+
+

वीरगञ्जको सडकमा दशैं मेला, जिलेबी मुख्य आकर्षण

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असोज १६ गते ११:३७

१६ असोज, वीरगञ्ज । वीरगञ्ज–२२ जगरनाथपुरका कृष्णमोहन साह तीन दिनदेखि वीरगञ्जको दशैं मेलामा जिलेबी बेचिरहेका छन् । पहिला र दोस्रो दिन क्रमशः ६ हजार र ७ हजारको मात्रै व्यापार गरेका उनले तेस्रो दिन १२ हजारको कारोबार गरेको बताए । आगामी दिनमा अझै बढी कारोबार गर्ने उनको लक्ष्य छ ।

खाली सीसी बोतल खरिद बिक्री गर्ने काम उनको मुख्य पेशा हो । टेम्पु पनि चलाउँछन् । दशैंमा त्यो काम छोडेर उनी वीरगञ्जको मेलामा जिलेबी बेच्न बसेका छन् । ‘बसी बसी खानुभन्दा दशैं खर्च टर्छ । भनेर पसल थापेको छु ।’ उनले भने, ‘राति लामखुट्टे लागेर सुत्न सकिदैन, अरु त ठिकै चलेको छ ।’

भारत बिहार हरपुर थानाका धुरेन्द्र साह सहित तीन जना मिलेर जिलेबी पसल खोलेका छन् । धुरेन्द्र ५ वर्षदेखि वीरगञ्जको दशैं मेलामा जिलेबी बनाउन आइरहेका छन् । बाँकी समय उनी तरकारीको कारोबार गर्छन् ।

जिलेबी बेच्न वीरगञ्जको सडकमा बस्दै आएकाहरुमध्ये एक हुन् भारतको बिहार मोतिहारी अठवान बड्काटोलाका हरेराम साह । उनी विगत चार दिनदेखि वीरगञ्जमा छन् । नौ वर्षदेखि वीरगञ्जको दशैं मेलामा आएर उनी जिलेबी नै बेच्छन् । हरेक शिवरात्रीमा काठमाडौंको पशुपतिमा समेत जिलेबी बेच्न जाने गरेको हरेरामले सुनाए । ‘उता (बिहारमा)नवमी र दशमीको दिनमा मात्रै मेला लाग्छ । त्यो भन्दा पहिला वीरगञ्जको मेलामा आउने गरेका छौं,’ उनले भने ‘अष्टमीसम्म यहाँ बस्ने हो, त्यसपछि घोडासहन बजार जान्छौं ।’

‘जिलेबी बेचेर १० वर्षमा एउटा घर बनाएँ, मोटरसाइकल किनें, १० धुर जग्गा पनि जोडेको छु । त्यसैले यो काममा मन लाग्छ,’ उनले भने, ‘अहिले पनि दैनिक ३०–४० किलो मैदाको जिलेबी बिक्री भइरहेको छ ।’

वीरगञ्जको मुख्य सडकमा अहिले लागिरहेको दशैं मेलाको मुख्य आकर्षण नै जिलेबी (जेरी) बनेको छ । मेलालाई लक्षित गरी रातो बंगला अगाडिदेखि नै मोटरसाइकल लगायत सवारी आवागमन निषेध गरिएको छ । दशैंको चहल पहलले वीरगञ्ज गुल्जार देखिन्छ । दशैं बजारमा लत्ताकपडा, जुत्ताचप्पल प्लाष्टिकका खेलौना, भाँडाकुडा, नरिवलदेखि विभिन्न प्रकारका मिठाई बेच्न राखिएको छ ।

बजारमा सबैभन्दा लोकप्रिय मिठाई भने तातो–तातो जिलेबी नै हो । नेपालका विभिन्न स्थान र भारतबाट आउने व्यापारीहरुले सडक किनारमै जिलेबी पकाउँछन् र बेच्छन् ।

जिलेबी स्वादिला त छन्, तर स्वस्थकर भने देखिंदैनन् । सडक तथा नालाकै छेउछाउमा बनाइने जिलेबी छोपेर राखिँदैन । पैदलयात्रु ओहोर–दोहोर गर्दा सडकबाट उड्ने धुलो त्यहीँ मिसिन्छ । उपभोक्ताहरु त्यही किनेर खान्छन् ।

यो क्रम वर्षौंदेखि चलिरहेकाले किन्ने र बेच्नेलाई बानी परिसकेको छ । उपभोक्ता अधिकारवादी, स्थानीय प्रशासन मात्रै होइन, जनताको नजिकको स्थानीय सरकारले पनि यसलाई व्यवस्थित बनाउन सकेका छैनन् । ‘मेला घुम्न आउने मानिसहरुले जिलेबी किनेर खान्छन् । राम्रो व्यापार हुन्छ,’ एक व्यापारीले भने, ‘सरसफाइको सवाल आफ्नो ठाउँमा होला तर कुनैपनि ग्राहकले गुनासो गरेका छैनन् ।’

तर पेट रोग विशेषज्ञ डा. राकेशकुमार झा खुल्ला स्थानमा राखिएको र रंगको प्रयोग गरेर बनाइएका खानेकुरा स्वास्थ्यका लागि हानीकारक हुने बताउँछन् ।  ‘चाडबाडको समयमा खानपिनमा ध्यान दिन नसके विरामी परिन्छ,’ उनले भने ।

अर्को आकर्षण खेलौना

घटस्थापना शुरु भएलगत्तै व्यापारीहरुले वीरगञ्जको मुख्य सडकमा डेरा जमाइसकेका छन् । मेला सकिएपछि मात्रै उनीहरु त्यहाँबाट उठ्छन् । महानगरले दशैं मेलाका लागि वैकल्पिक ठाउँ दिन नसके पनि सडकमा लाग्ने मेला व्यवस्थित गर्न बिहानैदेखि नगर प्रहरी भने खटाएको छ ।

मेला हेर्न आउने केटाकेटीलाई लोभ्याउने खालका खेलौना बजारको अर्को आकर्षण हो । मेला घुम्न निस्केका बेला छोराछोरीले जिद्दी गरेपछि अभिभावकले खेलौंना नकिन्दिई धरै पाउँदैनन् ।

सर्लाहीकी चन्द्रिका दासका ३ जना छोराछोरी छन् । उनीहरुको रेखदेख अनि लालन पालन उनले प्लास्टिकका खेलौना बेचेरै गरिरहेको चन्द्रिका बताउँछिन् । भारतको सीतामढी बजारबाट १५ हजार रुपैयाँमा प्लाष्टिकका विभिन्न खेलौना किनेर उनी वीरगञ्जको दशैं मेलामा बेच्न बसेकी छन् ।

तीन वर्षदेखि लगातार दशैंमा वीरञ्जको मेला आउने गरेकी उनले शनिबार मात्रै २ हजारको व्यापार गरेको सुनाइन् । ‘१५ हजार गल्ला लागेको छ । सामान बिक्री भयो भने धेर थोर त बचिहाल्छ,’ उनले भनिन् ।

बिहार पश्चिमी चम्पारण लक्ष्मीपुरका सेख नुरूल होदा १५ वर्षदेखि वीरगञ्जको दशैं मेलामा खेलौनाको व्यापार गर्न आइपुग्छन् । नवमी र दशमीमा भिश्वा बञ्जारीमा मेला भर्न जान्छन् । ‘मिहिनेत गरेपछि ज्याला त मिलिहाल्छ,’ उनले भने ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?