+
+

रुपन्देही–२ का निर्वाचन अधिकृतमाथि सत्तारुढ गठबन्धनले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते २०:४३

२६ असोज, बुटवल । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज निर्णय सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

गठबन्धनका उम्मेदवार गुरुङविरुद्ध कुनै उजुरी नपरेको अवस्थामा कुनै संस्थाले भनेको आधारमा उम्मेदवारी खारेज गरेको भन्दै राजनीतिक पूर्वाग्रह राखिएको गठबन्धनको दावी छ । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ मा गठबन्धन दलहरुले बुधबार ज्ञापनपत्र बुझाउँदै निर्वाचन अधिकृतको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरुले निर्वाचन अधिकृतलाई हटाउन पनि माग गरेका छन् ।

नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र न. २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादी रुपन्देहीका उपाध्यक्ष चीनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त रुपमा निवेदन दिँदै राजु गुरुङको उम्मेदवारी खारेजको निर्णय सच्याउन माग गरेका हुन् ।

उनीहरुले निर्वाचन अधिकृत उदवीर नेपालीको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् । ‘तपाईं राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नीजि सचिवालयबाट काजमा आएको हुँदा तपाईले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा हामी दलहरु विश्वस्त छैनौं’– ज्ञापनपत्रमा भनिएको छ । दलहरुले निर्णय र कार्यतालिका नसच्याए दुर्घटना हुनसक्ने चेतावनी समेत दिएका छन् । ज्ञापनपत्रमा गुरुङको मुद्धा अदालतमा विचाराधीन रहेको समेत उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले बैंकिङ कालोसूचीमा रहेको भन्दै मंगलबार गुरुङसहित हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भूसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज गरेको सूचना निकालेको थियो ।

हेर्नुहोस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?