+
+

सत्ता गठबन्धनसँग भिड्न एमालेको पनि मोर्चाबन्दी

प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्दैगर्दा सत्ता गठबन्धन बलियो भएकाले एमालेसँग प्रतिस्पर्धा एकपक्षीय हुने देखिएको थियो । तर उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म आइपुग्दा एमालेले पनि बलियो मोर्चाबन्दी गरेको छ र, गठबन्धनलाई राम्रै टक्कर दिने देखिन्छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ असोज २२ गते २२:०३

२२ असोज, काठमाडौं । उम्मेदवारी दर्ताको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमति पत्रमा हस्ताक्षर गरे । यससँगै ४ मंसिरको चुनावमा सत्ता गठबन्धनसँग भिड्न एमालेले बलियो साझेदार पाएको छ ।

२८ असार २०७८ को सर्वोच्च अदालतको फैसलापछि सत्ताबाट हटेसँगै एमाले निरन्तर दबावमा थियो । ३० वैशाख २०७९ मा भएको स्थानीय निर्वाचनमा पनि एमालेले सत्तारुढ पाँच दलीय गठबन्धनको सामना गर्नु परेको थियो । त्यही कारण २०७४ मा २९६ पालिका जितेको एमाले २०७९ को चुनावमा २०५ सिटमा खुम्चिएको थियो ।

१९ साउनमा मन्त्रिपरिषदले ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव घोषणा गर्दा पनि एमालेले बलियो साझेदार भेट्टाएको थिएन । राप्रपा र राप्रपा नेपाल मात्र सम्वादमा थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समेत एमालेको साटो सत्ता गठबन्धनसँगै सहकार्य गर्न रुची देखाएको थियो ।

तर उम्मेदवारी दर्ताको अघिल्लो दिन आइपुग्दा एमालेले सत्ता गठबन्धनसँग भिड्न तराई मधेशको बलियो साझेदार पाएको छ । बिहीबारसम्म सत्ता गठबन्धनमा रहेको जसपालाई आफूतिर ल्याएर १४ जिल्लाका ५२ प्रतिनिधिसभा र ११२ प्रदेशसभा सिटमा तालमेल गर्न लिखित सहमति गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि आफूहरुका लागि हिजोभन्दा थप अनुकलता सिर्जना भएको बताउँछन् । जसपा आफूहरुतिर आएसँगै सत्ता गठबन्धन स्वार्थको जगमा उभिएको समूह हो, स्वार्थ टकराउनेवित्तिकै चिरा पर्छ भन्ने आफूहरुको विश्लेषण सही प्रमाणित भएको उनको भनाइ छ।

एमालेले राप्रपासँग झापा, बाँके र रुपन्देहीमा तालमेल गरेको छ भने राप्रपा नेपालसँग मकवानपुरमा । राप्रपासँग थप जिल्लामा पनि तालमेलको प्रयास भइरहेको एमाले नेताहरु बताउँछन् । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई त प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा प्राथमिकताका साथ राखेको छ ।

तराई मधेसका जिल्लामा बलियो प्रभाव भएको जसपा तथा देशभर संगठन भएको तर तुलनात्मक रुपमा कम मत भएको राप्रपासँग मोर्चाबन्दी गरेपछि एमालेलाई ४ मंसिरको चुनावमा सत्ता गठबन्धनको बलियो प्रतिस्पर्धी मानिएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि आफूहरुका लागि हिजोभन्दा थप अनुकलता सिर्जना भएको बताउँछन् । जसपा आफूहरुतिर आएसँगै सत्ता गठबन्धन स्वार्थको जगमा उभिएको समूह हो, स्वार्थ टकराउनेवित्तिकै चिरा पर्छ भन्ने आफूहरुको विश्लेषण सही प्रमाणित भएको भन्दै उनले भने, ‘प्रतिगमन, संविधानमाथि आक्रमण जस्ता जे भाष्य निर्माण गरिएको थियो, सत्ताको म्याद सकिएर नयाँ निर्माण हुने बेलासम्म आइपुग्दा त्यसको सान्दर्भिकता सकिएको छ ।’

आरजु देउवा राणा, प्रकाशशरण महतहरु समानुपातिकमा बस्ने, माओवादी अध्यक्ष प्रचण्डले चितवन–३ छाडेर गोरखा–२ रोज्ने कदमले गठबन्धनमा विश्वासको संकट देखाएको भन्दै ज्ञवालीले भने, ‘हिजो एकदमै एकतावद्ध हुँदा पनि सामना गर्छौं भनेका थियौं । हिजो भन्दा अनुकुलता सिर्जना भएको छ । गठबन्धन चोइटिएको छ, हाम्रा सहयात्री थपिएका छन् ।’

गठबन्धनसँग एक्लै लड्दासमेत लोकप्रिय मत ४० प्रतिशत पुर्‍याउने र प्रत्यक्षतर्फ ९० हारहारी सिट जित्ने लक्ष्य लिएको भन्दै उनले भने, ‘त्यो विश्वास आज अझ बढेको छ ।’

माओवादी नेता शक्ति बस्नेत भने दुई गठबन्धनको प्रतिस्पर्धामा एजेण्डाले हार जित निर्धारण गर्ने बताउँछन् ।

