+
+

जब देउवाले काठमाडौं–४ को टिकट नैनसिंह महरलाई दिए …

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते २१:४०

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको टिकट वितरणमा संलग्न महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबैको चाहना थियो, अर्थविद् स्वर्णिम वाग्लेलाई जसरी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने ।

सक्रिय राजनीति गर्न विश्व बैंकको जागिर छाडेर आएका स्वर्णिमको नाम चितवन क्षेत्र नम्बर १ बाट सिफारिस पनि भएको थियो । यो क्षेत्रबाट अर्का अर्थविद् एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल लगायतको नाम पनि सिफारिस भएको थियो ।

स्वर्णिमले काठमाडौं क्षेत्र नम्बर ५ र गोरखा १ मा भएपनि उठ्न चाहेका थिए । टिकट वितरणमा संलग्न महामन्त्रीद्वय गगन र विश्वले भने अन्तिमसम्म उनलाई टिकट दिनुपर्ने अडान लिएका थिए । सुरुमा उनीहरुको जोड चितवन–१ नै थियो । तर पार्टी सभापति शेरबहादुर देउवा सकारात्मक देखिएनन् ।

काठमाडौं–५ मा प्रदीप पौडेलको नाम आयो । उनको नाम तनहुँ–२ बाट सिफारिस भएको छ र उनी त्यही चुनाव लड्न चाहन्थे । तर कांग्रेस स्रोतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलमा शंकर भण्डारीलाई क्षेत्र नम्बर २ को टिकट दिएर प्रदीपलाई काठमाडौं–५ मा ल्याइयो । स्वर्णिमले कतै पनि टिकट नपाउने अवस्था भयो ।

महामन्त्री गगनको नाम भने काठमाडौं ४ सँगै सर्लाही ४ बाट सर्वसम्मत सिफारिस भएको थियो । उनले कहाँबाट चुनाव लड्ने भन्ने निर्णय दिएका थिएनन् । सर्लाहीको उम्मेदवारबारे छलफल हुँदा पनि उनको नाम कायमै राखिएको थियो ।

त्यसैले उनले स्वर्णिमलाई काठमाडौं ४ छाड्न तयार हुने समेत बताएको एक नेताले बताए । ती नेता भन्छन्, ‘स्वर्णिमलाई काठमाडौं ४ को उम्मेदवार दिएको भए गगनजी सर्लाही जान सक्नुहुन्थ्यो, यसबारे उहाँले कुनै निर्णय गर्नु भएको थिएन ।’

त्यहीबेला पार्टी सभापति शेरबहादुर देउवाले भने केन्द्रीय सदस्य नैनसिंह महरलाई बोलाएर काठमाडौं ४ को टिकट थमाए । महर अनलाइनखबरसँग भन्छन्, ‘टिकटका लागि विहान मुख्य सचिव र पार्टी सभापतिले बोलाएर बालुवाटार गएको हुँ ।’

जबकी स्वर्णिमले टिकट नपाएको अवस्थामा गगनले काठमाडौं ४ छाड्ने अवस्था थिएन । आइतबार विहान उनले आफू काठमाडौं ४ बाटै उठ्ने बताएपछि नैनसिंहको टिकट खोसियो । दुई पटक चुनाव जितेका गगन नै उम्मेदवार बने ।

त्यसपछि देउवा निकट नैनसिंहलाई काठमाडौं ३ मा उम्मेदवार बनाउने छलफल भएको थियो । तर यहाँ पनि सन्तोष चालिसेलाई उम्मेदवार बनाइएको छ ।

महरको नाम भने कैलाली ४ बाट सिफारिस भएको थियो । महर आफूलाई अन्याय भएको बताउँछन् । कार्यसम्पादन समिति आफैंले बनाएको मापदण्ड विपरीत गएको र युवाहरुलाई पार्टीमा अवसर नदिइएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?