+
+

मनोरञ्जन क्षेत्रका महिलाहरुलाई यौनहिंसाको डर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते १२:४१

८ असोज, काठमाडौं । काठमाडौँमा आयोजित एक कार्यक्रममा डान्सबार, दोहोरी तथा मसाज सेन्टरहरू लगायतका मनोरञ्जनमुलक क्षेत्रका श्रमिकमाथि हुने दुर्व्यवहारका घटना बाहिर आउन नसक्नुमा सञ्चालक, ग्राहक, प्रहरीको मिलोमतो भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

यूएसआइडी र यूकेआइडीको सहकार्यमा विनरक इन्टरनेसलनल मार्फत मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा कार्यरत श्रमिकहरुको गैरसरकारी संस्था विश्वास नेपालले आफूले तीन वर्षभित्र गरेको परियोजनाको विषयमा जानकारी दिँदै संस्थाकी अध्यक्ष तारा भण्डारीले नेपालमा लाखभन्दा बढी मजदुरहरू ८ मनोरञ्जन मुलक व्यवसायमा काम गरिरहेको जानकारी दिइन् ।

उनले यत्ति ठूलो संख्यामा दोहोरी, डान्सलगायतका क्षेत्रमा मजदुरहरूले काम गरिरहे पनि उनीहरूले श्रम ऐन अन्तर्गत तलब सुविधा नपाउने गरेको मात्र नभई अन्य किसिमका दुर्व्यवहार हिंसा सहनु परिरहेको बताइन् ।

डान्सबार तथा दोहोरीमा काम गर्ने श्रमिकमाथि सञ्चालक, ग्राहक, प्रहरीका जवान र जनप्रतिनीधहरुबाटै दुर्व्यवहार हुनु दुखद भएको उनले बताइन् । ‘यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सबै सरोकारवालाहरू जागरूक हुनुपर्छ ।’

कोरोनापछिको अवस्थामा यस क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था थप नाजुक हुँदै गइरहेको छ । कतिपय श्रमिकहरूलाई सेवाका नाउँमा श्रम शोषणका साथै योन शोषणसमेत हुनु दुःखद भएको संस्थाकी कार्यकारी निर्देशक मधु गुरुङले बताइन् । ‘सञ्चालकहरूले न्यून पारिश्रमिकमा काम लगाउने, बिदा नदिने, अतिरिक्त समय काम गरेवापत पैसा नदिने जस्ता थप समस्या यस क्षेत्रमा देखिएको छ ।’

मनोरञ्जनमूलक र सत्कारमूलक सेवामा काम गरेका महिलाहरूलाई कतिपयले कोठासमेत नदिनेे यसबाट बच्नका लागि कतिपय श्रमिकहरू लिभिङ टुगेदरमा बस्ने गरेको र जस कारण असुरक्षित गर्भपतनसमेत हुने गरेको गुरुङले बताइन्

कतिपय श्रमिकहरूलाई कमिसनको लोभमा मदिरा तथा हुक्का सेवन गराइने गरिरहेको र मजदुरहरूको स्वास्थ्य समस्या जटिल हुँदै गइरहेको उनले बताइन् ।

कार्यक्रममा विश्वास नेपालले तीन वर्षमा मुलुकभित्रका १० जिल्लालाई आधार बनाएर काम गर्दा स्थानीय सरकारहरू यस क्षेत्रका समस्याबारे अनविज्ञ र बेखबर रहेको पाइएको जानकारी दिइयो ।

सरकारी निकायहरूमा यस क्षेत्रलाई व्यवस्थित बनाउनु पर्छ भन्ने चासो अझै नहुनु भनेको समस्या थप जटिल हुने सङ्केत भन्दै संस्थाले यस क्षेत्रका विकृति विसंगिती हटाउँदै यस क्षेत्रलाई मर्यादित बनाउनु पर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?