारमा हुनेखानेहरू (धनीहरू) ले खाने खानेकुराको नक्कल गर्दै फैलिएको चलन नै हो । यसले तत्काललाई मानिसलाई खुसी, समृद्ध वा सुखी जस्तो देखाए पनि बजारबाट नै किनेर पेट भरिने हुँदा यसले हुँदाखानेहरूको दैनिकीमा संकट देखिन थालिसकेको छ ।

पछिल्लो केही दशकदेखि हाम्रो देशका छिटपुट बाहेक ठूला खालका खाद्य संकट देखिएका छैनन् । तर, यस्तो अवस्था नदेखिनु खाद्यान्नको उत्पादनमा वृद्धि भएर आएको सकारात्मक परिवर्तन भने होइन । सेवा क्षेत्रमा बढेको रोजगारी, विकास निर्माणबाट प्राप्त ज्याला मजदुरीको अवसर र सबैभन्दा धेरै वैदेशिक रोजगारीले आम माानिसको हातमा पैसा छ । आयातमा आधारित दुनियाँभरको खानेकुरा बजारमा छ । बजारसँग पैसाको तालमेल मिलेको छ ।

सबै मानिसको अझ धेरै भुईं मानिसको भविष्यको खानेकुराको नजरबाट यो राम्रो अवस्था भने होइन । किसान समेतले खेती नगरी खाना खाँदै आएका छन् । यसरी विभिन्न बहानामा संसारमा खाद्य संकट बढ्दै गइरहेको बेला भविष्यमा हाम्रो अवस्था पनि खराब हुने पक्का छ ।

हामीले खानेकुरा मुख्यतः शरीरमा शक्तिको प्रवाह र शारीरिक क्रियाकलाप सञ्चालन गर्न खानेगर्दछौँ । उद्विकासको सुरुवाती समयमा कन्दमुल र काँचो मासु खाने मानिसले विभिन्न प्रयोग गर्दै आजको खानाको तैरतरिका निर्माण गरेको हो । लामो अभ्यास र प्रयोगले विकसित भएको खाना आजसम्म आउँदा शारीरिक खाँचोका लागि मात्र सीमित रहेन । यो पहिचान भयो, निश्चित संस्कृति भयो र राजनीति पनि भयो ।

आज कसैको भान्सामा के पाक्ने भन्ने कुरा त्यो घरको परिवारका सदस्यहरूको हातमा वा रुचिमा मात्र रहेन । यसमा विश्व बजारदेखि स्थानीय ठूलाठालुले के खान्छन् वा केलाई खाना मान्छन् भन्नेले समेत प्रभाव पार्न थाल्यो । उदाहरणको रूपमा कर्णालीको कुनै गाउँमा चामल प्राथमिकतामा पर्ने कुरा गोर्खाली मानाले निर्माण गरेको महत्वको प्रसङ्गलाई लिन सकिन्छ । वा नेपालको सुदूरगाउँमा मम वा चाउमिन खान पाइने तर स्थानीय मकै भटमास खान नपाइने कुरा पनि बजारले निर्माण गरेको महत्वलाई लिन सकिन्छ । यसरी शासन गर्ने वर्गको र पुँजी भएका वर्गको रुचिमा आधारमा खानामा परिवर्तन आयो ।

पुँजीवादको उत्कर्षसँगै फैलिएको हरित क्रान्ति विकसित हुँदै जाँदा विश्वभर कुलिन रुचिको सीमित बालीहरूको उत्पादनमा मात्र वृद्धि भयो । यसले विश्वका विकसित देश र शहर हुँदै अविकसित देश र गाउँसम्म यसरी प्रभाव छाड्यो कि एउटा ग्रामीण किसानको भान्सा र पोषणमा महत्वपूर्ण स्थान ओगटेका थुप्रै अन्नबाली र कन्दमुलहरूलाई विस्थापित गर्‍यो । यो प्रणालीलाई विश्वभर फैलाउन विश्व पुँजीबजारले ठूलो कसरत पनि गर्‍यो ।

