+
+

अष्टमीमा पूजा सकेर ड्यूटी हिँडेका असई फर्किएनन्

आफ्नै सहकर्मीले हत्या गरेको आशंका, टाउकोमा देखियो गम्भीर चोट

श्रवण देव श्रवण देव
२०७९ असोज २७ गते २०:२७
सिरहास्थित घरमा असई यादवको परिवार र गाउँलेहरु ।

२७ असोज, सिरहा । १६ असोज, दशैंको फुलपाती । सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव भगवानपुर गाउँपालिका– २, सिरहा घर बिदामा आएका थिए ।

अष्टमीका दिन घरमा पूजाआजा गरेका उनी भोलिपल्ट आफू कार्यरत सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोस्ट (बीओपी) को ड्यूटीमा फर्किए । त्यसको दुई दिनपछि २० असोजमा सीमा क्षेत्रबाट तीन किलोमिटर पर भारतीय भूमिमा यादवको शव भेटियो ।

घोडदह खोलामा ४५ वर्षका यादव मृत अवस्थामा भेटिए । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेपछि भारतीय प्रहरीले सशस्त्र प्रहरीको बीओपीलाई खबर गर्‍यो ।

सशस्त्र प्रहरी बलकै कर्मचारी भएको खुलेपछि भारतीय कानुन अनुसार प्रक्रिया पुर्‍याएर शव राजविराज ल्याइएको छ । र, उनको हत्यामा भएको आधार देखिएपछि अनुसन्धानका लागि उनीसँगै छिन्नमस्ता बीओपीमै कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परेका छन् ।

उनी हाल जिल्ला प्रहरी कार्यालय, सप्तरीको हिरासतमा छन् । बीओपीका इन्चार्ज सई कृष्णबहादुर मगर हाल सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत छन् । यही घटनामा जिल्ला प्रहरी प्रमुखका रुपमा नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै सशस्त्र बलले राजविराजस्थित ६ नम्बर गणका प्रमुख एसपी प्रदीप खड्कालाई जिम्मेवारीबाट हटाएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले घटनामा भएको आन्तरिक कमजोरीबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति बनाएको बताए ।

उनले भने, ‘तीन सदस्यीय समितिलाई घटनामा घटनाबारे सत्यतथ्य बुझ्ने जिम्मेवारी दिइएको छ ।’

गाउँ शोकाकुल

बिहीबार सिरहा भगवानपुरस्थित असई यादवको घर पुग्दा परिवार र गाउँले शोकाकुल अवस्थामा थिए । वडाध्यक्ष सूर्यनारायण यादव भन्छन्, ‘भद्र मान्छेको हत्याको खबरले गाउँ नै मर्माहत भएको छ ।’

परिवारका अनुसार नवमीको दिन घरबाट कार्यस्थल हिँडेका असई यादवले छिन्नमस्ता पुगेपछि दिउँसो ३ बजेतिर पत्नी फुलेश्वरी देवीलाई फोन गरेका थिए ।

तर त्यसको केहीबेरमै बोर्डर आउट पोष्टका इन्चार्ज सई कृष्णबहादुर मगरले फोन गरेर यादव कार्यालयमा नरहेको सुनाए । ‘उहाँले तिम्रो बुवा अफिसमा छैनन्, घर त आएका छैनन् ?’ भन्दै फोन आएको छोरा अमोदले बताए ।

त्यसै दिन राति सई मगरले पुनः फोन गर्दै आफन्तकोतिर पनि खोजी गर्न छोरा अमोदलाई आग्रह गरे । ‘हामी आफ्नो तरिकाले बुवाको खोजीमा लागिरहेका थियौं’, अमोदले भने, ‘तर पर्सिपल्ट २० असोजको बिहान पुनः सई मगरले नै फोन गरेर छिन्नमस्ता बोलाए ।’

