+
+

रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते २०:४२

१४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि जितेका क्षेत्रहरु यथावत राख्ने गरी मात्र भागबण्डा मिलाउन शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । त्यसो नगरिए परिणाम अनपेक्षित हुने समेत चेतावनी दिएका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाट सम्बन्धी निर्णय गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिम जोडदार माग गर्दछ’ उनले विज्ञप्तिमा भनेका छन् ।

रुकुम पश्चिममा प्रतिनिधिसभाको एउटा र पदेशसभाको दुईवटा निर्वाचन क्षेत्र छ । अनलाइनखबरसँगको कुराकानीमा रोकाले जिल्लाको एक प्रदेशसभा क्षेत्र कांग्रेसलाई दिन लागेको सुनेकाले त्यसलाई रोक्न ध्यानाकर्षण गराएको बताए । ‘प्रदेशसभामा पाउनुपर्छ भन्ने कांग्रेसको दावी र त्यसै अनुसार दिनुपर्छ भन्ने हिसाबमा कुरा हुन थालेको छ,’ उनले भने, ‘केन्द्रबाट त्यो निर्णय नहोस् भन्ने हाम्रो भनाइ हो ।’

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले पाउनेमा विवाद नभए पनि दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले दावी गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश वलीले आफूहरुको दाबी २ क्षेत्रमा भए पनि गठबन्धनको मापदण्ड अनुसार एउटा क्षेत्र भने पाउनै पर्ने बताउँछन् । विशेष गरी प्रदेशसभा ‘ख’मा आफूहरुको दाबी रहेको उनले बताए ।

‘गठबन्धनको मापदण्ड अनुसार रुकुममा पनि नेपाली कांग्रेसले पाउनुपर्‍यो,’ वलीले भने, ‘गठबन्धन रुकुमलाई छाडेर अरु ७६ जिल्लामा मात्रै गरेको हो भने पार्टीेले भन्नुपर्‍यो । होइन भने गठबन्धनले जुन मापदण्ड बनाएको छ, त्यसले रुकुमलाई पनि छुन्छ होला ।’

स्थानीय चुनावको तुष

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका दुई दल माओवादी र कांग्रेस छुट्टाछुट्टै निर्वाचन लडेका थिए । नेपाली कांग्रेसले नेकपा एमालेसँग तालमेल गरेर माओवादीविरुद्ध चुनाव लडेको थियो । त्यही क्रममा जिल्लामा दर्जनौं झडप माओवादी र कांग्रेसबीच भएका थिए । त्यसको असर संघीय चुनावमा समेत देखिने भएको छ।

माओवादीका जिल्ला संयोजक रोका स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले गठबन्धनको सहमति उल्लघंन गरेर एमालेसँग तालमेल गरेको भन्दै त्यसको क्षतिपूर्तिस्वरुप पनि कांग्रेसलाई कुनै क्षेत्र छाड्न नसकिने बताए ।

‘स्थानीय चुनावमा सत्ता गठबन्धन भत्काएर उनीहरु एमालेसँग मिले, जबकी गठबन्धनको निर्णय त्यस्तो नगर्ने भन्ने थियो’, रोकाले भने, ‘अहिले त्यसको क्षतिपूर्ति स्वरुप उहाँहरुले दावी नगर्नु उचित हुन्छ ।’

कांग्रेसका जिल्ला सभापति वलीले भने स्थानीय तहको चुनावमा सबैतिर गठबन्धन नभएकाले रुकुममा पनि नभएको बताए । उनले भने, ‘स्थानीय तहमा त ७५३ मध्ये २ सय जति पालिकामा मात्रै त गठबन्धन भयो, अरुमा भएन, त्यसै अनुसार रुकुममा पनि भएन । यसपटक देशैभरि गठबन्धन गर्ने भनेको छ ।’

जिल्लामा गठबन्धन हुन नसके पुरानै हिसाबले चुनाव लड्ने उनले बताए । फेरि एमालेसँग तालमेल हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘एमालेसँग मिल्ने कुरा भएन । तर, माओवादीको जो अहमता छ, त्यसका विरुद्धमा हामी फेरि लड्छौं ।’

स्थानीय चुनावमा रुकुम पश्चिमका ६ पालिकामध्ये नेपाली कांग्रसले एमालेसँगको तालमेलमा २ पालिका जितेको थियो । अर्थमन्त्री एवं रुकुम पश्चिमका माओवादी नेता जर्नादन शर्माको गृह नगर मुसिकोट नगरपालिकामै कांग्रेस विजयी भएको थियो ।

हालै सम्पन्न स्थानीय तहको चुनावमा वडास्तरमा पाएको मत हिसाब गर्दा रुकुम पश्चिममा माओवादीले ३७ हजार १०२ मत पाएका छ भने नेपाली कांग्रेसले २६ हजार ६२० र नेकपा एमालेले ६ हजार १२४ मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?