पारिवारिक कृषि तथा साँस्कृतिक कृषि साँघुरिएर निश्चित खाद्यान्न उत्पादन र केही पशुपालनमा सीमित हुँदै खेतीपाती भान्साभन्दा बजार केन्द्रित हुन थाल्यो । यसरी विश्व बजारले ग्रामिण किसानको खानपिनमा प्रभाव पर्‍यो । पशुपालन पनि खाद्यान्नमा निर्भर हुन थाल्यो । उदाहरणको रूपमा विश्वमा अहिले पनि कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत हिस्सा मात्रै मानिसहरूले खानका लागि प्रयोग गर्ने गरेका छन् भने ४५ प्रतिशत खाद्यान्न पशुपालन र जैविक इन्धनमा प्रयोग भैरहेको छ ।

यसरी झण्डै आधा खाद्यान्न पशुपालन र जैविक इन्धनको लागि प्रयोग भइरहँदा २०१५ को अर्काे अध्ययन अनुसार संसारमा हरेक दिन ९ जनामध्ये एकजना भोकै सुत्दछन् । यसको अर्थ एकातिर हुँदाखानेहरूको पहुँचमा बजार नहुनु हो भने अर्कोतर्फ यो र त्यो बहानामा उनीहरूको पहुँच हुने खाना हराउँदै जानु पनि हो ।

परम्परागत निर्माण भएका खाना अभ्यासमा सन्तुलित खाना थियो । विभिन्न बहानामा यो भत्किँदा हुनेखानेलाई पनि प्रभाव परेको छ । जस्तो, एउटा अध्ययन अनुसार विश्वमा २ बिलियन वयस्क मोटोपनाबाट ग्रसित छन् । ८२१ मिलियन कुपोषणका सिकार छन् । झन्डै १ बिलियन खाद्य असुरक्षामा छन् जसमध्ये १५० मिलियन अत्यधिक कुपोषणबाट ग्रसित भएका छन् ।

एकातिर हुनेखानेहरू अत्यधिक खानाले विभिन्न समस्याहरूसँग जुधिरहेका छन् भने अर्कोतर्फ धेरै मानिसहरू खानाको कमीले गर्दा समस्याग्रस्त छन् । अझ दुर्भाग्यको कुरा भोकसँग पौठेजोरी खेल्ने अधिकांश मानिस किसान नै छन् ।

एउटा रिपोर्टका अनुसार विश्वमा ६९५ मिलियन प्रशस्त खान नसक्ने मानिस किसान हुन् । किसान भोकै रहने कुरा उनीहरूको आयात नबढ्नु त हो नै साथै परम्परागत रूपमा उत्पादन हुने खानेकुरा र खाद्य संस्कृति लोप हुनु पनि हो ।

अहिले २० ओटा बालीले मानिसले खानाबाट पाउने ९५ प्रतिशत क्यालोरी शक्ति ओगटेको छन् भने ४ ओटा बाली मकै, धान, गहुँ र आलुले मात्रै ६० प्रतिशत क्यालोरी ओगटेका छन् । यसको अर्थ खाद्यान्नको संसारमा यिनै चार बालीहरूको साम्राज्य छ । हाम्रा भान्साहरूमा भने यो समय चार बालीभन्दा पनि चामलको मात्र दादादिरी छ । अन्य बालीहरू या त उत्पादन नै गरिँदैन या त उत्पादन गरिएको त्यस्ता अन्नबाली र कन्दमुलहरू अन्य प्रयोजनमा खर्च हुन्छ ।

जस्तो, चितवनको भित्री गाउँ भेटिएका एक चेपाङका अनुसार पहिले गाउँमा घैया धान थियो तर अहिले यो छैन । फापर छैन, लट्टे छैन, अन्य कन्दमुल पनि छैनन् । मकै, कोदो र गहुँ उत्पादन त हुन्छ तर यो पशु तथा कुखुराको दानाको रूपमा प्रयोग हुन्छ । किसानहरू तरकारी खेती गर्छन्, तरकारी फिस्लिङ लगेर बेच्छन् र फर्किंदा चामल लिएर फर्किन्छन् । उनी भन्छन्, ‘गाउँमा चामलभन्दा अरु खानेकुरा नै हैन भन्ने छ ।’

