+
+
अन्तर्वार्ता :

‘हाम्रो पुर्पुरोमा रहेनछ भनेर जे पनि सहन सकिन्न’

मेरो पुस्ताले पुस्तागत रूपमा यसलाई एकहदसम्म मान्यो होला, नयाँ पुस्ता प्रतिस्पर्धीलाई उभिनै नदिने कार्य मान्न तयार छैन । हामी शुक्रबार(भोलि) १४ गतेसम्म पर्खन्छौं । सूची सच्चिन्छ भनेर नेताहरूले भन्नुभएको छ । सच्चिएर आयो भने कहाँ कहाँ सच्चियो, हेर्छौं । सच्चिएन भने अर्को निर्णय गर्छौं ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते २१:०३

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पछिल्लो दिन चर्किएको डा. शेखर कोइराला समूहको असन्तुष्टिको अगुवाइ गर्ने नेता हुन्, गुरुराज घिमिरे । समानुपातिकको बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षतर्फ टिकट वितरण न्यायोचित हुनुपर्ने माग गर्दै शेखर समूहका नेताहरूले घिमिरेकै अगुवाइमा खबरदारी सभा, धर्ना हुँदै बिहीबार छुट्टै चियापान कार्यक्रम गर्‍यो ।

समानुपातिकको बन्दसूची सच्याउँछौं भनेको भन्दै नेता घिमिरे भन्छन्, ‘अब भोलि बेलुकासम्म पर्खन्छौं । सूची सच्चिनेमा हामी आशावादी छौं । सूची सच्चिने अन्तिम समयसम्म पनि सम्बोधन भएन भने पार्टीका कार्यकर्ताको भावना अनुसार निर्णय गरेर अघि बढ्छौं ।’

प्रस्तुत छ, अनलाइनखबरकर्मी लिलु डुम्रेले नेता घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश :

पार्टी नेतृत्वलाई दबाव दिन भनेर सुरु गरेको खबरदारी सभा, धर्ना र चियापान आजबाट सकियो । सभापति शेरबहादुर देउवालाई दबाव पुग्यो ?

समानुपातिकमा क्लष्टर, नाम, थर मिलाउने प्राविधिक विषय छँदैछन् । त्यसको सँगसँगै राजनीतिक विषय पनि सभापतिले सम्बोधन गर्नुपर्दछ । सूची सच्याउनुपर्दछ भन्ने हाम्रो माग प्राविधिक सच्चाइसँग सम्बन्धित छैन ।

राजनीतिक रूपमा सच्चिनुपर्छ भन्नुको अर्थ जुन अनुपातमा हामीलाई छुट्याइएको छ, त्यो बिल्कुलै न्यून छ । हाम्रो समूहलाई फाट्टफुट्ट दिएर सूची पठाउने काम भएको छ । यो सन्तुलित भएन, न्यायोचित भएन भनेर नै हामीले खबरदारी गरेका हौं । न्यायोचित वितरण गर्दा कहिलेकाहीं गणित गौण हुन्छ । त्यसमा ४०/६० (प्रतिशत) नै हुनुपर्छ भन्ने हुँदैन । त्यो ४० पनि हुनसक्छ, ३५ प्रतिशत पनि हुनसक्ला । कतिपय स्थानमा शेरबहादुर दाइलाई नै भोट हालेका व्यक्तिलाई न्याय गर्नुपर्ने हुन्छ । तर अवसरको समुचित वितरण हुनुपर्दछ ।

अर्को कुरा, समानुपातिक पद्धति भनेको पार्टीमा लामो समय काम गरेका, समाजले पत्याएका र सीमान्तकृतलाई राज्य सञ्चालनको माथिल्लो तहमा ल्याउने बाटो हो । तर यसलाई दुरुपयोग गरिएको छ । जसले राज्य सञ्चालन गरिसकेको छ, प्रतिस्पर्धात्मक क्षमता पनि छ; तिनै व्यक्तिले प्रतिस्पर्धा गर्न नसक्नेको भाग खोस्ने हो ?

त्यो बाटो अवरुद्ध गर्नुहुँदैन भनेर हामीले खबरदारी गरेका हौं । हाम्रो सभा, धर्नालगायतका कार्यक्रमले साथीहरूले उठाउनुभएको कुरा ठिकै छ भन्ने सभापतिलाई लाग्यो होला । असन्तुष्टि सम्बोधन गर्छु भन्नुभएको छ, सच्याउन तयार भएको शेखर दाइलगायत पार्टीका पदाधिकारीले जानकारी गराउनुभएको छ ।

अब भोलि बेलुका (शुक्रबार साँझ) सम्म पर्खन्छौं । सूची सच्चिनेमा हामी आशावादी छौं । सूची सच्चिने अन्तिम समयसम्म पनि सम्बोधन भएन भने पार्टीका कार्यकर्ताको भावना अनुसार निर्णय गरेर अघि बढ्छौं ।

सच्चिएन भने विद्रोहको चरणमा प्रवेश गर्छौं भन्ने गर्नुभएको छ, त्यो भनेको के हो ?

