+
+
ब्लग :

विदेशिएका सन्तानलाई आमाको पत्रः डलर पठाइदेऊ !

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०७९ असोज २७ गते १५:३१

प्रिय बाबुनानी, शुभ आशीर्वाद !

हामी बाबा–मामु आराम छौं । तिमीहरू पनि आरामै छौ भन्ने कामना गर्दछु । नेपालमा त अब चाडबाडहरू सुरु भए । दशैं सकियो; तिहार, छठ आउँदैछन् ।
चाडबाड आयो कि तिमीहरूको सम्झनाले चिथोर्न थाल्छ ।

तिमीहरू विदेश गएको पनि धेरै वर्ष भएछ, हातगोडाका औंला भाँच्दै गन्दा अत्यासै लाग्यो । यसो ऐना अगाडि उभिएको त कञ्चटनेर दुईचार वटा कपाल पनि फुलेछन् । आँखाको छेउछेउमा छाला पनि चाउरी परे जस्तो देखें । पीरले खर्लप्प खायो । म त भागें ऐनाको अगाडिबाट । बाबा त सेतो दाह्री बढे पनि कसरी ढुक्कसँग बस्न सक्नुहुन्छ कुन्नि ? उमेरमै बुढो हुने रहर, क्या !

हेर, संसारमा सूचना सञ्चारप्रविधिको विकास भयो । मानव जीवन प्राकृतिकबाट मेकानिष्टिक जीवनमा रूपान्तरण भयो । मोबाइलमा आधारित नेटवर्क र सामाजिक सञ्जालको प्रयोग बढेर गयो । भाइबर, म्यासेन्जरमा कल गर्ने लत बस्यो ।

घण्टौं कुरा हुन थाल्यो । तर, भिडियो कलमा घण्टौं कुरा गर्दा पनि खै किन हो किन, म त आफ्नो मनमा उठेका सबै भावना पोख्नै सक्दिनँ । पालो पर्खेर पँधेरामा पानी भरे जस्तो गरी पालै पालो कुरा गर्दा त, खै रमाइलो पनि लाग्दैन ।

तिमीहरूसँग फोनमा कुरा गरेर मेरो कहिल्यै धीत मरेन । मनमा लागेको कुरा मन खोलेर भन्नै नसकिने । छोराछोरीसँग पनि केवल औपचारिक, औपचारिकता निभाउन मात्रै फोन गरे जस्तो । छोराछोरीलाई सुनाउँछु भनेर लिष्ट बनायो । कुरा गर्दै जाँदा सुनाउन छुट्छ, अनि दिनभर थै थै ! कुराहरूको भारी बोकेर हिंडेको जस्तो, मात्रै ।

मलाई चिट्ठी लेख्न खुब मनपर्छ । चिट्ठी लेखाइ जीवन्त हुन्छ । चिट्ठीमा लेख्दा भावना तँछाडमछाड गर्दै उम्लिएर आउँछन् । भावनामा बग्न कति आनन्द आउँछ ! म आजकल पनि बाबाले जापानबाट लेख्नुभएका चिट्ठी फुर्सदको बेला पढेर आनन्द लिन्छु । चिट्ठी पढ्दा इमोशनल हुन्छु । पढेर रमाउँछु । तिनताकाको जीवन प्राकृतिक थियो । फोन थिएन, मोबाइल र ईमेलको कुरै भएन । हुलाकीले कहिले चिट्ठी ल्याउँला भनेर कुर्नुपर्दथ्यो । कुर्दा पनि रमाइलो हुने क्या !

चिट्ठी लेख्दा त मनका कुरा रित्याएर भन्न सकिन्छ नि ! तर, इमेल र फ्रिकलले त चिट्ठी लेख्ने बानी पनि छुटाइदियो । लेख्ने कला पनि बिर्साइदियो । चिट्ठी लेखे पनि कसले पढ्ने ? कसलाई पढ्ने फुर्सद छ र !

