+
+

सशस्त्र विद्रोहका सहकर्मी संसदीय निर्वाचनमा प्रतिस्पर्धी

४ मंसिरको चुनावमा एमालेले वर्षमानविरुद्ध सशस्त्र विद्रोह कालका सहकर्मी पूर्णबहादुर बुढालाई अघि सार्ने तयारी गरेको छ । ‘आफ्नै पूर्व कमाण्डरसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्दा त्यति मिठो त लागेको छैन, तर राजनीतिमा सबै कुरा सम्भव हुदो रहेछ’, पूर्णबहादुरले भने ।

महेश न्यौपाने महेश न्यौपाने
२०७९ असोज ११ गते १९:४३

११ असोज, रोल्पा । प्रतिनिधिसभा सदस्यका लागि रोल्पामा दुई पूर्व कमाण्डरको प्रतिस्पर्धा हुने भएको छ ।

माओवादी केन्द्रले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । उपाध्यक्ष महरा समानुपातिक पद्धतिको सूचीमा बसेका छन् भने पूर्व सभामुख ओनसरी घर्तीमगर काठमाडौं २ वाट उमेदवार बन्ने लबिइङमा छिन् । त्यसैले रोल्पामा उपमहासचिव वर्षमान नै उम्मेदवार हुने पक्काजस्तै छ ।

नेपाली कांग्रेस, रोल्पाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरसहित प्रदेश कमिटी सदस्यहरु टेकबहादुर बस्नेत र शंकबहादुर छन्त्यालको नाम सिफारिस गरेको छ । तर गठबन्धन गर्दा पुनमगर प्रदेश सभा (ख)मा उम्मेदवार बन्ने गरी प्रतिनिधिसभा सदस्य माओवादीलाई छाड्ने निश्चित प्रायः छ ।

नेकपा एमाले, रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि पूर्णबहादुर बुढा मगरको नाम एकल रुपमा सिफारिस गरेको छ । अखिल क्रान्तिकारी हुँदै माओवादीको राजनीतिमा आएका पूर्णबहादुर २०५६ सालमा रोल्पा जिल्ला कार्यबाहक अध्यक्ष भएका थिए । उनी माओवादी लडाकूको बटालियन कमाण्डरसम्म भए ।

माओवादी सशस्त्र द्वन्द्वकालमा डेपुटी कमाण्डर थिए । त्यसक्रममा वर्षमान र पूर्णबहादुर सँगसँगै रहे ।

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघिसम्म वर्षमान र पूर्णबहादुर एउटै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा थिए ।

संसद विघटनपछि नेकपा ओली र प्रचण्ड–माधव नेपाल समूहमा विभाजित भयो । पूर्णबहादुर, रामबहादुर थापा बादलसँगै ओलीतिर लागे । उनी भन्छन्, ‘रोल्पाबाट मात्रै तत्कालिन माओवादीका दर्जनौं नेता कार्यकर्ता एमालेमा बस्यौं ।’

४ मंसिरको चुनावमा एमालेले वर्षमानविरुद्ध सशस्त्र विद्रोह कालका सहकर्मी पूर्णबहादुरलाई अघि सार्ने तयारी गरेको छ । ‘आफ्नै पूर्व कमाण्डरसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्दा त्यति मिठो त लागेको छैन, तर राजनीतिमा सबै कुरा सम्भव हुदो रहेछ’, उनले भने, ‘निर्वाचन व्यक्तिगत होइन विचार र सिद्धान्तको लडाइँ हो । उहाँ आफ्नो विचार, सिद्धान्त अनुसार निर्वाचनमा लड्नुहोला म नेकपा एमालेको विचार, सिद्धान्त अनुसार प्रतिस्पर्धा गर्छु ।’

एमाले रोल्पाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मात्रै हैन समानुपातिकतर्फ समेत पूर्व माओवादीलाई उमेदवार सिफारिस गरेको छ । उसले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवीन रोकामगर, प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नंं (क) मा जयप्रकाश बुढामगर, प्रदेश सभा समानुपातिक तर्फ यमुना रोकामगरको नाम सिफारिस गरेको छ । उनीहरु सबै पूर्व माओवादी हुन् ।

माओवादी केन्द्र रोल्पाका नेता दीपेन्द्र पुनले नयाँलाई टिकट दिए जितिन्छ भन्ने एमालेलाई लागेको हुन सक्ने बताए । ‘उनीहरु पहिले अहिले माओवादी थिए, अहिले एमाले भए’, उनले भने, ‘अहिले बाहिरका मान्छेलाई प्राथमिकता दिएका होलान् । यसो गर्दा जितिन्छ भन्ने उनीहरुको कुरा भयो । तर, हामी आफ्नो एजेन्डा लिएर हिँड्छौं ।’

रोल्पामा नेकपा एमाले तेस्रो शक्ति हो । पहिलो र दोस्रो शक्तिका रुपमा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गर्ने भएकाले यो प्रतिस्पर्धा एमालेलाई सहज छैन ।

२०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका माओवादीका वर्षमानले ४२ हजार ८४ मत प्राप्त गरी विजयी भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका कांग्रेसका उम्मेदवार अमरसिंह पुनले २० हजार ३३७ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रले समानुपातिकतर्फ २७ हजार २२० मत प्राप्त गरेको थियो । कांग्रेसले १५ हजार ८४७ मत प्राप्त गर्दा नेकपा एमालेको पक्षमा १० हजार ५४५ मत आएको थियो ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा वडाको मतको आधारमा रोल्पामा माओवादी केन्द्रले ४० हजार ७९१ लोकप्रिय मत प्राप्त गर्दा नेपाली काँग्रेसले २४ हजार ६६४ र एमालेले १५ हजार ३०१ मत प्राप्त गरेका थिए ।

माओवादीभित्र असन्तुष्टि रहेको र कांग्रेसको भोट सबै उसले नपाउने भएकाले आफू निर्वाचित हुने पूर्णबहादुरको दाबी छ । उनी भन्छन्, ‘रोल्पामा उही पार्टी र उही व्यक्ति मात्रै दोहोरिरहँदा जनतामा कुनै उत्साह देखिँदैन, जनताको यो मनोविज्ञानले पनि मेरो उम्मेदवारीलाई साथ दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?