लोकतान्त्रिक पार्टीले आवधिक निर्वाचनमा कार्यकर्तालाई भूमिका दिनुपर्दछ । अवसर पाउँदा समुचित र न्यायपूर्ण हुनुपर्दछ । अवसर दिइएन भने अन्याय भएको ठहर्छ ।
जसको पहुँच छ, उसैले टिकट लिन्छ, के गर्ने त ?

हाम्रो पुर्पुरोमा रहेनछ भनेर जे पनि सहने परम्परा हो । नयाँ पुस्ताले त्यो सहँदैन । हामी केहीले सहुँला । हाम्रोभन्दा पछिल्लो पुस्ताले परम्परालाई स्वीकार्दैन । उसले दुनियाँको लोकतान्त्रिक अभ्यास देखेको छ, लोकतान्त्रिक अभ्यास अध्ययन गरेको छ ।

अमेरिकन प्रोफेसर सी आइट मिल्सले आफ्नो पुस्तक ‘दि पावर इलिट’मा प्रतिस्पर्धीलाई माथि उठ्नै नदिने दुनियाँका लागि यो रोग हो भनेर लेखेका छन् । उनी भन्छन्, ‘यसले राजनीतिको मूल्यमान्यतालाई ध्यान दिंदैन ।

लोकतान्त्रिक मूल्यमान्यता अनुसार समाजलाई अघि बढ्न दिंदैन । अहिले हाम्रो पार्टीमा यस्तै भएको छ । प्रतिस्पर्धी समूहलाई उछिन्न पो नदिने हो । यस्तो विश्वभरि नै हुन्छ । प्रतिस्पर्धीलाई उछिन्न पो नदिने हो, उभिनै नदिने ? उम्मेदवार नै बन्न नदिने पनि हुन्छ र ?’

मेरो पुस्ताले पुस्तागत रूपमा यसलाई एकहदसम्म मान्यो होला, नयाँ पुस्ता प्रतिस्पर्धीलाई उभिनै नदिने कार्य मान्न तयार छैन । हामी (शुक्रबार) १४ गतेसम्म पर्खन्छौं । सूची सच्चिन्छ भनेर नेताहरूले भन्नुभएको छ । सच्चिएर आयो भने कहाँ कहाँ सच्चियो, हेर्छौं । सच्चिएन भने अर्को निर्णय गर्छौं ।

समानुपातिकको सूची बनाउने शैलीसँग प्रत्यक्षको टिकट वितरण पनि जोडिएको छ ?

प्रत्यक्षमा हामीलाई अवसर नदिने नै यो पूर्वाभ्यास हो । पूर्वाभ्यास वर्षभरि हुँदै आएको छ । राष्ट्रिय सभा, स्थानीय तहको उम्मेदवार, मन्त्री नियुक्त, राजनीतिक नियुक्ति, केन्द्रीय समिति विस्तार, भ्रातृ संस्थाको नेतृत्व चयनमा एकलौटी हुँदैआएको छ । त्यो चरण अब समानुपातिकमा आइपुगेको छ ।

त्यसैले समानुपातिकको सूची सच्चिएन भने किटैरै भन्न सकिन्छ कि हाम्रो समूहले उम्मेदवार धेरै पाउँदैन । बाध्यात्मक रूपमा उम्मेदवार बनाउनैपर्ने, पदाधिकारी भएकाले वा उहाँहरूको ठाउँमा उम्मेदवार बलियो नभएका कारण बाहेक प्रतिस्पर्धी समूहलाई मौका दिनुहुन्न ।

समानुपातिकको सूची त्यसको संकेत हो । नेताहरूले कसरीले लिनुभएको छ, थाहा छैन । तर कार्यकर्तामा असन्तुष्टि भित्रभित्र भुसको आगो झैं फैलिरहेको छ । त्यसैको प्रकट रूप हो खबरदारी सभा ।

अब शुक्रबार साँझसम्म पनि समानुपातिकको सूची सच्चिएन भने हामीसँग दुई विकल्प हुन्छन् । एउटा– जे निर्णय हुन्छ, चुपचाप सहने । अर्को विकल्प हो, विद्रोह गर्ने । यी दुई विकल्पमा के गर्ने १४ गतेपछि निर्णय हुन्छ ।

तपाईंकै समूहमा दुवै मत राख्ने नेताहरू भेटिन्छन् । यस्तो अवस्थामा तपाईंले भनेजस्तो विद्रोह हुनसक्ला ?

