+
+

बेवारिसे बन्यो रानीपोखरी

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई चिटिक्क परेको रानीपोखरी हस्तान्तरण गरेको थियो । तर पछिल्लो समय रानीपोखरीको चारैतिर निर्मित पार्कमा घाँस उम्रिएर झाडी बन्न पुग्दा रानीपोखरी कुरुप बन्न थालेको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असोज २७ गते २०:३५

२७ असोज, काठमाडौं । ‘हामीले महानगरको नासो महानगरलाई नै फर्काएका छौं, यसको सुव्यवस्थित सञ्चालन, सदुपयोग, संरक्षण र प्रवर्द्धन होस् भन्ने हामी चाहन्छौं । यो सम्पदाको महत्व अझ बढ्ने गरी महानगरले काम गरोस् ।’ ८ पुस २०७८ मा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणपछिको रानीपोखरी तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्दै भनेका थिए ।

तर, अवस्था त्यस्तो छैन । चिटिक्क बनिसकेको रानीपोखरी फेरि कुरुप बन्न थालेको छ । १० महिनायता संरक्षकविहीन बनेको रानीपोखरीको चारैतिरका भित्तामा घाँस उम्रिएको छ । पोखरी किनारमा निर्माण भएको पार्क पनि झाडी बनेको छ ।

९ पुसमा पुनर्निर्माण प्राधिकरण खारेज भएपछि रानीपोखरीको बाहिरी भागमा निर्माण भइरहेको बगैंचालगायतका पूर्वाधार निर्माणको अनुगमन तथा निरीक्षण गर्ने जिम्मा शहरी विकास तथा भवन निर्माण विभागले पाएको थियो । त्यसपछि विभागले महानगरलाई हस्तान्तरण गर्न चाहेपनि महानगरपालिकाले नलिएको दावी गर्छ । महानगरपालिकाले भने विभागले हस्तान्तरण नगर्दा समस्या भइरहेको तर्क गरेको छ ।

विभागका पुनर्निर्माण इकाइका प्रमुख प्रभाकरलाल कर्ण रानीपोखरी पुनर्निर्माणको सबै काम सके पनि महानगरपालिकाले आफ्नो जिम्मामा लिन नमानेको बताउँछन् । ‘हामीले हस्तान्तरण गर्न बुझिलिने अधिकारी नाम मागेका छौं, तर महानगरले दिएको छैन’, उनले भने, ‘महानगरले चासो नदिंदा हामीले गरेको काम पनि छोपिने गरी रुख बिरुवा उम्रिसक्यो ।’

कुनै काम बाँकी रहे वा मर्मत गर्नुपर्ने देखिए ठेकेदारमार्फत गराउन सकिने भन्दै विभागले महानगरलाई रानीपोखरीको बाहिरी भाग हस्तान्तरण गर्न खोजेको थियो । त्यसका लागि महानगरको सम्पदा विभागमा पटक–पटक लिखित र मौखिक रुपमा जानकारी गराउँदा पनि चासो नदिएको विभागको आरोप छ ।

‘झाडीले पोखरीको रुप नै बिग्रिने बेला भइसक्यो, पटक–पटक समन्वय र अनुरोध गर्दा पनि महानगरले रानीपोखरी बुझ्न नै आएन’, कर्णले भने ।

महानगरको आरोप

काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभागका निर्देशक राम थापा तत्कालीन पुनर्निर्माण प्राधिकरणले भित्री भाग (पोखरी र मन्दिर) मात्रै हस्तान्तरण गरेको बताउँछन् ।

उनका अनुसार पोखरी बाहिरका बगैंचालगायतका पूर्वाधार शहरी विकास तथा भवन निर्माण विभागको जिम्मामा रहेको छ । ‘हामीले पटक–पटक भवन निर्माण विभागसँग कुरा गरेका छौं । उहाँहरुले महानगरलाई रानीपोखरीको बाँकी क्षेत्र हस्तान्तरण नगर्दा व्यवस्थापन गर्न सकिरहेका छैनौं’ थापा भन्छन् ।

पार्क हस्तान्तरण नहुँदा रानीपोखरीको गेटको साँचो समेत महानगरले नपाएको थापाको दाबी छ । ‘अहिले पानी फोहोर भएको छ । तिहारमा टीकाको दिन मन्दिर खोल्नुपर्ने छ, तर पार्कहरु भद्रगोल छन्’, उनले भने, ‘विभागले हामीलाई साँचो समेत दिएको छैन । पुरै रानीपोखरी हस्तान्तरण गर्नेवित्तिकै अहिले रत्नपार्कको व्यवस्थापन हेरिरहेको हाम्रो टिमले त्यहाँ पनि व्यवस्थापनको काम सुरु गरिहाल्छ ।’

मेयर बालेन्द्र साह (बालेन) ले रानीपोखरीको पार्क सर्वसाधारणका लागि खुलाउनुपर्ने राय राख्दै आएको निर्देशक थापाले बताए । ‘रानीपोखरी खुला नभएकोबारे मेयरज्यूले चासो व्यक्त गर्नुभएको थियो’, उनले भने, ‘हामीले विभागलाई यसबारे सोध्दा खासै वास्ता गर्नुभएन ।’

महानगरले चालु आर्थिक वर्षको बजेटमा रानीपोखरीमा माछा र हाँस पाल्न ५ लाख रुपैयाँ छुट्याएको छ । यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि महानगरले २५ लाख रुपैयाँ छुट्याएको छ ।

तर, शहरी विकास तथा भवन निर्माण विभाग र महानगरपालिका एकले अर्कालाई दोष लगाएर बस्दा रानीपोखरीको सरसफाइ समेत गरिएको छैन ।

काठमाडौं घुम्न आएका कैलाली अत्तरियाका सुमन थारु रानीपोखरीको अवस्था देखेर दिक्क लागेको बताउँछन् । सुमनको नवविवाहित दम्पती रानीपोखरी घुम्न चाहन्छन् । ‘धरहरा तलैबाट हेर्‍यौं, रानीपोखरी त झन् बारभित्र घेरिएको रहेछ,’ उनले भने, ‘भित्र जान नपाइने रहेछ । टिभीमा हेर्दा त निकै राम्रो थियो, अहिले सफा नगरेर बेवारिसे जस्तो बनाइसकेछन् ।’

कसरी गर्ने संरक्षण ?

पुरातत्व संरक्षण सम्बन्धी कानुनका जानकार सञ्जय अधिकारी रानीपोखरी स्थानीय समुदायलाई हस्तान्तरण गर्नुपर्ने बताउँछन् । पुनर्निर्माणका क्रममा स्थानीय गुठी, समितिलाई परिचालन न नगर्दा अहिले समुदायको चासोमा नपरेको उनको भनाइ छ ।

‘रानीपोखरी स्थानीय गुठीले संरक्षण गर्ने कि, सरंक्षण समिति बनाउने वा महानगरले मात्रै गर्ने हो’ अधिकारी भन्छन्, ‘स्थानीयको धारणा लिएर तत्काल व्यवस्थापन सुरु गर्नुपर्छ ।’

रानी पोखरी महानगरले बन्द गरेरै राख्ने कि खोल्ने कुरा पनि प्रष्ट पार्नुपर्ने भन्दै अधिकारी भन्छन्, ‘यो रानीपोखरी जनभावानासँग पनि जोडिएको छ, यसलाई मोनालिसाको तस्वीर जस्तै बनाउने कि जीवन्त बनाउने भन्ने विषयमा जनभावनाको कदर गरेर काम गर्नुपर्छ ।’

तस्वीर : विकास श्रेष्ठ

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?