+
+

पहाड चढेको लामखुट्टे दोस्रो तलामा आउँदैन भन्ने भ्रम हो

काठमाडौंमा डेंगुले महामारीको रूप लिइसक्यो

१०२, १०३ डिग्री ज्वरो आयो, टाउको दुख्यो, आँखा दुख्यो, ढाड दुख्यो र खुट्टाको मासुहरू कट्कटी खाइरहेको छ भने सोच्नुहोस् तपाईंलाई डेंगु संक्रमण हुनसक्छ । त्यस्तो अवस्थामा अस्पताल गइहाल्नुपर्छ ।

डा. रोशन झा, फिजिसियन डा. रोशन झा, फिजिसियन
२०७९ असोज ९ गते २०:००
सशस्त्र प्रहरी अस्पताल, बलम्बुका प्रहरी उपरीक्षक (एसपी) फिजिसियन डा. रोशन झा । तस्वीर : आर्यन धिमाल

अहिले काठमाडौं उपत्यकामा डेंगु र टाइफाइडको बिगबिगी नै छ । यदि ज्वरो आएका १०० जना बिरामी आए भने ९० देखि ९५ जनामा डेंगु भएको देखिएको छ । मेरो व्यक्तिगत बुझाइमा अहिले डेंगुले महामारीकै रूप लिइसकेको छ ।

कुन अवस्था महामारी हो भन्ने कुरा देश र नीति अनुसार फरकफरक हुन्छ । सामान्यतया सरकारी क्षमताले कुनै रोगको उपचारलाई धान्न सकेन भने त्यसलाई महामारी मान्नुपर्छ । मैले दिनमा डेंगु संक्रमित १०० बिरामीको उपचार गराइरहेको छु ।

मकहाँ उपचार गराउन तीन/चार दिनसम्म पर्खिएका उदाहरण पनि छन् । झन् अरूतिर कति बिरामी होलान् ? त्यसैले मेरो बुझाइमा यसले महामारीकै रूप लिइसकेको छ ।

के हो डेंगु ?

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । जमेको पानी र फोहोर स्थानबाट प्रजनन् भएर लामखुट्टे फैलिने गर्छन् । लामखुट्टेको वृद्धि हुने समय बर्खाको सिजन हो ।

पानी मात्र परेर पनि लामखुट्टेको वृद्धि हुने होइन । यदि फोहोर ठाउँमा पानी जम्यो भने लामखुट्टेको वृद्धि हुन्छ । लामखुट्टेमा पनि अहिले ‘टाइगर मस्क्यूटो’ नाम दिएकोले टोक्यो भने डेंगु हुन्छ । यो लामखुट्टे दिनभरि सक्रिय हुने, रातभरि पानीमा बस्ने, लार्भाहरू बनाउने किसिमको हुन्छ । यसको फैलावट एकदमै धेरै हुन्छ ।

एकदिनमै उसले आफ्नो जनसंख्या धेरै बनाउँछ । पानी परेको कारणले ठाउँठाउँमा फोहोर नउठेकाले लामखुट्टेको वृद्धि भइरहेको छ । फोहोरमा प्लास्टिक हुन्छ, त्यहाँ पानी जम्छ । अनि, जमेको पानीमा लामखुट्टेले आफ्नो प्रजनन् गराउँछ ।

पहिले काठमाडौंमा अधिक समय चिसो मौसम हुन्थ्यो । लामखुट्टे नै देखिन्नथ्यो । जनकपुरबाट २५ वर्ष पहिले म काठमाडौं आउँदा न झुल चाहिन्थ्यो, न पंखा नै लगाउनुपर्थ्यो । यसको कारण जनसंख्या र फोहोर व्यवस्थापन नहुनु पनि हुनसक्छ । अर्को समस्या नालीको प्रणाली कमजोर हुनुले पनि हुनसक्छ । यिनै कारणले काठमाडौंमा डेंगुको प्रकोप बढाएको हो ।

पहिले लामखुट्टे तराईमा मात्र हुन्थ्यो, अहिले पहाडसम्म चढिसकेको छ । दोस्रो, तेस्रो तलामा लामखुट्टे हुँदैन भन्ने भ्रममा पनि पर्नुहुँदैन । सबैभन्दा राम्रो चाहिं लामो कपडा लगाउने, झुल र मोजा लगाउनु नै हो ।

अधिकांश उच्च ज्वरोको कारण डेंगु

अहिले फाट्टफुट्ट टाइफाइडका केसहरू पनि देखा परेका छन् । सबै ज्वरो डेंगु नै हो भनेर भन्नुहुँदैन । तर अधिकांश ज्वरो डेंगु नै देखिएका छन् । टाइफाइड पनि हुनसक्छ भनेर मनमा सोचेर त्यसको पनि जाँच गराइरहेका छौं । सँगै स्क्रब टाइफस र ब्रुसेला जस्ता रोगहरू पनि देखिएका छन् ।

केही संक्रामक रोगहरू छन्, जुन पहिले पुस्तकमा धेरै पढिन्थ्यो र काठमाडौंमा देखा पर्दैनथ्यो, अहिले त्यस्ता रोगहरू पनि काठमाडौंमा देखा पर्न थालेका छन् । केही तराई, मधेशमा मात्र देखा पर्ने रोगहरू काठमाडौंमा पनि देखा पर्न थालेका छन् ।

