+
+

सुर्खेत २ : टिकट कुर्दै कांग्रेस–एमालेका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते १८:१२

१५ असोज, सुर्खेत । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर–२ नेपाली कांग्रेसले पाउने लगभग पक्का छ । तर यो क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय कांग्रेसले अझै गर्न सकेको छैन ।

सत्तारुढ गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा उत्रने भन्दै आएको नेकपा एमालेले पनि यो क्षेत्रमा उम्मेदवार तय गर्न सकेको छैन ।

कांग्रेस क्षेत्रीय समितिको बैठकले हृदयराम थानी, श्याम भारती, निरञ्जन केसी र कलम खत्रीको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो । यी मध्य पूर्वमन्त्री समेत रहेका थानीले नै टिकट पाउने कांग्रेस नेताहरुले अनुमान गरेका छन् ।

कांग्रेस नेता शेखर कोइराला पक्षमा रहेका थानीलाई पार्टीभित्र भागबन्डा मिलाउन पनि टिकट दिनुपर्ने उनी निकट नेताहरुको माग छ । थानी २०७४ को चुनावमा एमालेका नवराज रावतसंग पराजित भएका थिए । २०५१ देखि यो क्षेत्रबाट चुनाव लड्दै आएका थानी यो पटक पनि चुनाव लड्ने मनस्थितिमा छन् ।

उम्मेदवारहरुको नाम टुंगो नलाग्दा कार्यकर्ता भेटघाट र छलफलमा समेत जान नसकिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी बताउँछन् । ‘उम्मेदवारलाई लिएर प्रचारमा जानुको महत्व नै बेग्लै हुन्छ । को उम्मेदवार बन्ने भन्ने अझै टुंगो छैन । चुनाव प्रचार त प्रभावित हुने नै भयो’ उनले भने ।

नेकपा एमाले क्षेत्रीय कमिटीले पनि यो क्षेत्रको उम्मेदवारका लागि अमृत बिसी, कुलमणि देवकोटा र तुल्सी कँडेलको नाम सिफारिस गरेको छ । तर पार्टीको केन्द्रीय कमिटीले उम्मेदवारको टुंगो भने लगाउन सकेको छैन ।

बिसी एमालेको सुर्खेत जिल्ला अध्यक्ष र देवकोटा उपाध्यक्ष हुन् । उनीहरु दुईमध्ये एकले टिकट पाउने जिल्लास्तरका नेताहरु बताउँछन् । अहिले दुवै नेता मौन छन् । केन्द्रबाट टिकट पक्का भएपछि मात्र चुनाव क्षेत्रमा जाने उनीहरुको तयारी छ ।

‘केन्द्रीय कमिटीले १६ गतेसम्म उम्मेदवारको नाम टुंगो लगाउने सुनेका छौं’ एमाले सुर्खेतका सचिव कविन्द्रकुमार केसीले भने, ‘उम्मेदवारको नाम टुंगो नलाग्दा प्रचार प्रसारका काम प्रभावित भएका छन् । प्रस्तावित उम्मेदवारहरु लिएर प्रचारमा जाने स्थिति छैन ।’

सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र नेपाली कांग्रेसले पाउने कांग्रेसका नेताहरु बताउँछन् । सुर्खेत १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नाम एकल सिफारिस भएको छ । उनी उम्मेदवार पक्काजस्तै भएकाले क्षेत्र नम्बर १ का नेताहरु चुनाव प्रचारमा होमिसकेका छन् ।

राप्रपाले यो क्षेत्रमा पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उम्मेदवार बनाउने भएको छ ।
प्रदेश सभा तर्फ एमालले आफना उम्मेद्वार टुंगो लगाएर चुनावी अभियानमा खटाई सकेको छ भने गठबन्धन दलहरुबीच सिट बाँडफाँटको भागबन्डा नै मिल्न नसकेकाले प्रचार प्रसारमा जान सकेका छैनन् ।

चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र नं. १ को (क) र २ को (क) कांग्रेसले लिने र क्षेत्र नं. १ को (ख) र २ को (ख) माओवादीलाई दिने आन्तरिक सहमति भएको जिल्लास्तरका नेताहरु बताउँछन् ।

तर नेकपा एकीकृत समाजवादीले पनि एउटा प्रदेश सभाको सिट आफूहरुले पाउनुपर्ने अडान लिएको छ । र, एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालले क्षेत्र नम्बर २ को (ख) बाट आफनो उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । तर कांग्रेस र माओवादी भने एकीकृत समाजवादीको जनाधार नभएको भन्दै टिकट दिने पक्षमा देखिदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?