+
+
दशैं सम्झना :

‘बाल्यकालमा दक्षिणाको पैसा भेला पारेर बाजा किन्थें’

नारायण रायमाझी नारायण रायमाझी
२०७९ असोज १६ गते १६:२६

दशैं आउने बित्तिकै मलाई मेरो गाउँको याद आउँछ । मेरो गाउँ पाल्पामा हो । त्यहाँ दशैंमा आफ्नो परिवार मात्र होइन, गाउँका सबै जना मिलेर हर्षोल्लासपूर्वक दशैं मनाइन्थ्यो । दशैंमा अनिवार्यजस्तै पाउने नयाँ लुगा, स्कुलको लामो बिदा र दक्षिणाले बाल्यकालको दशैं विशेष लाग्थ्यो ।

अहिले हरेक वर्ष दशैं आउँदा त्यहीं बाल्यकालको दशैं सम्झेर मन हर्षित हुन्छ । त्यो बेलामा  दशैंमा चंगा उडाउने, पिङ खेल्ने, घर लिपपोत गर्ने, गाउँको साना बच्चादेखि सबै मिलेर बाटो सरसफाइ गर्ने, मर्मत गर्ने गरिन्थ्यो । आलोपालो गर्दै खसी काट्ने र सबैले सघाउने गर्दथे । हामी बच्चाहरु पछिपछि लागेर हिंडेको, परदेशीहरु र लाहुर गएकाहरु फर्किएर आउँदा गाउँको चहलपहल नै बेग्लै हुन्थ्यो ।

दशैंको सबैभन्दा खुसी भनेको स्कुल लामो समयसम्म बिदा हुने भएकाले बच्चाबेलामा औधी खुसी हुन्थ्यौं । स्कुल जान मात्रै एक घण्टा बढी लाग्ने हुँदा दशैंमा लामो समयसम्म बिदा पनि हुने, वातावरण रमाइलो हुने, नयाँ लुगा लगाउने पर्व भएकाले फुरुङ्ग हुन्थ्यौं । तर गृहकार्य टन्नै दिने हुँदा दुःख भने धेरै लाग्थ्यो । दशैंको रमाइलोसँगै बिदा सकेर स्कुल जाने दिन नजिक आउँदा मनै पिरोल्थ्यो । रातमा गृहकार्यको पिरले निन्द्रा पनि नलाग्ने, भोक नलाग्ने । गृहकार्य जति गर्दा पनि नसकिने, अपूरो हुँदै डराईडराई स्कुल गइन्थ्यो । शिक्षकको घर टाढा हुँदा फाइदा हुन्थ्यो । उहाँहरु आउन ढिला हुने त्यतिबेलासम्म गृहकार्य पनि सकिन्थ्यो ।

दशैंको बीच हामीलाई कामको चटारो पनि हुन्थ्यो । किसानको परिवार भएकाले केटाकेटी हुँदै दशैंबाहेक अन्य बेला पनि घरको घाँस काट्ने, खोले खुवाउने जस्ता काम गरेर नै स्कुल जान्थ्यौं ।

दशैंमा पिङ खेलेको, चंगा उडाएको हेर्न जानुपर्ने हुँदा हामी तीन दिनअघि नै घाँस काटेर चाङ बनाएर राख्थ्यौं ।

दशैं बिदा हुने बित्तिकै  बुबाआमालाई जसरी हुन्छ, फकाएर चंगा किन्न लगाउँथे । टीका लगाउन दिन यति बाँकी छ भन्दै प्रत्येक बिहान औंला भाँचेर नै गनिन्थ्यो । वर्षमा एकपटक दशैंमा नयाँ लुगा लगाउन पाउने भएकाले त्यसको खुसी बेग्लै हुन्थ्यो । टीका दिन नयाँ मगमग बास्ना आउने लुगा लगाएर गाउँतिर साथीभाइमा कसको लुगा राम्रो भन्दै देखाउँदै हिंडिन्थ्यो ।

मासुमा त्यति चासो सानैदेखि भएन । खाँदा बिरामी नै परिरहने भएकाले पछि विस्तारै शाकाहारी नै भए । मासु भन्दा दशैंमा पाक्ने सेलरोटी, मासको बारा मीठो लाग्थ्यो ।

सेलरोटीहरु, मासको बारा जस्ता परिकार गाउँभरि नै पाक्थ्यो । आफूले बनाएको मीठोमसिनो अरुको लगिदिने अरुकोमा बनेका परिकार आफ्नोमा ल्याइदिने गरी साटासाट हुने चलन थियो । त्यो गाउँको भावनात्मक सम्बन्धको छुट्टै मिठास थियो ।

