+
+

दाङ २ : शंकर पोखरेल र रेखा शर्मामध्ये को बलियो ?

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ असोज २३ गते १९:५२

२३ असोज, दाङ । आसन्न प्रतिनिधिसभा चुनावका लागि आइतवार एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट मनोनयन दर्ता गराए । सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्माले पनि उम्मेदवारी दर्ता गराइन् । सुरुमा माओवादीका कृष्णबहादुर महरासँग पोखरेलको भिडन्त हुने चर्चा चले पनि महरा पछि हट्दा शर्माले अवसर पाइन् ।

महराले ठाउँ छाडेसँगै शर्मा र एमालेका महासचिव पोखरेलबीच कस्तो प्रतिस्पर्धा होला भन्ने विभिन्न आकलन सुरू भएको छ । शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलको साथ छ भने एमालेका उम्मेदवार पोखरेल एक्लै उभिएका छन् ।

पोखरेल एमालेका महासचिव र केन्द्रमा प्रभुत्व राख्ने हेभिवेट नेता मानिन्छन् । शर्मा विगतमा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेकी नेता हुन् । यी दुईबीचको प्रतिस्पर्धा पेचिलो हुने देखिन्छ ।

एमालेका नेताहरु भने महरा उम्मेदवार नहुने भएपछि पोखरेललाई सहज भएको बताउँछन् । एमालेका नेता गेहेन्द्र बस्नेत भन्छन्, ‘दुई हेभिवेटका नेताहरूबीच प्रतिस्पर्धा हुन्थ्यो भने निर्वाचन नतिजा केही फरक हुनसक्थ्यो । महराले मैदान छोडेपछि अब शंकरलाई प्रतिस्पर्धा गर्न सहज भएको छ ।’ उनले पोखरेल केन्द्रस्तरमा राम्रो पकड राख्ने हेभिवेट भएका एकमात्र नेता भएकाले जनताले शंकरलाई नै जिताउने उनी बताउँछन् ।

सत्तारुढ गठबन्धनलाई चिर्दै एक्लै जित निकाल्नु शंकरलाई सजिलो देखिदैन । त्यसो त पोखरेलको विगतको निर्वाचन हेर्दा पनि शंकरले चुनाव जितेको इतिहास कमै छ ।

०५१ सालपछि पोखरेल प्रत्यक्ष निर्वाचन जितेर संघीय सांसद बनेका छैनन् । उनी ०५१ सालमा दाङ २ बाट निर्वाचन जितेर पहिलो पटक प्रतिनिधि सभाका सदस्य भएका थिए । ०५६ सालमा उनी क्षेत्र २ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए । ०६४ सालमा संविधानसभा निर्वाचनमा पोखरेल समानुपातिकबाट सांसद बने । त्यसपछि ०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भए ।

०७४ को निर्वाचनमा भने उनी प्रदेशमा झरे । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्र कृष्णबहादुर महरालाई छाडेर पोखरेल प्रदेशसभामा उम्मेदवार बनेका थिए । तत्कालीन वाम गठबन्धनको साथले पोखरेलले कांग्रेसका कमल किशोर घिमिरेमाथि विजयी हात पार्दै उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री पनि बने ।

पोखरेललाई यसपटको निर्वाचन प्रत्यक्ष लडेर (समानुपातिक बाहेक) संघीय सांसद हुने यो दोस्रो अवसर हो ।

राजनीतिक विश्लेषक सर्जन गौतमले पोखरेलको विगतको निर्वाचन हेर्दा पनि चुनाव जितेको लामो इतिहास नभएको बताए । त्यसमाथि कांग्रेसको गढ भएको क्षेत्रमा एमालेलाई एक्लैलाई जित निकाल्न मुश्किल पर्ने उनी बताउँछन् । तर गठबन्धनभित्र हुन सक्ने अन्तर्घात र शंकर हेभिवेटको नेता भएकाले केही मत उनलाई जान सक्ने गौतम बताउँछन् ।

माओवादी केन्द्रका नेताहरु भने शर्मालाई चुनाव जित्न सहज भएको दावी गर्छन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी शर्मा पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् ।