सधै खानपान संस्कृतिको कुरा गर्दा खाना छनोटमा हुनेखानेहरूकै रोजाइ छ । खाना छनोटको स्वतः हैसियत प्राप्त गरेको यो वर्ग उत्पादन प्रणालीमा भने भाग लिंदैनन् । पुरानो नेपाली समाजमा चामलको भात खाने, ढिंडो खाने र खोले खानेको फरक फरक वर्ग थियो । त्यसैको आधारमा समाजमा प्रकार्य हुन्थ्यो । हिजोको सामन्तवादी समाजमा पनि जमिनदार, साहु महाजनहरू जसको माटोसँग सम्बन्ध थिएन उनीहरू भोका थिएनन् र उनीहरूले भोलि के खाने भनेर सोच्नुपरेको थिएन । तर माटोमा प्रत्यक्ष जोडिएको श्रमजिवी किसान भने सधै अनिकाल र भोकमरी पर्ने गरेका थिए ।

समय बदलियो । राजनीति बदलियो । हिजोको जमिनदार महाजनबाट आज नयाँखाले पुँजीपतिवर्ग जन्मियो तर आज पनि तिनै किसान र श्रमिकहरू भोकको मारमा परेका छन् । अर्को उदाहरण, स्थानीय कोसेली र खाजामा आएको व्यापक परिवर्तनले पनि गरिबलाई पारेको संकटलाई लिन सकिन्छ । घरघरमा दही मोहीको ठाउँ ड्यू, पेप्सी जस्ता आयातित पेय पदार्थले ओगटेको छ । कोसेलीमा लोकल रक्सीको ठाँउ बियरले ओगटेको छ जसले स्थानीय उत्पादनको बजार खोसिएको छ भने किसानमा आर्थिक बोझ थपेको छ ।

अहिलेको खाद्यान्न उत्पादन परिवर्तन गर्दा सन् २०५० सम्म हरित गृह ग्यासको उत्सर्जन १० प्रतिशत मात्रै घट्न सक्छ तर साकाहारी खाद्य संस्कृति विकास गर्दा यो उत्सर्जन ८० प्रतिशतसम्म घट्ने देखिन्छ । १ पाउण्ड मासु उत्पादन गर्न १६ पाउण्ड खाद्यान्न, २५०० गेलिन पानी र २० हजार क्यालोरी ईन्धन आवश्यक हुन्छ ।

नेपालको वर्षेनी आयातको आंकडा बढिरहेको छ । तर यो ठूलो व्यापार घाटासहितको आयातको विवरण हेर्दा ३.२ अमेरिकी डलर दैनिक आम्दानी हुने ३९ प्रतिशत र १.९० अमेरिकी डलर दैनिक आम्दानी हुने ८ प्रतिशत गरिब किसानको लागि के आयात हुन्छ भनेर पनि हिसाब राख्नुपर्छ । नेपालमा कुल आयातको ४४ प्रतिशत हिस्सा खाद्यान्न बालीले ओगटेको छ भने खाद्यान्य बालीमा पनि धान मात्रै करिब ५५ अर्बको आयात गरिएको छ । ४.७५ प्रतिशत चिया कफी र मसलाको आयात हुन्छ भने ८.५२ प्रतिशत फलफूल आयात गरिन्छ । यसरी हेर्दा आयातमा पनि हुनेखानेहरूकै रुचिले काम गरेको देखिन्छ ।

आज खाद्यान्न र कृषि उत्पादनले हुने जलवायु परिवर्तन गराउन पनि हुनेखानेहरूको खाद्य छनोट नै कारक छ । जस्तोकि माथि चर्चा गरिए जस्तो विश्वको करिब ४५ प्रतिशत खाद्यान्न पशुपालन तथा ईन्धनमा खपत गर्दा हुँदाखानेहरूको प्रतिस्पर्धा बढेकै छ ।

त्यस्तै, एउटा अध्ययन अनुसार अहिलेको खाद्यान्न उत्पादन परिवर्तन गर्दा सन् २०५० सम्म हरित गृह ग्यासको उत्सर्जन १० प्रतिशत मात्रै घट्न सक्छ तर साकाहारी खाद्य संस्कृति विकास गर्दा यो उत्सर्जन ८० प्रतिशतसम्म घट्ने देखिन्छ । १ पाउण्ड मासु उत्पादन गर्न १६ पाउण्ड खाद्यान्न, २५०० गेलिन पानी र २० हजार क्यालोरी ईन्धन आवश्यक हुन्छ । विश्वको एकतिहाई खाद्यान्न र त्योभन्दा धेरै तेलहन पशुहरूलाई खुवाउन प्रयोग गरिन्छ । मासु र मासुजन्य उत्पादनको बढिरहेको मूल्य हेर्दा स्वाभाविक रूपमा यो हुनेखानेहरूकै रोजाइ हो ।

