+
+

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते २१:२०

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । ‘अध्यक्षले अझ सुरक्षित क्षेत्र खोज्नुपर्छ भनेर गोरखा २ को निर्णय गरिएको हो’ एक पदाधिकारीले भने ।

पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा उठे । काठमाडौं १० मा हारेका उनी सिराहामा मुस्किलले जिते । प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए ।

यो पटक पनि उनी यही क्षेत्रबाट उठ्न चाहन्थे । उनले पटकपटक त्यही बोलेका थिए । तर सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ भने प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेको माओवादी नेताहरु बताउँछन् ।

एक पदाधिकारीका अनुसार रुकुमतिर जाने कि भन्ने छलफल समेत भएको थियो । तर गोरखा २ नै तुलनात्मक रुपमा सुरक्षित भएकाले त्यही उम्मेदवार बनाउने निर्णय भएको ती पदाधिकारीले बताए ।

यो क्षेत्रबाट अघिल्लो पटक डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए । हाल भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको छ भने भट्टराई आफैं यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका छन् ।

यो क्षेत्रबाट टिकटका आकांक्षी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठ पनि प्रचण्ड आउने भएपछि चुनाव नलड्न सहमत भए ।

सत्ता गठबन्धनमा रहेको कांग्रेसका सुरेन्द्र पाण्डेले पनि टिकटको दाबी गर्दै आएका छन् । तर प्रचण्ड चितवन ३ छाडेर गोरखा २ जाने भएपछि कांग्रेस नेतृत्वले सहमति जनाएको गठबन्धनका नेताहरु बताउँछन् ।

कस्तो छ अंकगणित ?

३० वैशाखको स्थानीय निर्वाचनअनुसार गोरखा २ मा माओवादी केन्द्र पहिला दल हो । वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा माओवादीले २२ हजार २५० मत छ । कांग्रेस हाराहारीमा छ । उसका वडाध्यक्ष उम्मेदवारहरुले २१ हजार १३६ मत छ भने जसपाको ७ हजार ५०४ मत छ ।

नेकपा एमालेको ७ हजार ९२६ मत छ । अरु दलको मत हजार कटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?