+
+

निर्वाचन आयोगको आचारसंहिता पालना गराउन सुरक्षा निकायलाई निर्देशन

बाढी पहिरोको स्थलगत अवलोकन गरी रिपोट पेश गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १९:५४

२६ असोज, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बुधबारबार सिंहदरवारस्थित गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा मुख्यगरी केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुर्‍याएको क्षति र आगामी मंसिर चार गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको छ ।

उनले हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिए । त्यसको टोलीको समन्य गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेबारी दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

यस्तै गृहमन्त्री खाणले सुरक्षा चुनौती पहिल्याएर समाधान गरेर अगाडि बढ्ने रणनीतिसाथ अगाडि बढ्न सुरक्षा निकायलाई निर्देशन दिए ।

सरकारले तत्कालका लागि उपलब्ध गराउनु पर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालिन समाधानका लागि टोलीको रिपोट आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाणले बताए । बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो ।

त्यस्तै बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा निर्वाचनका चुनौतिबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए । ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखहरूले आग्रह गरेका थिए ।

कहाँ कहा के सुरक्षा चुनौती छन् र ती चुनैतिलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्टी गर्ने प्रस्ता बैठकमा गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो ।

मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहतिको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला जिल्लामा पठाएको छ । त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचनको तयारी गरिरहेका छन् ।

गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?