मनमा धेरै कुरा भन्न बाँकी भएर होला सधैं मन गह्रुङ्गो हुन्छ । मनमा भएका कुराहरूको पत्र–पत्र खोल्न म आज चिट्ठी लेख्न बस्दैछु । मैले बाबाले जापानमा पढ्न जाँदा मलाई लेख्नुभएको चिट्ठी जतनसँग राखेकी छु ।

आजको लेखाइ त्यहींबाट सुरु गर्छु, ल ! पढ्दा पढ्दा र काम गर्दा गर्दा थाकेको भए पनि चिट्ठी पढ्ने फुर्सद निकालौला भन्ने आशा गरेकी छु । बाबाले मलाई लेखेका चिट्ठीहरूको अंश पढ्दा तिमीहरूलाई पनि रमाइलो लाग्ला पढ ल !

प्रिय हृदयकी रानी,

नदीभन्दा लामो, सागरभन्दा गहिरो, सगरमाथाभन्दा अग्लो, ताराभन्दा चम्किलो माया र प्रेम तिमीलाई । बाबा कसरी पोखिनुभएको छ हेर त चिट्ठीमा । चिट्ठीका हरफ हरफमा लेखिएको टोकियोको दिनचर्या पढ्दा म पनि उहाँ सँगसँगै टोकियोमा छु जस्तो लाग्ने । चिट्ठीमा जस्तो फोनमा त कहाँ मनको भाव यसरी पोख्न सकिन्छ र ? निख्रने गरी ।

चिट्ठी लेखिसकेपछि अन्तिममा बाबा फेरि लेख्नुहुन्छ– ‘तिमीलाई सधैं माया गरिरहने तिम्रो राजा, तिम्रो आसिक ।’ पे्रमको एउटा किताब पढे जस्तो, एउटै चिट्ठीमा ।
म पनि के कम थिएँ र ! बाबालाई लेखेको पत्रको कार्बन बनाएर राखेकी थिएँ । पढ्छौ भने लेख्छु ल ।

मेरो मनप्रिय हृदयको राजा, मुरीमुरी माया, अटुट सम्झना !
हजुर जापान गएपछि म कहाँ नेपालमा छु र ? उतै त छु हजुर सँगसँगै । प्रेमको डोरीले तानिरहेको छ मलाई । छ्या, कस्तो लाज लाग्यो । बाबालाई लेखेको चिट्ठी तिमीहरूलाई सुनाउँदा त, भो अहिले सुनाउँदिन । नेपाल आउँदा पढ्न दिउँला बरु ।

मोबाइल फोन, फेसबुक, इमेल आएपछि त हरायो, मान्छेको सिर्जनशीलता । इमेलमा त के धेरै लेखिन्छ र ! कामको कुरा लेख्यो पुग्यो । लेख्छु भने पनि भावना नै जाग्दैन, स्वच्छन्द भएर बहकिन, उड्न पनि सकिंदैन । अनि सधैं मनको कुरा मनमा नै थुप्रिरहने ।

तिमीहरू गएपछि हामी पनि नवीन जीवन शैलीमा बाँच्न सिकिरहेका छौं । बाबा र म आफू–आफूमा गफिने र रमाउने गर्दछौं । मन परेको पकाउने, खाने, मन परेको किन्ने, लाउने । अहिले भर्खर बिहे गरे जस्तो पो भैराखेको छ ।

तिमीहरूसँग भैरहने कुराकानीले पनि राम्रै भुलाउँछ । तर, मोबाइल फोन र नेटवर्कमा तिमीहरूसँग दिनदिनै भेट भए पनि गाला छामेर कुरा नगरेको धेरै नै भयो । बात मार्दै हाँस्दै गरेका दिनहरू फेरि आउलान् र जस्तो लाग्न थालेको छ, आजकल त ।

बाबुनानी, तिमीहरू नेपालमा हुँदा एउटै कोठामा बसेर घण्टौं गफ गरेको, कुरा गर्दै हाँसेको, बाबालाई उल्याएको । उल्याएपछि बाबा मलिन अनुहार लगाउँदै उठेर हिंडेको । अनि हामीहरू मरीमरी हाँसेको सम्झना मात्रै आउँछ । सम्झनाले मनै कटक्क खान्छ । कता जाऊँ के गरुँ हुन्छ ।

थ्याच्च डाइनिङ्ग टेबलमा सँगै बसेर भात खाएको सम्झना आउँछ । खाँदै गर्दा तिमीहरूले ‘तरकारी मिठो मामु’ भन्दै मलाई माया गरेको सम्झेर रुन मन लाग्छ । ती दिनहरू कल्पेर एक्लै बस्छु म त ।

