+
+

काठमाडौं महानगरले थप शर्त राख्दा स्मार्ट सडक बत्ती जोड्न ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १४:१५
फाइल तस्वीर

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा स्मार्ट ‘स्मार्ट स्ट्रिट लाइट’ सडक बत्ती जडानमा ढिलाइ भएको छ । विद्युत् प्राधिकरणसँग काठमाडौं महानगरपालिकाले नयाँ शर्तहरु राखेपछि सडक बत्ती जडानमा ढिलाइ भएको हो ।

सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भनिएको थियो ।

त्यसअनुसार विद्युत् प्राधिकरणले बोलपत्र आह्वान गरेर ठेकदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । तर, काठमाडौं महानगरपालिकाले विभिन्न शर्तहरु अघि सारेपछि ठेक्का दिने प्रक्रिया अलमलमा परेको छ । पछिल्ला दिनमा सडक बत्तीको पुरानो महसुलबारे प्राधिकरण र काठमाडौं महानगरपालिकाबीचको विवादले पनि समस्या भएको छ । महानगरपालिको करिब २ अर्ब सडक बत्तीको महसुल तिर्न बाँकी छ ।

विद्युत् प्राधिकरणको ऊर्जा दक्षता विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार काठमाडौं महानगरपालिकाको मागअनुसार केही दिनमै पुरक सम्झौता हुनेछ । त्यसपछि सडक बत्ती जडानको काम प्रक्रिया अघि बढ्ने उनले बताए ।

पुरानो सहमतिपत्रअनुसार काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।

‘आफूहरुलाई क्रेडिट मिल्ल्ने गरी ६० प्रतिशत क्षेत्र महानगरले बत्ती जोडेको भनेर छुट्याउनुपर्ने उहाँहरुको माग हो,’ उनले भने, ‘सबै पोलमा महानगरपालिका र विद्युत् प्राधिकरणको नाम राखेर बत्ती जोड्न हामी तयार छौं, यहो सहमति गरेर बत्ती जडानको काम अघि बढ्छ ।’

पुरानो सहमतिअनुसार लागत अनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत् प्राधिकरणले गर्नेछ । आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले भनिएको छ ।

सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने सहमति छ । नयाँ सडक वत्तीहरुको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै पुर्नप्रयोगको व्यवस्था गर्ने लगायतका विषय पनि सहमतिपत्रमा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ चलाइरहेको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने योजना छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा सडक बत्ती जोडिरहेको छ ।

स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत् प्राधिकरणमै राखिएको छ । कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रुपमा बल्ने र निभ्ने हुन्छ । यो प्रणालीबाट विद्युत् खपत पनि कम हुन्छ ।

सडकमा सोलार वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिन्छ । मध्यरातमा सडकमा मान्छे र सवारीको आवतजावत कम हुँदा लाइनमा रहेका ४ मध्ये एउटा मात्रै लाइट बल्छ ।

यो लाइट साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?