+
+

बायर्न, नापोली र क्लब ब्रुग नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते ८:३०

२७ असोज, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब नापोली र बेल्जियन क्लब ब्रुग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । बुधबारको खेलपछि तीन क्लबले नकआउटमा स्थान पक्का गरेका हुन् । यसअघि नै म्यानचेष्टर सिटी र रियल मड्रिडले नकबउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

बुधबार राती भएको समूह सी को खेलमा भिक्टोरिया प्लेजनलाई ४-२ ले पराजित गर्दै बायर्नले दुई खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरेको हो । समहू चरणमा अपराजित बायर्नले चार खेलबाट १२ अंक जोडेको छ । भिक्टोरिया प्लेजन अंकविहिन हुँदै पुछारमा छ ।

बायर्नको जितमा लियो गोरेट्ज्काले दुई तथा साडियो माने र थोमस मुलरले समान एक गोल गरे । प्लेजनका लागि एडम भिकानोभा र क्लिमेन्टले एक एक गोल गरे ।

बार्सिलोनालाई गाह्रो

समूह सी बाट बायर्न अघि बढ्दा स्पानिस क्लब बार्सिलोनाले भने इटालियन क्लब इन्टरसँग ३-३ को बराबरी खेलेपछि नकआउट चरणको यात्रा कठिन बनेको छ । चार खेलबाट बार्सिलोना जम्मा ४ अंकसहित तेस्रो स्थानमा छ ।

बार्सिलोनाले एक जित र एक बराबरी खेल्दै ४ अंक जोडेको हो भने दुई खेलमा पराजित भएको थियो । इन्टर भने ७ अंकसहित दोस्रो स्थानमा छ ।

बार्सिलोनाका लागि रोवर्ट लेवान्स्कीले दुई गोल गरे । यस्तै उसमान डेम्बेलेले एक गोल गरे । इन्टरका लागि निकोलो बारेया, लाउटारो मार्टिनेज र रोविन गोसेन्सले गोल गरे ।

नापोलीको शान

यस सिजन नापोलीले इटालियन सिरी ए र च्याम्पियन्स लिग दुवैमा गज्जबको प्रदर्शन गरिरहेको छ । सिरी ए मा नापोली शीर्ष स्थानमा छ । च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको नापोली अपराजित छ र दुई खेल अघि नै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

समूह ए मा डच क्लब आयाक्सलाई ४-२ ले हराएपछि नापोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो । नापोलीको जितमा हिर्भिन लोजानो, गियकोमो रामस्पाडोरी, खिचा केभारास्खेलिया र भिक्टोर ओसिमहेनले एक एक गोल गरे ।

समूह चरणमा चार खेल जित्दै अपराजित रहेको नापोलीको १२ अंक छ । आयाक्स तीन अंकसहित तेस्रो स्थानमा छ ।

सालाहको कीर्तिमानी ह्याट्रिक

यस सिजन लिभरपुलका लागि खासै राम्रो हुन सकिरहेको छैन । यद्यपी बुधबार राती भने मोहमद सालाले कीर्तिमानी ह्याट्रिक गर्दा लिभरपुलले र्यान्जर्सलाई ७-१ को फराकिलो अन्तरले हरायो ।

६८औं मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान प्रवेश गरेका सालहले ६ मिनेट १२ सेकेण्डमा ह्याट्रिक गरे । जुन च्याम्पियन्स लिगकै छिटो ह्याट्रिक हो । उनले ७६औं, ८०औं र ८१औं मिनेटमा गोल गरे ।

यस्तै रोवर्टो फिर्मिनोले दुई तथा नुनेज र हार्भे इलिएटले एक एक गोल थपे । समूह ए मा तेस्रो जितपछि लिभरपुल ९ अंक जोडेर दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

क्लब ब्रुग पहिलो पटक नकआउट चरणमा

बेल्जियमको १८ पटकको लिग च्याम्पियन क्लब ब्रुग यसअघि १० पटक खेल्दा समूह्य चरण पार गर्न सकेको थिएन । यस पटक भने चार खेलपछि नै समूहको शीर्ष स्थानमा रहँदै ब्रुगले नकआउट चरणमा स्थान बनायो ।

समूह बी मा स्पानिस क्लब एट्लेटिको मड्रिड विरुद्ध बुधबार राती गोलरहित बराबरी खेलेपछि ब्रुगले दुई खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरेको हो । चार खेलमा अपराजित ब्रुगले १० अंक जोडेर शीर्ष स्थानमा छ । एट्लेटिको ४ अंकसहित तेस्रो स्थानमा छ ।

बायर लेभरकुजनलाई ३-० ले हराउँदै दोस्रो जित निकालेको पोर्टो ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग अन्तर्गत समूह डी को खेलमा टोटनहम हट्सपरले एनट्राट फ्रांकफर्टलाई ३-२ ले तथा मार्सेले स्पोर्टिङलाई २-० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?