+
+

राजेश हमालसँगको फोटो सेयर गर्दै भुवन केसीले दिन खोजेको ‘दोस्ती’को सन्देश के ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १६:००

काठमाडौँ । कुनैबेला राजेश हमाल र भुवन केसीबीच ‘मौन शीतयुद्ध’ थियो । को ‘महानायक’ बन्ने भन्ने ‘मिडिया डिस्कोर्स’मा घरेलु फिल्मका यी दुई स्टारहरुको पक्षमा जनमत विभाजित थियो ।

सार्वजनिक कार्यक्रममा हात मिलाउँथे, सँगै बस्थे तर आत्मीयता थिएन । हङकङमा आयोजित नेफ्टा फिल्म अवार्डको अघिल्लो लहरमा बसेका यी दुई अभिनेताबीच संवाद समेत भएन ।

देखिने गरेरै यी दुईबीचको असमञ्जस्यता महसुस गर्न सकिन्थ्यो । राजेशले पनि भुवनलाई देखेपनि नदेखेजस्तै ‘ब्वायकट’ प्रयास धेरैपटक गरेका छन् । भुवन पनि खुलेर बोलेका देखिएनन् । यी दुईजना एउटा तस्वीरमा अटाउन दुर्लभ कुराजस्तै थियो ।

तर, कम्पासको सुई अहिले एकसय असी डिग्री बिपरित घुमेको छ । पछिल्लो समय भुवन र राजेशबीचको सम्बन्ध एकाएक हार्दिक बन्न थालेको छ । भुवनले राजेशलाई कार्यक्रममा निम्तो दिन थालेका छन् अनि राजेशले पनि सहभागिता जनाउन थालेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि भुवनले पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीसँग भएको फिल्म पर्यटनबारेको छलफलमा राजेशलाई लिएर गएका थिए । फिल्म क्षेत्रको तर्फबाट राजेशले कुरा गरेका थिए ।

साथै, भुवन बोर्ड अध्यक्ष बनेपछि हमालले सुझावसहित शुभकामना समेत दिएका थिए ।

भुवन जज बनेको टिभी कार्यक्रम ‘सुपर डान्सर नेपाल’को अतिथि जजमा समेत उनले राजेशलाई निम्तो दिएका छन् । उक्त एपिसोड छायांकन समेत बनेको छ ।

सोही कार्यक्रममा छायांकन भएको तस्वीर सेयर गर्दै भुवनले लेखेका छन्, ‘साथीको लागि यो हात सलाम छ, दुश्मनको लागि यो हात फलाम छ । दोस्ती ।’ सम्भवतः पहिलोपटक सार्वजनिक प्लेटफर्ममार्फत भुवनले राजेशसँगको उतारचढावपूर्ण सम्बन्धलाई दोस्ती करार गरेका छन् ।

भुवन बोर्डमा पुगेपछि राजेशसँग देखिएको एकाएकको यो सानिध्यता र दोस्तीलाई अर्थपूर्णरुपमा लिइएको छ । भुवनले भनेजस्तो हमालसँगको यो दोस्तीले के नेपाली फिल्ममा जादू गर्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?