कति गरेर पकाएको भात तिमीहरूले मिठो भएन भन्दा मलाई कम्ता त रिस उठ्दैनथ्यो । तर आजकल खै, मिठो भएन कसले भन्ने ? बाबाको बानी थाहा पाएकै छौ, खानेकुराको स्वादै नभए जस्तो, चुपचाप खायो, चुपचाप उठ्यो । नीरस ।

घर बाहिर हिंड्दा पनि तिमीहरूसँग बजार घुमेको, सामान किनेको, सिनेमा हलमा फिल्म हेरेको, सामान किनिसकेर आइसक्रिम खाँदा कस्तो मज्जा हुन्थ्यो । आजकल पनि हामी बुढाबुढी किनकानपछि खान्छौं । तर कहाँ त्यस्तो रमाइलो हुन्छ र ? मज्जा पनि तिमीहरूसँगै गएछ, दुलहीसँग लोकन्ती गए झैं ।

भनुँ भने नानीबाबु, आजकल काठमाडौंको बजार जान पनि मन लाग्दैन । एकातिर तिमीहरू छैनौं, अर्कोतिर बाटोको भीड, हिलो, धुवाँधुलो र महङ्गी सम्झेर निस्कनै मन लाग्दैन । चाहिएकै छ भने अनलाइनबाट मगायो, खायो, रमायो ।

बाबा–मामुबीचको नोकझोक मिलाउन र देशको ढुकुटीमा अलिकति भने पनि विदेशी मुद्रा थप्न, डलर पठाइदेऊ ! बाबुनानी हो; देश टाटपल्टन लाग्यो, डलर पठाइदेऊ !

रसिया र युक्रेनको युद्धले बजारमा अचाक्ली महङ्गी बढेको छ । आयल निगमले तेलको भाउ बढाएको बढायै गर्छ । तेलको भाउ बढेपछि सबै चिजको भाउ बढ्ने । निगम घाटामा छ, भारतबाट नै मूल्य बढेर आएको भन्छ अनि खुरुखुरु बढाउँछ । तर हेर न भारतबाट घटेर आए पनि स्वतः समायोजन गर्दैन— पहिलेको घाटा पूरा गर्नु छ भनेर । तेलको भाउ नघटेसम्म गाडी भाडा घट्दैन, गाडीभाडा नघटेसम्म सामानको भाडा घट्दैन ।

विद्यार्थीले विरोध त गर्छन् तर काम छैन, राजनीतिक दलमाथि विश्वास नभएको बेला विद्यार्थीको विरोधप्रति जनताको के विश्वास र ! यसो उसो गर्‍यो, मर्ने त्यै सार्वभौम सोझो जनता, अनि सोझो उपभोक्ता त रहेछ !

हाम्रो देश त धेरै रोगाउँदै गएको रहेछ । सबै आर्थिक सूचक नकारात्मक बने रे ! किन नबनून् र ? तिमीहरू विदेश गएपछि गाउँको खेतबारी बाँझै छ । छरछिमेकी, इष्टमित्रका जग्गाहरूमा पनि घाँसको राज छ ।

रासायनिक मल, बीउ र सिंचाइको अभावमा खेती गर्ने प्रेरणा पनि छैन । अलिअलि लगाएको बालीनाली पनि बेमौसमी वर्षाले राम्ररी फल्न सकेन । फलाउनभन्दा किन्न सजिलो हुँदा आयात बढेको छ । समाजमा आयात आधारित खाद्यान्न र लत्ता–कपडाको उपभोग गर्ने, महङ्गा गाडी चढ्ने बानी बढेकोले जसको घरमा हेरे पनि विदेशी सामान मात्रै छन् । हाम्रो देशबाट निर्यात हुने उत्पादन नै पो के छ र ?