‘को मान्छे कता गए ककसको बीचमा गठबन्धन भयो भन्दा पनि एजेण्डाले निर्धारण गर्छ’, बस्नेतले भने, ‘हाम्रो गठबन्धन वाम लोकतान्त्रिक गठबन्धन हो, त्यो (नेकपा एमाले नेतृत्वको) गठबन्धन दक्षिणपन्थी गठबन्धन हो । एउटाले संविधान र प्राप्त उपलब्धीलाई सीमित राख्ने भन्छ, हामी रक्षा गर्ने ।’ आफूहरुको एजेण्डा बलियो रहेको भन्दै नेता बस्नेतले थपे, ‘यो गठबन्धन त भारी मतका साथ विजयी हुन्छ ।’

३० वैशाखमा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्दा कांग्रेस गठबन्धन प्रतिनिधिसभाको १२४ क्षेत्रमा अगाडि देखिन्छ भने एमाले गठबन्धन ४९ र नेपाल मजदुर किसान पार्टी एक क्षेत्रमा ।

जसपा पनि सत्ता गठबन्धनमा हुँदा र एमालेले एक्लै प्रतिस्पर्धा गर्नुपर्दा ऊ जम्मा ९ सिटमा अगाडि हुन्थ्यो । राप्रपा र राप्रपा नेपाल जोडिएपछि यो सिट बढेर १७ पुगेको छ भने जसपा सत्ता गठबन्धनबाट हटेर एमालेतिर पुग्दा ४९ भएको छ ।

साथै माओवादी र एकीकृत समाजवादीले पाएको कतिपय क्षेत्र जोगाउन सत्ता गठबन्धनलाई सहज छैन । सत्तारुढ गठबन्धनको भागवण्डामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले १९ सिट पाएको छ । स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत हेर्दा अधिकांश क्षेत्रमा सत्तारुढ गठबन्धन अगाडि छ । तर एकीकृत समाजवादीको आफ्नै मत कमजोर भएकाले गठबन्धनका अरु दलको भोट पाएर जित्न सहज छैन ।

माओवादी केन्द्रले ४४ सिट पाएको छ । त्यसमध्ये ३३/३४ सिटमा गठबन्धन अगाडि छ भने कांग्रेसले पाएको सत्ता गठबन्धनमा रहेको ८६ सिटमध्ये करिव ६३ ठाउँमा गठबन्धन अगाडि छ । तर त्यो सबै जोगाउन सहज छैन । खासगरी एमालेले मधेशमा पार्टी प्रवेश अभियान चलाएको छ र तेस्रो शक्तिका रुपमा रहेको जसपालाई आफूतिर लगेपछि मधेश प्रदेशको हिसाब फेरिएको छ ।

सत्ता गठबन्धनले जसपाको ठाउँमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गरेको छ । तर पछिल्लो समय एकपछि अर्का नेता अधिकांश एमाले, केही कांग्रेसतिर जाँदा कमजोर बनेको लोसपाले जसपा बाहिरिँदा हुने क्षतिको पूर्ति गर्ने अवस्था देखिँदैन ।

सिट बाँडफाँटका कारण सत्ता गठबन्धनका दलहरु खासगरी कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ । डोटी लगायतका जिल्लाहरुमा स्वतन्त्र उम्मेदवारी नै दिने तयारी भएको छ, जसको प्रत्यक्ष/अप्रत्यक्ष लाभ एमालेले उठाउन सक्छ ।

एमालेमा पनि असन्तुष्टिका स्वरहरु सुनिएको छ । पूर्वउपमहासचिव घनश्याम भूसालले पार्टी छाडेको घोषणा गरेका छन् भने पूर्वउपाध्यक्ष भीम रावल पनि असन्तुष्ट छन् ।

सुनसरी क्षेत्र नम्बर १ जसपालाई छाडेकोमा असन्तुष्ट नेताहरुले स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । तर अध्यक्ष केपी शर्मा ओलीको एकल पकड भएको एमालेमा तालेमल वा टिकट वितरणका कारण उत्पन्न हुने असन्तुष्टि सत्ता गठबन्धनका दलहरुमा भन्दा कम नै हुनेछ ।

सत्ता गठबन्धनमा रहेको कांग्रेसका एक नेता भन्छन्, ‘चुनाव घोषणा गर्दैगर्दा चुनाव एकपक्षीय त देखिन्थ्यो । तर अहिले एमाले प्रतिस्पर्धीका रुपमा आएको छ ।’ प्रत्यक्षतर्फ कांग्रेसले धेरै सिट जिते पनि समानुपातिकमा एमालेले उछिन्न सक्ने हुनाले हाराहारीको दल बन्नसक्ने उनको विश्लेषण छ । माओवादी नेताहरु भने जसपासँग तालमेल गरेर तराई मधेसमा प्रतिस्पर्धामा आएपनि अरु क्षेत्रमा एमालेसँग बलियो साझेदार नभएको बताउँछन् । एक नेता भन्छन्, ‘धेरै गाउँमा जोगिएर आउन चुनौतीपूर्ण छ । त्यसैले एमाले पहिलो पार्टी त बन्दैन, तर समानुपातिकको बलमा दोस्रो पार्टी हुनसक्छ ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?