दक्षिणाको लागि दौडधुप

दशैंमा घरमा टीका लगाउँदा छोरा मान्छेलाई कम दक्षिणा मिल्थ्यो । घरमा दक्षिणा पाउनासाथ दुई घण्टामा पूरा गाउँ नै टीका लगाउन हिंडिन्थ्यो । कसको घरमा कति दक्षिणा दिन्छन् भन्ने हिसाबकिताब गरेर नै गइन्थ्यो । साथीभाइ सबै मिलेर सबैको घरघर पुग्थ्यौं । घरमा आम्दानी भएका र विदेशमा काम गर्न जानेको परिवारमा बढी दक्षिणा आउँछ भनेर हामी त्यहाँ जान उत्साहित हुन्थ्यौं ।

त्यसपछि टाढाको मामाघर जाने तयारी हुन्थ्यो । त्यहाँ भने भाञ्जालाई बढी दक्षिणा पाउने, सत्कार मिल्ने भएकाले उत्साहित भएर गइन्थ्यो ।

दक्षिणा नपाउँदा मनै कुँडियो

एकपटक बुढामावलीघरमा टीका लगाउन जाँदा मैले दक्षिणा नै पाइनँ । जिजु हजुरआमा हुनुहुन्थ्यो । दुनामा दक्षिणा राखेर दिने चलन थियो । पहिलाका घरहरु दिउँसै अँध्यारो हुन्थ्यो । दक्षिणा यहाँ कति मिल्छ भन्दै जुन घरमा जाँदा पनि हिसाबकिताब गरिरहेकै हुन्थ्यौं । हामी पहिला नै हिसाबकिताब गरी बसिसकेका हुन्थ्यौं । सबैलाई लाइनमा राखेर टीका लगाइदिनुभयो । मेरो पालामा दुना दिंदा दक्षिणा भुइँमा खस्यो । दक्षिणा खसेको आफ्नै आँखाअघि देख्दादेख्दै पनि न त दक्षिणा खस्यो भन्न नै सकें, न टिप्न नै । अप्ठ्यारो लाग्यो ।

खाली दुना र खसेको पैसा देख्दादेख्दै दुना मात्रै दुःखी हुँदै टिपेर हिंडे । त्यो कारणले गर्दा दशैंको मेरो दक्षिणा २५ पैसा कम भयो भने हिसाब गर्न थालें । त्यसबेला धेरै नै मन कुँडिएको थियो । त्यो क्षण अहिले सम्झिंदा निकै हाँस उठ्छ ।

त्यस्तै, एकपटक दशैंमा सँगै खाना खाँदा दाइको दक्षिणा पाएको सिक्का खस्यो । मैले टपक्क टिपें । खानतलास नै भयो । पछि मलाई चोर करार गरिदिए । तर मैले भन्ने सकिन मैले खसेको पैसा टिपेको हो, चोरेको होइन भनेर । त्यो पनि स्मरणीय लाग्छ ।

दक्षिणाको पैसाले बाजा

म दक्षिणा पाएको पैसालाई अत्यन्त महत्व दिन्थें । सबैभन्दा पहिला दशैंको पैसा जम्मा गरेर दाइ र मैले एक-एकवटा कुखुराको चल्ला किनेका थियौं । घरमा कुखुरा नभएकाले धेरै रहर लाग्थ्यो । दाइको चल्ला किन्ने पैसा पुग्यो, मेरो अलिकति पुगेन । हजुरबुबालाई रोएर फकाएर चल्ला किनेको थिएँ ।

त्यो मेरो जीवनको पहिलो लगानी थियो । त्यसबाहेक सानैदेखि बाजा र नाचगानमा सौख । घरबाट त्यस्तो सामग्री किन्दिन नसक्ने । आफूले किन्दा पनि उल्टो गाली खाइन्थ्यो । तर आफ्नो बजेटले धान्ने खालका बाजा म कहिले मुरली, मादल, मुर्चुङ्गा बाँसुरी किन्ने गर्थें ।

जीवनमा सबैभन्दा सम्झिने मीठो यादगार समय भनेकै त्यो बेलाको दशैं हो जस्तो लाग्छ । पछिपछि के दशैं, के तिहार भनेजस्तो हुने रहेछ । आजभोलि त्यस्तो विशेष चाडपर्व लाग्दैन । अहिलेको दशैं मनाएर भन्दा पनि बालापनको दशैं सम्झेर नै आनन्द लाग्छ । कुनै दिनको रमाइलो याद सम्झिएर नै हामी बाँच्ने रहेछौं । पहिलाका दिन फर्किएर आउँदैछनन्, तर सम्झिंदा सुनौलो लाग्छ ।

(गायक, संगीतकार तथा फिल्म निर्देशक रायमाझीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?