टिभीमा अर्थविज्ञहरू उपभोग र आयातमा आधारित अर्थतन्त्र भयो भन्छन् । सरकार भने आयात गरेर राजस्व बढेकोमा नै दङ्ग छ । देशको उत्पादन र उत्पादकत्व घटेको बुझ्ने भए पो ! आयात गरेर खाने बानी परेकाले व्यापार असन्तुलन भएको छ ।

वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स घट्दा भुक्तानी सन्तुलन पनि नकारात्मक बन्न पुगेछ । विदेशबाट सामान ल्याउँदा ल्याउँदा देशको ढुकुटीमा त अब ६ महिनाको लागि मात्रै पुग्ने डलर छ रे ! हरे शिव ।

तिमीहरू भनौला मामु कसरी अर्थतन्त्रको बारेमा यति धेरै जान्ने हुनुभयो । सब, बाबाको संगतको फल हो । पर्यटन व्यवसायबाट धेरैले रोजगारी पाएका थिए । अहिले युवाहरू बेरोजगार भएका छन् । कोभिड मत्थर हुँदा पनि घटेको विदेशी पर्यटक आगमन बढ्न सकेको छैन ।

विश्वभर देखिएको आर्थिक बजारको उथलपुथलले नेपाली रुपैयाँको मूल्य पनि दिनदिनै अवमूल्यन भएर गएको छ । बाबाले भन्नुभएको १ अमेरिकी डलर बराबर १३०–१३१ रुपैयाँ पुगिसक्यो रे ! उफ्, हे राम !

तिमीहरूले यो वर्षको बजेट भाषण पढ्यौ होला । बजेटले वार्षिक आर्थिक विकास दर ८ प्रतिशतले गर्ने भनेको छ । विश्वव्यापी रूपमा कोभिडको महामारी र रसिया–युक्रेन युद्धको नकारात्मक असरले पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्यवृद्धि उकालो लागेको लाग्यै छ । आर्थिक विकास गर्न भनेर बजेट घाटा बढाइएको रहेछ ।

चुनावमा हुने खर्च पनि छ । अहिले नै ८ प्रतिशत पुगेको मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित गर्ने रे ! अरू त को ? नेपालको सरकारले । पत्याइनँ मैले त । आर्थिक गतिविधिको गम्भीर रहस्य बुझ्ने मान्छे नै सम्बन्धित निकायको नेतृत्वमा छैन । के गरेर सम्हाल्ने हो, कुन्नि ?

सरकारलाई देशमा उत्पादन बढाउने र देशलाई आत्मनिर्भर बनाउने चेत कहिल्यै आएन । लगानी गर्ने वातावरण बनाउन नसक्दा देशभित्र उद्यम व्यवसायमा लगानी हुनसकेको छैन । प्रशासनिक झन्झटले अत्तालिएर विदेशी लगानीकर्ताले पूर्वाधार छ कि छैन भनेर सोध्नै छोडिसके रे ! पूर्वाधारको नाममा विद्युत् आपूर्ति अलिकति भरपर्दो बनेको छ । सडक खत्तमै हो । पूर्वाधार नीति पनि छैन, लगानी पनि छैन । उद्योग खोलिहाले काम गर्ने मान्छे पनि छैनन् देशमा ।

विगतमा मानव संसाधनमा लगानी गर्न हिचकिचाउनाले अहिले दक्ष श्रमिकको अभाव खेप्नु परिरहेको छ । विदेश गएर जे काम पनि गर्ने तम्सने नेपाली युवा देशमा सिन्को भाँच्दैनन् । रोजगारी छैन भनुँ भने शहर बजारका चोक–चोकमा भारतीय कामदारहरूको चहलपहल देखिसाध्य छैन । कुरा गर्‍यो कुरैको दुःख । के गर्ने ?

आफ्नै देशको अनि आफ्नै सरकारको कुरा कति काट्नु । हेर, सरकारी अफिसहरूबाट काम फत्ते गर्नु भनेको फलामको च्यूरा चपाए जस्तो छ । कामले कुनै पनि सरकारी अफिस जानु नपेर हुन्थ्यो जस्तो लाग्छ । गाडीको कर तिर्ने, सवारी चालक प्रमाण पत्र लिने, राष्ट्रिय परिचय पत्र बनाउने, पासपोर्ट बनाउने अफिसमा सेवाग्राहीको भीड देखेर अत्यास लाग्छ । जात्रा भन्दा बढी । कहिले सुधार्छन् खोइ ?

