+
+

चुनावअघि नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:४८

९ असोज, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी चुनावअघि नै काठमाडौंमा वितरण गर्ने तयारी गरेको छ ।

वर्षायाममा मेलम्ची खोलाको बाढीले सुरुङमा क्षति पुर्‍याउन सक्ने भन्दै पानी ल्याउन बन्द गरिएको थियो । तर ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचनअघि नै पानी ल्याउने गरी तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीसहित मन्त्रालय र मेलम्ची आयोजनाका अधिकारी सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथान जाने तय भएको थियो । तर, मौसम खराब भएका कारण उक्त कार्यक्रम स्थगित भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘मंसिर १ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गर्ने योजनासहित काम गर्ने तयारीमा छौं’, ती अधिकारीले भने, ‘मन्त्रीज्यूले चुनावअघि नै जसरी पनि पानी वितरण गर्ने गरी काम गर्न भन्नुभएको छ ।’

१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर गत ११ वैशाखमा मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । तर वर्षायाम लागेपछि बाढी आउन सक्ने भन्दै १७ जेठ २०७९ सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका (गेट) बन्द गरेको थियो ।

अस्थायी बाँध बनाएर खोलाको पानी सिधै सुरुङमा हालेर काठमाडौं ल्याइएको थियो । नियमित वर्षा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमामार्फत ल्याई वितरण थाल्ने योजना रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।

‘खोला धार परिवर्तन गर्दै बगिरहेको छ, पानी परिरहेकाले अझै हेडवर्क्ससम्म जाने सडक बनाउन सुरु गर्न सकिएको छैन’, उनले भने, ‘अहिले हामी हेडवर्क्ससम्म पुग्ने बाटो निर्माण गर्ने अवस्था कुर्दैछौं ।’

आयोजनाका अनुसार मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम पनि टरेको छैन । मेलम्चीको सुरुङको मुख खोल्ने ठाउँसम्म पुग्न करिब ६ किलोमिटर सडक बनाउनुपर्ने पन्तले बताए ।

आयोजनाका अनुसार एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको भौगर्भिक अवस्थाबारे अध्ययन गरेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु गर्नुपर्ने अवस्था पनि छ ।

तर, सरकारले वजेट वक्तव्यमार्फत मेलम्ची खानेपानी विकास खारेज गर्ने निर्णय गरेकाले आयोजना कसरी र कसले अघि बढाउने भन्ने तय भएको छैन ।

१ असार २०७८ मा आएको बाढीले मेलम्चीको मुहान क्षेत्रका संरचनामा ठूलो क्षति पुगेको थियो । त्यसपछि निरन्तरको बाढीले बगाएर ल्याएको लेदो माटो र गेग्र्यानले सुरुङ र दुई वटा ‘अडिट टनेल’को मुख थुनेको थियो । ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्र्यान हटाउने काम गरेको थियो ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । हेडवक्र्स क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ बनाउनुपर्ने हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?