+
+

फुटपाथमा पातला आउटडोर बक्स राखिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते ११:१४

२१ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा पातला आकारको ‘आउटडोर क्याबिनेट बक्स’हरु राख्ने भएको छ ।

यसअघि फुटपाथ छेकिने गरी राखिएका ठूला क्याबिनेट बक्स हटाएर पालता आकारको क्याबिनेट बक्स राख्न लागिएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले परामर्शदातालाई अव्यवहारिक रुपमा राखिएका यस्ता बक्सहरुको रि-डिजाइन गर्न निर्देशन दिएको थियो ।

परामर्शदाताले ठूलो क्याबिनेट बक्सको साटोमा पातला आकारका क्याबिनेट बक्स राख्न सिफारिस गरेको थियो ।

फुटपाथमा हिंड्नेहरुलाई सडकमै झर्न बाध्य हुने गरी राखिएका बक्सहरुलाई अब व्यवहारिक रुपमा व्यवस्थापन गरिने निर्देशनालयका प्रमुख तारा प्रधानले बताए ।

‘रिडिजाइन स्वीकृत भएर नयाँ आकारका क्याबिनेट बक्स भित्रन थालेका छन्,’ उनले भने,’अब पुराना हटाएर नयाँ बक्स जोड्छौं ।’ उनका अनुसार अब शहरभरि नै २०० एमएम मात्रै बाक्लो रहेका बक्सहरु जोडिनेछ ।

प्राधिकरणले जथाभाबी बक्स राखेपछि सडक विभागले आपत्ति जनाएको थियो । फुटपाथमै मास्ने, काम भइरहेको स्थानमा पनि खनेको माटो असरल्ल छाड्ने, खाल्डो नपुर्ने र समयमै कालोपत्रे नगर्ने समस्या भएको विभागको गुनासो थियो ।

अहिल पनि धेरै ठाउँमा पैदलयात्रीलाई पर्खाल र आउटडोर क्याबिनेट बक्सको बीचमा च्यापिएर हिँड्नुपर्ने बाध्यता छ ।कतिपय ठाउँमा त फुटपाथ पूर्ण रुपमा ‘ब्लक’ भएको छ । निर्देशनालयका प्रमुख प्रधानका अनुसार करिब १०० वटा बक्सहरु रिडिजाइन गरेर राखिंदै छ ।

अहिले बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगञ्ज, रत्नपार्क, न्यूरोड, अनामनगर, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल, जोरपाटी क्षेत्रकाम सडकका विभिन्न स्थानमा राखिएका बक्सले पैदलयात्रुलाई समस्यामा पारेको छ । प्राधिकरणले महाराजगञ्ज र रत्नपार्कपछि कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तरगगतका क्षेत्रमा पनि तार बिछ्याइरहेको छ ।

‘नयाँ ठाउँमा फुटपाथलाई असर नगर्ने गरी बक्स राख्न क्याबिनेट बक्सलाई रिडिजाइन गरेका छौं,’ प्रधान भन्छन् । यस्ता बक्स अन्डरग्राउन्ड गरेर राख्न ठूलो खर्च लाग्ने भएकाले सडकको पेटीमै उपलब्ध ठाउँमा राख्नु परेको उनले बताए ।

‘सकेसम्म सरकारी कार्यालय र खुला सार्वजनिक जमिनमा नै बक्स राखेका छौं, तर कतिपय ठाउँमा पेटीमा राख्नुको विकल्प छैन,’ उनले भने,’त्यसैकारण पातलो बनाएर बक्स ल्याएका छौं ।’

वितरण थाल्ने तयारी

प्राधिकरणले काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण थाल्न भएको छ । करिब १ महिनापछि काठमाडौंको लाजिम्पाट क्षेत्रमा घर-घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ ।

निर्देशनालयका प्रमुख प्रधानका अनुसार महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालय आसपासका क्षेत्रमा भूमिगतलाइनबाटै बिजुली वितरण गर्न तयारी सुरु भएको हो ।

‘केही उपकरण आइपुग्दैछन्, अब ती क्षत्रेमा भूमिगत लाइनबाटै घर-घरमा बिजुली जोड्छौं,’ प्रधानले भने, ‘तार भूमिगत गर्ने काम सकिएका फिडरहरुमा क्रमशः यो काम गर्दै जाने योजना हो ।’

उनका अनुसार अहिले वितरण ट्रान्सर्फमरहरु व्यवस्थापन गर्ने काम भइरहेको छ । प्राधिकरणले सडकबाट उपभोक्ता घर र कार्यालयसम्म भूमिगत रुपमा तार लैजाने छ । र, मिटरमा जोड्ने छ । भूमिगत लाइनबाट बिजुली जोडेपनि केही महिना पोल भने हटाउने छैन ।

‘परीक्षण सफल भएपछि ओभरहेड लाइन पनि क्रमैसँग हटाउँछौं’ उनले भने । आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइनहरु चार्ज गर्ने प्राधिकरणको योजना छ ।

उनका अनुसार हिउँदमा काठमाडौंमा लोड बढेर वितरणलाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब १ लाख घरमा स्मार्ट मिटर जोडेको छ । काठमाडौको वितरणलाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यका भर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ६ महिनापछि ओभरहेड वितरणलाइन हटाउने दाबी गरेको छ ।

यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?