आजकल बाबा भू–राजनीतिको अध्ययनमा डुब्नुभएको छ । हरेक राजकीय क्रियाकलापहरू भूराजनीतिसँग जोडिएको हुँदोरहेछ । बाबा पढिसकेर मलाई सुनाउनुहुन्छ । त्यै भएर मैले पनि अलि अलि बुझेकी छु ।

भौगोलिक अखण्डताको सुरक्षा र देशको विकास गर्न भूराजनीतिसँग मेल खाने विदेश नीति र विकास योजनाहरू निर्माण गर्नुपर्दोरहेछ । भारत, चीन हामीलाई आत्मनिर्भर हुन कहिल्यै दिंदैनन् । हाम्रो देश आत्मनिर्भर भयो भने उनीहरूको राजनीतिक प्रभाव कम हुन जान्छ भन्ने चासो हुँदोरहेछ । हाम्रो व्यापारको ठूलो हिस्सा भारतसँग हुन्छ । भारत यसो उसो गरेर हामीलाई आफ्नो जालमा बेरिराख्न खोज्छ । त्यै भएर भारत हाम्रो बिजुली किनेर रणनीतिक रूपमा हामीमाथि निर्भर हुन पनि चाहँदैन ।

चीन एकातिर आर्थिक सहयोग दिएर हामीलाई कसै गरे पनि भारतबाट अलग्याउन चाहन्छ अर्कोतर्फ दलाई लामा, तिब्बती शरणार्थी र एक चीन नीति तेस्र्याएर उत्तरी नाकाबाट सामान ल्याउन सीमामा बर्सेनि दुःख पनि दिइरहन्छ । चीन पनि त तिब्बतको लागि हाम्रो बिजुली किन्दैन । दुष्ट छिमेकीहरू । मलाई त कम्ता रिस उठ्दैन ।

अमेरिका पनि चीनको शक्ति बढ्दै गएको देखेर हाम्रो देशको सामरिक महत्व हात पार्न चाहन्छ । युरोपियन युनियन समानता र पहिचानको सिद्धान्त लादेर देशमा जातीय द्वन्द्व बढाउने र आफ्ना नागरिकलाई जागिर खुवाउने धुनमा हुँदोरहेछ । शक्ति राष्ट्रहरूको स्वार्थको अगाडि हाम्रो देशको राजनीतिक, आर्थिक, प्रशासनिक, कूटनीतिक र सुरक्षा स्वतन्त्रता नै खुम्चिएको देखें मैले त ।

नानीबाबु, म त लेख्दा लेख्दै बहकिएछु । पैसा र पदमा भुलेको हाम्रो राजनीतिक वर्तमानमा देश बनाउने र जनतालाई सुख दिने विषयमा कसैको चासो–चिन्ता छैन । जनता त दुःख पर्‍यो भन्दैमा देशलाई चटक्क छोडेर हिंड्न सक्दैनन् । तर नेताहरू त आपत् परे पैसा बोकेर भागिहाल्छन् । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानी र श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षे हेरे पुगिहाल्छ ।

तिमीहरूलाई लागेको होला मामु अरू के लेखिरहनुभएको होला । मैले पहिले नै भनिसकेकी छु फोनमा निख्रिएर कुरा गर्न नै सकिंदैन । आज म खुलेर लेखिरहेकी छु, निख्रिने गरी । तिमीहरू हुर्काउँदाका दिनमा हामीसँग धेरै आम्दानी थिएन । म पढ्दै थिएँ । बाबाको एक्लो कमाइ । काठमाडौंको बसाइ । कोठा भाडा तिरेर बाँकी रहेको पैसाले महिनाभरि पुर्‍याउन हम्मे–हम्मे पर्दथ्यो ।

घरबाट हजुरबाआमाले चामलदाल पठाउनुहुन्थ्यो र थोरै राहत हुन्थ्यो । बाबा कम खर्च गर भन्ने मलाई धेरै खर्च गर्नुपर्ने । हामी बुढाबुढीबीच ठाकठुक नभएको दिन हँुदैनथ्यो ।
तिमीहरूलाई हुर्काउँदा पढाउँदा हामीले आफैंलाई बिर्सिएका थियौं । जति दुःख भए पनि तिमीहरूको आवश्यकता पूरा गर्दै गयौं । तिमीहरूको सफलतामा हाम्रो खुसी नाच्दथ्यौं । तिमीहरूले दुःख पायौ वा भने जस्तो गर्न सकेनौं भने हामी एकान्तमा पाकी–पाकी रुन्थ्यौं ।