नेपालको भान्सामा आएको परिवर्तनलाई हेर्दा हुनेखानेहरूको खानपिनको सोखले हुँदाखानेहरू नजानिंदो गरी मारमा परेका देखिन्छ । हुनेखानेको खानेकुरा चामल नै मानक बनेको अवस्थामा हुँदाखाने मानिसहरू जबरजस्ती चामल पछि दौडिंदा उनीहरू झनै दोहोरो मारमा परेका छन् । एकातिर यसले आर्थिक क्षय बढेको छ भने आफ्नो घरको उत्पादन नखाने हुँदा स्थानीय रैथाने खानाको उत्पादन र त्यसबाट प्राप्त हुने उच्च पोषण समेत गुमाउँदै छन् ।

सन् २०१९ को तथ्याङ्कलाई हेर्ने हो भने ३९ प्रतिशत नेपालीको दैनिक आम्दानी ३.२ अमेरिकी डलर रहेको छ । यसमध्ये ८ प्रतिशत मानिसहरूमा चरम गरिबीमा रहेको देखिन्छ । एक तथ्याङ्कका अनुसार उनीहरूको औसत दैनिक आम्दानी १.९० अमेरिकी डलर मात्र रहेको छ । नेपालको सन् २०२० को अन्तर्राष्ट्रिय भोकमरी सूचकांक १९.५ रहेको छ जसलाई भोकमरीको मध्यम अवस्था भन्ने पनि बुझिन्छ ।

विगत दुई दशकमा खाद्यान्नको मूल्यमा ७८ गुणा वृद्धि भएको छ । तर आम मानिसहरूको आम्दानी भने ८ गुणा मात्र वृद्धि भएको छ । यो औसत आम्दानी गर्नेहरूमा धेरै कमाउनेहरू पनि छन् जसमा विश्वका अर्बपति विनोद चौधरीको समेत हिसाब हुन्छ ।

अहिले बजारबाट खानेकुरा किन्नको लागि नै मानिसहरूले आम्दानी बढाउन परेको छ भने किसानलाई नै पनि फेरिएको खाद्य संस्कृति र खानाको सोखका कारण उत्पादन बढाउनु परेको छ । उत्पादन वृद्धिको नाममा जथाभावी रसायन र विषादीको प्रयोग गरिएको छ । विषादीको प्रयोगबाट उपभोक्ताभन्दा बढी असर किसानलाई परिरहेको छ । कृषि क्षेत्रको राजननीति र विश्व बजारको दबाबले किसानहरू रसायन प्रयोग गर्न बाध्य छन् । जसको सोझो मारमा गरिब किसान नै परेका देखिन्छन् ।

खाद्य सुरक्षाको नाममा भित्र्याएको खाद्य संस्कृति र खुला बजार अर्थनीतिले रसायन र विषादीको प्रयोगलाई प्रोत्साहन गरेको छ । पशुजन्य खाद्यान्नको प्रयोग बढ्दै छ भने खाद्यान्न विश्व भ्रमण गरेर मात्रै भान्सामा आइपुग्ने परिपाटी बनेको छ । निश्चय पनि यी सबै गतिविधिहरूले साना किसानको खाद्य संस्कृति बदल्न दबाब सिर्जना गरेको छ भने जलवायु परिवर्तनलाई प्रोत्साहन गरेको छ ।

यो र त्यो बहानामा हुनेखानेको संगत गर्दै हुँदाखानेहरूले आफ्ना मौलिक खानालाई गुमाउँदै गयो । यसले हुनेखानेहरूकै भलो गर्‍यो । गरिबहरूलाई झनझन गरिब बनाउने गरी विकसित भएका पछिल्ला खानाहरूले धनीहरूको मेनु र गोजी भने झनै मोटाउँदै गयो । हुनेखानेहरूले हुँदाखानेलाई चामलको आदत लगाएर उनीहरूको सिस्नु, पिठो खोसेर सुपरमार्केटमा ल्याएर राखे । गाउँले मझेरीको ओदानमा ओडाल्ने ढिंडोलाई सहरको सोखको खानेकुरामा परिवर्तन गरे । यसरी कथित सभ्य बनिने लालसामा फेरीपनि हुँदाखानेहरूले भोकलाई नै रोज्न पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?