+
+

घोराही उपमहानगरकै भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १०:३०

१२ असोज, दाङ । घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो ।

२० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । गौरी-पार्वती/भुसाल बस्नेत जेभीले निर्माणको जिम्मा लिएको उक्त भवन वर्षदिन बित्दा जग हाल्ने काम मात्र भएको छ ।

नयाँ भवन घोराही उपमहानगरपालिकाको परिसरम भित्रै निर्माण भइरहेको छ । उपमहानगरको नयाँ भवन अन्डरग्राउण्ड पार्किङ र लिफ्ट सहित सुविधासम्पन्न हुनेछ । तर निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माण कार्यमा ढिलाइ भइरहेको उपमहानगरपालिकाका अधिकारीहरुले बताए ।

घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले उपमहानगरको भवन निर्माणका लागि ताकेता गरिरहे पनि निर्माण व्यवसायीले काम नगरेको बताए ।

ठेक्का सम्झौता अनुसार भवन निर्माण २०८० बैशाख ३१ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । त्यसअनुसार भवन निर्माणको म्याद सकिन अब सात महिनामात्र बाँकी छ ।

तर भवन निर्माणको काम कछुवाको गतिमा हुँदा भौतिक प्रगति १० प्रतिशत पनि हुन सकेको छैन । कम्पनीले भने हालसम्म ४ करोड भुक्तानी समेत लिइसकेको छ ।

‘हामीले काम सुरु गर्न भनेर पटक-पटक पत्र काटेका छौं’ इञ्जिनियर पौडेलले भने, ‘तर ठेकेदारले विभिन्न बहाना बनाएर काम गरिरहेको छैन ।’ उनका अनुसार घोराही उपमहानगरपालिकाले ठेकेदार कम्पनीलाई छिटो काम गर्न निर्देशन गरे पनि अटेर गरिरहेको छ ।

ठेक्का सम्झौता तोड्ने तयारी

उनले यो काम सम्झौता अनुसार आउने बैशाखमा सकिने अवस्था नरहेको भन्दै अब हालको ठेकेदारसँग सम्झौता तोडेर भवन निर्माणलाई तीव्रता दिने बताए । ‘अहिले काम गर भन्ने बाहेक केही गर्न सकिंदैन,’ उनले भने, ‘अब बैशाखसम्म यस्तै हो । त्यसपछि भने ऊसँग सम्झौता गरिंदैन र अरुबाट काम छिटो गराइन्छ ।’

उपमहानगरपालिका मेयर नरुलाल चौधरीले ठेकेदारले काम नगरेको भन्दै ठेक्का तोड्ने अवस्थामा पुगेको बताए । निर्माण कम्पनी काम नगरेर सम्पर्कमा समेत नआएपछि पत्रिकामा समेत सूचना छापेको उनले बताए । ‘भवन निर्माण सुरु गर्न भनेर पटक-पटक निर्देशन गर्याैं, तर पनि काम अघि बढेन’ मेयर चौधरीले भने, ‘अब उहाँहरुबाट काम हुँदैन भन्ने निष्कर्षमा उपमहानगर पुगेको छ ।’ उनले सम्झौता म्याद अनुसार बाँकी भएको समय सीमा भित्र काम नगरे ठेक्का नै तोड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?