+
+

दशैं विदामा सर्वोच्च अदालतमा एउटा मात्रै रिट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते २१:०७

१८ असोज, काठमाडौं । दशैंविदाको सात दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुंगिएको छ ।

घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाई गथ्र्यो । अघिल्ला वर्षहरुमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यसपटक भने एउटामात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो ।

कोही व्यक्ति गैरकानूनी थुनामा परेमा उनलाई थुनामुक्त गर्न आदेशको माग राखी दिइने निवेदनलाई बन्दीप्रत्यक्षीकरणको निवेदन भनिन्छ ।

दशैंविदाको भोलिपल्ट जिल्ला प्रहरी परिसर िटेकुमा थुनामा रहेका योगेन्द्र तामाङकी श्रीमती सुनाम तामाङले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । उनको निवेदन दुई दिनपछि खारेज भएको हो ।

विदा शुरु भएयता तामाङकै मुद्दा सुनुवाईका लागि सर्वोच्च अदालतमा दुई पटक एकल इजलास बसेको थियो । त्यसयता कुनै निवेदन दर्ता भएको छैन भने इजलास समेत बसेको छैन । लगातार तीन दिनभन्दा बढी समय सर्वोच्च अदालत बन्द भएमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि संयन्त्र खडा गर्नुपर्ने नियम छ ।

हरेक वर्ष सर्वोच्च अदालतले दशैं विदाका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि आंशिक रुपमा प्रशासन खुला राख्छ भने हरेक दिन एकजना न्यायाधीशलाई पालो तोकेको हुन्छ । सर्वोच्च अदालत कोजाग्रत पूर्णिमाको भोलीपल्ट मात्रै नियमित रुपमा खुल्नेछ । आगामी २४ गते अदालत खुल्ने दिन कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन् । ६५ वर्षे उमेरहदका कारण कामू प्रधानन्यायाधीश रहेका बरिष्ठतम न्यायाधीश दिपककुमार कार्कीले दशैंविदाको विचमा अवकाश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?