टाइफाइड हुने भनेको दूषित पानीले हो । जब पानी पर्छ, काठमाडौंमा नल र ढल एउटै भइदिन्छ । बाटोभरि पानी नै पानी हुन्छ । सप्लाइतिर ढलको पानी मिसिन्छ र मान्छेको घरघर पुगेर रोग निम्त्याइरहेको छ ।

यो सबै सरसफाइको कुरा हो । निजी मात्र होइन, समाजको सफाइको कुरा पनि हो । हामी र समाजमा चेतनाको कमीले पनि समस्या देखिएको हो । फोहोर कहाँ फाल्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सबै चुकिरहेका छौं भन्ने लाग्छ । आफ्नो ठाउँ, कोठा सफा गर्ने तर बाटोमा लगेर फोहोर फ्याल्ने प्रवृत्ति छ । त्यहीं भोलि लामखुट्टे वृद्धि भएर कोठामा बस्ने व्यक्ति बिरामी बनाइरहेको अवस्था छ ।

डेंगु गराउने लामखुट्टे दिनको समयमा बढी सक्रिय हुन्छ । त्यसैले यसलाई ‘डे फिडर’ भनिन्छ । अँध्यारोमा यो त्यति सक्रिय हुँदैन । जमेको पानीमा बस्ने, वृद्धि गर्ने देखिएको छ । तर अहिलेको समयमा काठमाडौंं जस्तो शहरको कुरा गर्ने हो भने बाटो वरिपरि बत्ती हुन्छ, घरमा पनि बत्ती बालेका हुन्छौं । उज्यालो भइसक्दा यो लामखुट्टे सक्रिय हुन्छ । सूर्योदय हुने वित्तिकै मात्रै टोक्छ भन्ने हुँदैन ।

कतिपय दोस्रो, तेस्रो तलामा लामखुट्टे हुँदैन भन्छन् । हुन त पहिले लामखुट्टे तराईमा मात्र हुन्थ्यो । एक मिटर/दुई मिटरभन्दा माथि जाँदैन भन्ने थियो । तर अहिले पहाडसम्म लामखुट्टे चढिसकेको छ भने दोस्रो, तेस्रो तलामा लामखुट्टे हुँदैन भनेर भ्रममा पर्नुहुँदैन । तपाईं यदि दोस्रो तलामा बस्नुभएको छ भने पनि झुल लगाउनुपर्छ ।

अहिले लामखुट्टे भगाउन विभिन्न खाले प्रविधि पनि आएका छन् । सबैभन्दा राम्रो चाहिं लामो कपडा लगाउने, झुल र मोजा लगाउनु नै हो । यो लामखुट्टेले पछाडिबाट आक्रमण गर्ने गरेको देखिएको छ । अगाडि देखिन्न, पछाडिबाट टोकेर जाने देखिन्छ । यिनीहरूमा एउटा केमिकल हुन्छ, त्यो सुरुमा छालामा हाल्दिन्छ । त्यो ठाउँ लाटो हुन्छ, त्यसपछि जति टोके पनि मान्छेलाई थाहै हुँदैन ।

लक्षण र बच्ने उपाय

डेंगुको लक्षणबारे कुरा गर्दा उच्च ज्वरो देखिन्छ । टाउको, ढाड दुख्ने, खुट्टा दुख्ने र पिडौंलाको मासु कट्कटी खाने पनि हुन्छ । कुनै मान्छे बेहोस हुने पनि देखिन्छ ।

एकदमै धेरै ज्वरो आयो; १०२, १०३ डिग्री ज्वरो आयो, टाउको दुख्यो, आँखा दुख्यो, ढाड दुख्यो र खुट्टाको मासुहरू कट्कटी खाइरहेको छ भने डेंगु हुनसक्छ भन्ने सोचेर अस्पताल जानुपर्छ ।

अहिलेको परिस्थिति भनेको महामारीको हो । त्यसैले यस्तो अवस्थामा हामी उस्तै लक्षण भएका बिरामीहरू आए पनि सुरुमा महामारीको रूप लिएको रोगको उपचार गराउँछौं । त्यसपछि उस्तै लक्षण हुने टाइफाइड, स्क्रब टाइफस जस्ता रोगहरूको उपचार गराउँछौं । त्यस्तै; मलेरिया, ब्रुसेला रोगहरूको पनि जाँच गराउँछौं ।

डेंगुबाट बच्नलाई सकेसम्म पूरा बाहुला भएको कपडा लगाउन सुझाव दिन्छु । लामखुट्टे धेरै लाग्छ भने त्यस्तो ठाउँमा नबस्नुस् । हावा चलिरहेको सफा ठाउँमा मात्रै बस्नुस् ।

पार्टीहरूमा छोटो लुगा लगाएर जानुभयो भने झन् संक्रमण हुनसक्छ । कुन ठाउँ जाँदै हुनुहुन्छ, त्यहाँ लामखुट्टेको स्थिति कस्तो भनेर ख्याल गर्नुपर्छ । घरमा बस्दा सकभर झुलभित्र बस्नुपर्छ । अहिले धुप, केमिकल र अन्य उपकरण पनि पाइन्छ । त्यो लगाए पनि हुन्छ ।

तर केमिकलले शरीरलाई असर पनि गर्ने भएकाले सकेसम्म लुगा र झुलमै ध्यान दिन सुझाव दिन्छु । यति गर्‍यौं भने महामारीबाट जोगिन सक्छौं ।

(अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?