+
+

राष्ट्रपति र प्रधानमन्त्रीले नै पटकपटक उल्लंघन गर्छन् ट्राफिक नियम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते २१:२६

१२ असोज, काठमाडौं । रातो बत्ती बलेको देख्दादेख्दै सवारी साधन कुदायो भने के हुन्छ ? ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिन्छ र सवारी नियम उल्लंघन गरेको भन्दै चिट् काट्छ ।

कहिलेकाहीं ट्राफिक बत्तीको उल्लंघन गर्दा ट्राफिकका जवानले बाटो छेकेर समेत चिट् काटेको दृश्य पनि देखिन्छ ।

उनीहरुलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक बत्तीले रोक्ने संकेत नगरे पनि नरोकेको कसूरमा ५०० रुपैयाँ जरिवाना गराउँछ ।

यही गल्ती मुलुकका विशिष्ट व्यक्ति (भीआईपी) ले गरे के हुन्छ ? गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलको बुझाइमा विशिष्ट व्यक्तिलाई कुनै नियम कानुन भन्दा पनि प्राथमिकता दिनुपर्छ भन्ने मान्यताको आधारमा सहजीकरण गरिएको हो । यसबाहेक भीआईपीलाई के गर्ने भन्ने विषयमा कुनै मान्यता हुँदैन ।

कतिपय जानकारहरु भीआईपीले स्वाभाविक रुपमा प्राथमिकता पाउनुपर्छ भन्छन् । तर भीआईपी सवारीले ट्राफिक लाइटको अवज्ञा गर्दा कहिलेकाहीं ट्राफिक प्रहरीलाई झमेला पनि हुने गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मुलुकका विशिष्ट व्यक्तिका सवारीको हकमा गृह मन्त्रालयबाट सूचना प्राप्त भए त्यो अवधिमा लाइटलाई बन्द गरिन्छ र आवतजावतलाई खुला पारिन्छ । तर नेपालका विशिष्ट व्यक्तिहरु विना सूचना ट्राफिक नियम उल्लंघन गर्दै हिंड्ने गरेको भेटिएको छ ।

नेपाल प्रहरीले नै गरेको एक अध्ययन अनुसार भदौ महिनामा मात्रै एक हजार २५९ पटक मुलुकका विशिष्ट व्यक्तिले ट्राफिक नियम उल्लंघन गरेका छन् ।

ट्राफिक महाशाखाले राखेको तथ्यांक अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले मात्रै एक महिनामा १८ स्थानमा ८५ पटक ट्राफिक नियमको उल्लंघन गरेको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ को सवारीले ९ स्थानमा १८ पटक ट्राफिक नियमको उल्लंघन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सवारीले उपत्यकाको २५ स्थानमा १६५ पटक सवारी नियमन उल्लंघन गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको सवारीले २६ स्थानमा ८० पटक ट्राफिक लाइटको उल्लंघन गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सवारी साधनले ३४ स्थानमा १२३ पटक ट्राफिक  लाइट उल्लंघन गरेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको सवारी साधानले ३४ स्थानमा १२३ पटक ट्राफिक लाइटसम्बन्धी नियम उल्लंघन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको गाडीले उपत्यकामा ७८ स्थानमा २७४ पटक ट्राफिक लाइटसम्बन्धी नियम तोडेको छ ।

भदौ अन्तिमसम्म रहेका गृह सचिव टेकनारायण पाण्डेको सवारी साधनले पनि ३३ स्थानमा ७६ पटक सवराी नियम उल्लंघन गरेको छ । न्यायाधीशहरुका सवारी साधनहरुले २६ स्थानमा ८० पटक सवारी नियमको उल्लंघन गरेका छन् ।

अरु विशिष्ट व्यक्तिले यो अवधिमा ९७ स्थानमा १८० पटक सवारी नियम उल्लंघन गरेका छन् । जबकि, रातो बत्तीसम्बन्धी नियम उल्लंघन गरेको अभियोगमा पछिल्लो साउन र भदौको दुई महिना अवधिमा १२ हजार ३१४ जना सर्वसाधारण कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?