शर्मालाई पनि पार्टीको महासचिव भइसकेका शंकर पोखरेलसामु जित निकाल्न सजह देखिदैन । गठबन्धनमा हुने अन्तर्घातले चुनावी परिणाम फरक आउने सक्ने राजनीतिक वृतमा आकलन छ । वैशाख ३० गतेको स्थानीय तहको चुनाव हेर्दा पनि गठबन्धनमा भएको अन्तर्घातले शर्मालाई अप्ठेरो पर्ने देखिन्छ । गत स्थानीय तहको चुनावमा घोराही र तुलसीपुर उपमहानगरमा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका थिए ।

यस्तो छ चुनावी अंकगणित

३० वैशाखको स्थानीय तह निर्वाचनको अंक गणित हेर्दा एमालेलाई केही सहज देखिन्छ । दाङ २ ले घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिकासहित तुलसीपुर उपमहानगरपालिका ४ वटा वडा समेट्छ । स्थानीय तहको चुनावमा एमाले उम्मेदवारलाई जिताएर पोखरेलले संघीय चुनावका लागि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गरिसकेका छन् ।

स्थानीय तहको निर्वाचनको आधारमा क्षेत्र २ मा पर्ने घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमालेले जित निकालेको थियो । गठबन्धनबाट माओवादीका उम्मेदवार हेमराज शर्मा डायमण्डलाई पाँच हजार मतान्तरले पराजित गर्दै एमालेका नरुलाल चौधरी निर्वाचित भएका थिए । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३३८ मत प्राप्त गरेका थिए । स्थानीय तहको मत अनुसार घोराहीमा एमाले गठबन्धनभन्दा पाँच हजार मतले अगाडि देखिन्छ ।

क्षेत्र नं. २ मा पर्ने बगलाचुली गाउँपालिकामा भने एमाललेलाई हराउँदै सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएको थियो । गठबन्धनबाट माओवादीका उम्मेदवार तुलसीराम पुन (सुवास) ले ५ हजार ७ सय मत प्राप्त गर्दै विजयी प्राप्त गरेका थिए । एमालेका उम्मेदवार भेषराज खत्रीले ३ हजार ६७८ मत ल्याएका थिए । गठबन्धनबाट माओवादीका उम्मेदवार पुनले एमालेका खत्रीले दुई हजार ७१ मतान्तरले पराजय गरेका थिए ।

क्षेत्र नं. २ मै पर्ने तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामध्ये १७ मा एमाले र १८, १९ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने क्षेत्र नं.२ एमालेको पक्षमा देखिन्छ । यस हिसाबमा पोखरेललाई चुनावी अंग गणित अनुसार चुनाव जित्न सहज देखिन्छ । तर पाँच दलीय गठबन्धनको मर्मअनुसार मत खसेमा भने क्षेत्र नम्बर २ मा पोखरेल अफ्ठेरोमा पर्ने देखिन्छन् । सो क्षेत्रमा कांग्रेस बलियो छ । २०५६ सालको क्षेत्र नं. २ बाट पोखरेललाई नै हराउँदै नेपाली कांग्रेसका कृष्णकिशोर घिमिरे निर्वाचित भएका थिए ।

तर कांग्रेसभित्रको गुटबन्दी र गठबन्धनका दलभित्र इमान्दारिता नदेखिने हुँदा पोख्रेललाई फाइदा पुग्न सक्ने पनि कतिपयको अकालन छ । ‘गठबन्धनको मर्मअनुसार स्थानीय तहको निर्वाचनमा पनि दलहरुको इमान्दारिता देखिएन । यो निर्वाचनमा पनि यही प्रवृति नदेखिएला भन्न सकिदैन’ नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तले भने, ‘यसले पनि पोखरेललाई निर्वाचन जित्न सक्ने सम्भावना रहन्छ ।’ तर गठबन्धनका दलहरु इमान्दार भएमा शंकरलाई चुनाव जित्न अप्ठेरो पर्ने उनले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?