अब तिमीहरू जन्मियौ, हुर्कियौ, पढ्यौ र उड्यौ पनि । हामी बुढाबुढी जहाँको त्यहीं छौं । बाबाको पनि अवकाश भयो । आम्दानी घट्यो । फेरि महिनाको आम्दानी र खर्चको सन्तुलन मिलाउन उही धौ–धौ । हाम्रो दुःख तिमीहरूले बिर्सन्नौं होला भन्ने मैले आशा गरेकी छु ।

ढुकुटीमा पैसा नभएपछि देश त पनि टाट पल्टिंदो रहेछ । श्रीलंकाको दुर्दशा हाम्रो आँखा अगाडि नै छ । आर्थिक रूपले जर्जर भए पनि हाम्रा राजनीतिक नेताहरूलाई देशको चिन्ता छैन । राज्य राष्ट्र निर्माणमा एकछिन छलफल गर्दैनन् । राजनीतिक दाउपेचमा विदेशीले नचाएको पनि बुझ्दैनन् । हे भगवान ! देश उँभो कसरी लाग्ला खोइ ?

सरकारको खर्च कसरी कम गर्न सकिएला भन्नेतिर कसैले सोचेको देखिंदैन । चुनावको मुखमा कार्यकर्तालाई जागिर खुवाउन नेता कुदेका छन् । अर्थतन्त्र घाटमा पुग्न लागेको बेला सरकारी पदाधिकारीहरू विदेश भ्रमणमा हिंडेका छन् । गाउँ–नगर, प्रदेश र संघ सबै सरकारले अनावश्यक कार्यालय खोल्दै खर्च बढाएका बढायै छन् ।

एउटै काम गर्न संघ र प्रदेशमा उही उही मन्त्रालय । उस्तै उस्तै काम गर्न उस्तै उस्तै मन्त्रालय । चाहिने नचाहिने मन्त्रालय बनाउँदै मन्त्री थप्दै । राष्ट्रिय योजना आयोग हुँदाहुँदै नीति आयोग रे ! प्रदेश प्रदेशमा नीति आयोग रे ! प्रदेश प्रदेशमा अनुसन्धान ब्यूरो रे ! प्रदेश प्रदेशमा विषय विषयमा विश्वविद्यालय रे ! वर्षौं पुरानो त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी छैनन् । अरू विश्वविद्यालय खोलेर के गर्ने ?

देशमा संघीय शासन प्रणाली छ । प्रदेश चाहिंदो नचाहिंदो कार्यालय खोलेर इम्पायर खडा गर्न खोज्ने, संघ अधिकार छोड्न नचाहने कारण दुईबीच होड र द्वन्द्व चलेको छ । कृषि उत्पादन वृद्धि, व्यापार विस्तार, रोजगारी सिर्जना, बाटोघाटो निर्माण, गाउँ–शहरको सरसफाइ, सार्वजनिक सेवामा सरलीकरण, वन जंगलको संरक्षणमा कुनै सरकार, राजनीतिक दल र नेताको चासो छैन । हे राम ! दिक्कै लाग्छ, मलाई त ।

हेर न, स्थानीय निकाय सकिंदा नसकिंदै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । सबैलाई राष्ट्रपति र प्रधानमन्त्री हुने रहर । प्रधानमन्त्री किन बन्ने भन्दा स्कोर बढाउन, दुई पटक, तीन पटक चारपटक, पाँच–छ पटक ।

गिनिज बुकमा नाम लेखाउन । कमिसन, सम्पत्ति बटुल्न । आफ्ना नातेदारलाई कताकता घुसाउन र पैसा कमाउने अवसर दिन । देश बनाउन चाहिं होइन । कर्मचारी त अवकाश हुँदोरहेछ । नेता पो रहेछन् कहिल्यै रिटायर्ड नहुने । नेपाली जनता पनि सोझा क्या, घोचोभन्दा पनि । परिवर्तन गर्न नचाहने ।

सत्ता प्राप्तिको लागि राजनीतिक दलले गठबन्धन गर्दा निर्वाचनको प्रतिस्पर्धा नै खुम्चिएको छ । गठबन्धन राजनीतिमा सत्ता वा नेतृत्व परिवर्तन हुने पनि होइन । देशले जिम्मेवार राजनीतिक नेतृत्व पाउने पनि होइन । सार्वजनिक ढुकुटी रित्याउने काम मात्रै । सत्य धरोधर्म, म त भोट हाल्न जान्नँ, यसपटक । कति भोट हाल्ने उनै थोत्रा नेताहरूलाई !