विद्रोह नै होला भनेर ठ्याक्कै अहिले भन्न सक्दिनँ । साथीहरूको मतलाई हेरेर यसमा निर्णय हुनुपर्दछ । मेरो व्यक्तिगत कुरा चाहिं पछिल्लो विकल्प (विद्रोह)मा ५० प्रतिशत सहमत छु ।

राजनीतिक विभेदविरुद्ध नबोल्ने हो भने लोकतन्त्र भनिरहनुको अर्थ छैन । कार्यकर्ताको पीडा, वेदना बुझ्नसक्नु पर्‍यो नि ! पार्टी भनेको बृहत् परिवार हो । ८ लाख ५२ हजार क्रियाशील सदस्य भएको पार्टी हो । त्यसको तीन गुणा बढी साधारण सदस्य छन् । कांग्रेस कसैको निजी मामिला होइन । अवसर बाँडफाँटलाई निजी वा घरेलु मामिला बनाउने ? आधुनिक लोकतन्त्रमा कुनै कार्यकर्ताले यो मान्दैन ।

कतिपयको बुझाइ तपाईंहरूको विरोध दुई/चार जनाको अवसरका लागि गरिएको रडाको हो भन्ने पनि छ नि ?

साथीहरूले पनि यो कुरा मलाई भन्ने गर्नुहुन्छ । तर म केमा अविचलित छु भने साथीहरूलाई न्याय भयो भने ठीक छ । चित्त बुझाउनेसम्म भए ठिकै छ । पार्टीमा जितेको, कलमकापी आफ्नो हातमा भएको पक्षले अलिकति बढी राखेछ भने केही ज्यादती खपौंला । तर, आशाका किरण नै नदेखिने गरी जबरजस्ती निर्णय लाद्ने काम भयो भने मान्य हुँदैन ।

तपाईंहरू जसलाई आफ्नो नेता मानेर हिंड्नुभएको छ, उहाँहरू नै दबाव अभियानमा अनुपस्थित भएकाले पनि यो प्रश्न उठेको जस्तो लाग्दैन ? पार्टी प्रवक्ता स्वयंले भन्नुभएको छ, सहमतिमै निर्णय भएको हो, अन्यथा भएको भए त निर्णय गर्ने साथीहरू बाहिर बोलिहाल्नुहुन्थ्यो !

हामी हाम्रा नेताहरूसँग सम्पर्कमा छौं । बुधबार पार्टी कार्यालयको धर्नापछि पनि नेता शेखरसहित महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डेलाई भेट्यौं । उपसभापति धनराज गुरुङसँग फोनमा कुरा गरें । विरोधका कार्यक्रम चलाउँदा पनि हामी सम्पर्कमै छौं ।

हाम्रो समूहबाट जो सूची बनाउन बस्नुभयो, उहाँहरूले हामीलाई भनेको के हो भने अहिलेलाई हतार भयो, जेजे नाम राख्न सक्छौं राखिदिऔं भन्नेभयो । १४ गतेभित्र सबै नाम हेरफेर गर्नसक्ने जानकारी निर्वाचन आयोगले गराएको छ ।

त्यो समयमा नाम फेरेर, सच्याएर आपसी सहमति अनुसार जाऔंला । पठाइएको नाम त सर्वसम्मत हुँदै होइन । पार्टीको जिम्मेवार नेताले जे भएको हो, त्यही पो बोल्ने हो । जे पनि बोल्ने हो र ? लोकतन्त्र भनेको पारदर्शी प्रणाली हो । छलछाम चल्दैन ।

जहाँसम्म हाम्रो नेताहरूलाई देखिएन भन्ने छ, धर्ना तथा सभामा हामीले बोलाएकै छैनौं । यो खबरदारी शेरबहादुर दाइलाई मात्रै होइन, उहाँहरूलाई पनि हो । सभापति र उहाँ वरिपरिका व्यक्तिहरूलाई हाम्रो विरोध गर्‍यो भन्ने लाग्दो हो, तर शेखर दाइलाई पनि उत्तिकै खबरदारी हो । हाम्रो पक्षका नेताहरू, संसदीय बोर्डमा रहेका सबैका लागि खबरदारी हो । यतिसम्म कि गठबन्धन दलका नेताहरूलाई पनि खबरदारी हो ।

पार्टीभित्रको आन्तरिक आयाम नमिलाई अघि बढ्दा परिणाम प्राप्त हुन सक्दैन । दुई कम्युनिस्ट मिलेर झण्डै दुई तिहाइको सरकार बनेको त निकट विगत छ । सरकार चलाउन सक्नुभयो ? अन्तरकलह चर्केपछि के हुने रहेछ ?

