+
+

किन महँगिएर आए जाडोका सामान ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १९:३४

२७ असोज, काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको एफ क्यूब फेन्सी स्टोर्सले महिला र पुरुषका लागि खेलकुद सामग्री बिक्री गर्छ । चिसो मौसम नजिकिएसँगै शारीरिक अभ्यासका लागि चिसोमा लगाउने कपडा लगायतका सामान किन्न उनको स्टोरमा ग्राहकहरु बढ्न थालेका छन् ।

स्टोर्सका सञ्चालक पुजन बस्नेतकाअनुसार ग्राहकहरुको गुनासो एउटै छ, ‘सामानहरु पोहोरभन्दा महँगियो’ । ग्राहकको गुनासोहरुलाई थप पुष्टि गर्ने विवरण बस्नेतसँगै छ । उनी थप्छन्, ‘प्रति थानमा गत वर्षभन्दा ४ सय रुपैयाँ कम्तीमा मूल्य बढेको छ ।’ यो अहिलेका लागि मात्रै हो नयाँ सामान हाल्दा मूल्य झनै बढ्ने अवस्था छ । ’

कोभिड–१९ महामारी र विश्व आर्थिक मन्दीका कारण बिग्रिएको अन्तर्राष्ट्रिय अर्थतन्त्रका कारण माल वस्तु पोहोरभन्दा महँगिएको र अझै महँगिदै गएको जानकारी होलसेलहरुले गराएको बस्नेतको दावी छ । सामान किन्ने मुलुकदेखि ढुवानी भाडासम्म महँगो हुँदा यो वर्षको जाडोमा प्रयोग हुने सामान झनै महँगो हुने उनको भनाइ छ ।

काठमाडौंकै नयाँ बजारमा स्मार्ट फेन्सी नामक रेडिमेट कपडाको पसल सञ्चालन गर्ने व्यवसायी राजेन्द्रबाबु श्रेष्ठ पनि जाडोका कपडा पहिले भन्दा महँगो भएको र यो थप महँगिदै जाने अवस्था बनेको बताउँछन् । गत वर्ष भन्दा अहिले होलसेलमै उनको पसलले बिक्री गर्ने महिला र पुरुषले लगाउने जाडोका कपडा १५० रुपैयाँसम्मले महँगिएको छ ।

‘पेट्रोलियम पदार्थको बढ्दो मूल्य र डलरका कारण लत्ता कपडा झनै महँगो हुने भन्दै होलसेलहरु पनि आत्तिएका छन्,’ स्टोर्सका सञ्चालक श्रेष्ठ थप्छन्, ‘अहिले भएका कपडा पोहोर भन्दा केही थोरै महँगा छन् तर अब थप महँगो हुने अवस्था देखिएको छ ।’ दशैंमा व्यापार उल्लेख्य नभएका कारण जाडोको व्यापारमा पनि शंका बाँकी नै रहेको श्रेष्ठले बताए ।

कच्चा पदार्थको मूल्य बढ्दा नेपालमै उत्पादन हुने नेपाली उत्पादनदेखि आयात हुने वस्तुसम्मको भाउ डलरका कारण वृद्धि हुने अवस्था बनेको पनि उनको दावी छ ।

डलरको मूल्य उच्च हुँदा केही दिनको फरकमा खोलेको प्रतितपत्रमै लगानी मूल्य बढेको आयातकर्ता ठूला व्यापारीहरु बताउँछन् ।

गत वर्ष औसत प्रति एक अमेरिकी डलर १२६ रुपैयाँमा गरिएको लगानी अहिले १३२ रुपैयाँसम्म पुगेको हिमालय सीमापार व्यापार संघका सचिव रामचन्द्र पराजुली बताउँछन् ।

डलरको मूल्यका उत्पादक मुलुकमै वस्तुको मूल्य ७ देखि १६ प्रतिशतसम्म बढेको उनले बताए । ‘उत्पादक मुलुकदेखि होलसेल हुँदै ग्राहकसम्म पुग्दा यो वर्ष जाडोको सामान नयाँमा १६ प्रतिशतसम्म महँगिन सक्छ,’ पराजुली थप्छन्, ‘अहिले आइसकेको सामानमा भने त्यो मूल्य कायम हुन्न ।’

बढ्दो लागतका कारण जाडोका लत्ता कपडा १० देखि १२ प्रतिशत र फुटवेयरका वस्तु १६ प्रतिशतसम्म महँगो हुने व्यवसायीहरुको अनुमान छ । यसका अलवा विद्युतीय सामग्री र अन्य वस्तुहरुमा पनि खरिद लागत बढेको पराजुली बताउँछन् । जाडो मौसमका लागि सस्तोमा विद्युतीय तथा लत्ता कपडा खरिद गर्न अहिले नै उपयुक्त समय हुनसक्ने पनि पराजुलीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?