तिमीहरू पनि आजकल कमाएको पैसा बिटक्वाइन र क्रिप्टोकरेन्सी के केमा लगानी गर्दैछौ रे ! बिटक्वाइन र क्रिप्टोकरेन्सी दुवै अधिकांश देशमा गैरकानुनी धन्दा हुन् । लगानी गर्दै गयो पछि प्रशासनिक वा कानुनी झन्झट आयो भने कोही बोल्न सक्दैन । भुक्तानी पाइँदैन । पैसा डुब्छ । दुःख गरेर कमाएको पैसा बाबुनानी हो, भड्खालोमा पर्ला है । खर्च गर्दा होश गर ।

आजभोलि नेपालको महँगाइको के कुरा गर्नु ? दिनदिनै खानेकुराको मूल्य बढेर एक डालो रुपैयाँले एक ढकी खानेकुरा आउँदैन । कमाएको जति खानेकुरामा मात्रै खर्च हुन्छ । हामी जस्ता निश्चित तलबधारीहरूका लागि मर्नु बनाएको छ । बैंक खातामा एक रुपैयाँ छैन । घर खर्च चलाउन धौ–धौ भएको छ । हाम्रो त यो चाल विचरा मजदुरहरूको के हाल ? पैसा नभएपछि कचकच सुरु हुँदोरहेछ, श्रीमान्–श्रीमतीबीच पनि ।

तिमीहरूले धेरथोर बाबा–मामुको बानी व्यहोरा बुझेका छौ । बाबा पनि म पनि, आ–आफ्नो ठाउँमा ठिक छौं । ठिक नभएको त महङ्गी मात्रै हो । राजनीतिक अव्यवस्था मात्रै हो ।

कर्मचारीलाई तलब दिने पैसा छैन भन्दै प्रधानमन्त्री पनि रुन थालेका छन्, आजकल । नेपालको अर्थतन्त्र टाट पल्टेपछि बाबा–मामुलाई दुःख हो । बाबा–मामुबीचको कचकच बढ्दै गएपछि तिमीहरूलाई नै पीर हो । डाक्टर भोला चालिसे पनि ‘मेरो देश डुब्न लाग्यो, किनार लगाइदेऊ, सपुत छौ कि कोही…’ भन्दै गीतमा अत्तालिइरहेका छन् । बाबा–मामुबीचको नोकझोक मिलाउन र देशको ढुकुटीमा अलिकति भने पनि विदेशी मुद्रा थप्न, डलर पठाइदेऊ ! बाबुनानी हो, देश टाटपल्टन लाग्यो, डलर पठाइदेऊ !

आफ्नो मात्रै कुरा लेख्छु, देशको कुरा लेख्दिनँ भन्दाभन्दै पनि यत्रो लेखिसकेछु । देश बिग्रिए आफैंले दुःख पाउने भएपछि नलेखेर पनि के गर्ने ? लेख्नेले लेख्न छोड्यो, बोल्नेले बोल्न छोड्यो भने राजनीतिक दल, नेता, सरकार, प्रशासन झन्झन् उद्दण्ड र गैरजिम्मेवार हुन्छन् कि जस्तो लाग्छ । अनि केही न केही लेख्न मन लाग्छ, हुट्टिट्याउँले सगर थामे जस्तो क्या !

चिट्ठी लेखिसक्दा आनन्दले आज हर्षविभोर भएकी छु । छोराछोरीलाई भगवानले सधैं कल्याण गरून् । फेरि फेरि पनि म लेख्ने नै छु । बाबुनानी, तिमीहरू पनि चिट्ठी पढ्ने बानी बसाल । तिमीहरू पनि कहिलेकाहीं चिट्ठी लेख र पठाऊ । हामीलार्ई पढ्न रमाइलो हुन्छ । आजलाई बिदा, कलम बन्द गरें, ल !

तिमीहरूको सदा भलो चाहने, माया गर्ने, तिमीहरूको प्यारो मामु !

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?