त्यस्तै कांग्रेसमा भयो भने के हुन्छ भोलि ? त्यसकारण, कांग्रेसभित्रको आन्तरिक आयाम नमिलाई वा आन्तरिक एकता सुदृढीकरण नभई भोलि मुकाबिला गर्न सकिंदैन । गठबन्धनका दलहरूले कांग्रेसका नेताहरूसँग बसेर सिट मिलाउँदैमा मात्रै हुँदैन ।

प्रवक्ताले त गठबन्धन र पार्टी हित विपरित गतिविधि नियालिरहेका छौं भन्नुभएको छ नि ?

अमूक पद पाइन्छ भनेर राजनीतिमा लागेको होइन । देश र जनताको बृहत्तर स्वार्थका लागि राजनीतिमा लागेको हो । अहिले गरेको खबरदारी पनि अमूक पद प्राप्तिका लागि होइन । पद प्राप्तिको लालसा पनि छैन ।

फेरि पार्टी भनेको सभापति वा प्रवक्ताको मात्रै होइन । ८ लाख ५२ हजार क्रियाशील सदस्य छन्, हाम्रा मतदाता छन् । सबैलाई चित्त बुझाएर पार्टी चलाउनुपर्छ । न्यायोचित व्यवहार हुनुपर्छ भन्दा कारबाही भयो भने त्यसमा हामीलाई आपत्ति छैन ।

बेलाबेला तपाईंहरूको समूहका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको सुनिन्थ्यो । अहिले पनि पार्टीमा न्याय भएन भने एमालेसँग सहकार्य गर्ने चर्चा सुनिन्छ, त्यस्तै तयारी छ ?

म पार्टीमा भएका गल्ती-कमजोरी हटाउन लागिरहेको छु । अर्को पार्टी र हाम्रा साथीहरूको साँठगाँठबारे म जानकार छैन । मैले पनि शेखर पक्ष र एमालेको तालमेल हुने रे भनेर सञ्चारमाध्यममार्फत पढेको, सुनेको छु ।

स्थानीय तहको निर्वाचनमा तालमेल नगरौं भनेका हौं, अहिले पनि एक्लै लडौं भनेका हौं । तर पार्टीले तालमेल गर्ने निर्णय गरेपछि हामीले विरोध गरेका छैनौं । गठबन्धनलाई कसरी जिताउने भनेर अहोरात्र लागेका छौं । त्यसैले यो पार्टीभित्र अन्याय भयोभन्दा अतिरञ्जित तर्क गरेर विषयान्तर गर्ने कुरा हो जस्तो लाग्छ मलाई ।

तर, विद्रोह गर्छु भन्ने तपाईं आफैं हो त ?

पुराना नेताहरूको योगदानको सम्मान गरेकै छौं । २०४६ को परिवर्तन ल्याउन उहाँहरूको बढी योगदान थियो । तर अहिलेको प्रणाली ल्याउन त हाम्रो योगदान बढी छ । हामीलाई किनारामा धकेल्ने काम भएको छ ।

प्रणाली ल्याउने हामी, हामीले राखेको आकांक्षाबारे बहस नै नहुने भएपछि विद्रोह गर्छौं भनेकै हो । जनताले पनि उम्मेदवार देख्न चाहेका छन् । चुनाव जित्ने निश्चित जस्तै छ । हाम्रा क्षेत्रहरू भागबण्डा गरेर अरूलाई दिने हो भने त केही न केही गर्न बाध्यता हुन्छ । केही न केही गर्नुपर्ने बाध्यतामा चितवन–३ मा उठ्छु भनेकै हुँ ।

व्यक्तिगत कुरा गर्दा चाहिं तपाईंले उठ्ने दाबी गरिरहेको मोरङ–४ माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ । तपाईं पछि हट्ने हो ?

मसँग दुई बाटो छन् । पहिलो, पार्टीको निर्णय मान्ने र पार्टीलाई सघाउने । अर्को, विद्रोह गर्ने । के गर्ने भन्नलाई १५ गते पर्खनुपर्दछ । समानुपातिकतर्फको सूची एकदमै राम्रो भयो भने साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु ।

किनकि ममाथि अन्याय हुनु त्यति ठूलो कुरा भएन । ममाथि अन्याय हुँदै आएको छ । तर मलाई जस्तै अन्याय अरूलाई नगरियोस् भने आम साथीहरूको आवाज मैले बोलेको हुँ । आफ्ना लागि भए त नेताका घरघर धाउने, अनुनयविनय गरेर एउटा सीट लिएर जाने हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?