अमोद छिन्नमस्ता पुगेको केहीबेरमै सीमावर्ती भारतीय क्षेत्रमा शव फेला परेको सूचना आयो । सशस्त्र प्रहरी बलको टोलीसँगै छोरा अमोद पनि घटनास्थल पुगे । ‘मैले तत्कालै मेरै बुवाको शव हो भनेर चिनिहाले’ उनले भने, ‘तर सशस्त्रका सई मगरले आफ्नो मान्छे होइन भन्दै शव लिन इन्कार गरे ।’

तर एक हवल्दारले सशस्त्र प्रहरी बलकै कर्मचारी भएको बताएपछि शव भारतीय कानुन अनुसार प्रक्रिया पुर्‍याएर राजविराज ल्याइएको अमोदले बताए । उनका अनुसार यादवको टाउकोमा गम्भीर चोट देखिएको थियो ।

उनको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो, पछि त्यहाँबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

कुटपिट गर्दा ज्यान गएको आशंका

असई यादव मृत्यु प्रकरणको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार प्रहरी जवान खत्रीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा असई यादवको मृत्यु भएको हो ।

खत्री मादक पदार्थ सेवन गरी ड्युटीमा ढिलो आउँदा असई यादवले यस्तो किन गरेको भन्दा दुबैबीच वादविवाद भएको र त्यसपछि खत्रीले कुट्दा उनी बेहोस भएका थिए । बेहोस भएपछि खत्रीले बिजुलीको तारले घाँटी कसेर मारेको एक प्रहरी अधिकारी बताउँछन् ।

मृत्यु भएपछि खत्रीले केही व्यक्तिको सहयोगमा शव भारतमा लगेर फ्याँकेका थिए । प्रहरी स्रोतका अनुसार खत्रीले यो कुरा स्वीकारेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले अनुसन्धान भइरहेको र चाँडै निष्कर्षमा पुग्ने बताएका छन् ।

तर प्रहरीको अनुसन्धानमाथि यादव परिवार र गाउँका अगुवा सन्तुष्ट छैनन् । पूर्व प्रहरी निरीक्षक समेत रहेका वडा अध्यक्ष सूर्यनारायण यादव यो घटनामा एक जवानको मात्रै नभई माथिल्लो तहसम्मको संलग्नता हुन सक्ने बताउँछन् ।

तीन दिनसम्म सत्यनारायणको कुनै खोज खबर नभएपछि आफूले नै सई मगरलाई फोन गरेर सोध्दा एक पटक विदामा गएको भनेको र पुनः फोन गरेर सोध्दा वेपत्ता रहेको बताएदेखि नै शंका लागेको वडाध्यक्ष यादव बताउँछन् ।

‘घटना नवमीकै दिन भएको रहेछ’, पूर्व प्रहरी निरीक्षक यादवले भने, ‘त्यो घटनालाई तीन दिनसम्म लुकाइयो । र, शव फेला पर्दा पनि नचिनेको भनेर भन्नुले धेरै शंका उब्जाउँछ ।’

घटनापछि छिन्नमस्ता बोर्डर आउटपोस्ट इन्चार्ज सई मगर बिरामी विदामा बसेका छन् । सप्तरीका गणपति प्रदीप खडकासँग विदा मागेर राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका उनी विराटनगरको अस्पताल हुँदै काठमाडौंस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । उनी हालसम्म अनुसन्धान अधिकृतको सम्पर्कमा पनि छैनन् ।

परिवारको गुजारामा समस्या

मृतक सत्यनारायणका एक पत्नी, दुई छोरी र एक छोरा छन् । जेठी छोरीको बिहे भइसकेको छ, छोराले कक्षा १२ को परीक्षा सकेका छन् भने कान्छी छोरी १० कक्षामा अध्ययनरत छिन् ।

घर खर्च र छोराछोरीको शिक्षादीक्षा सत्यनारायणको जागिरबाट चल्दै आइरहेको छ । ‘बुवाको जागिर छ माथिको पढाइ गर्न पनि सजिलो हुने विश्वास थियो’, छोरा अमोदले भने, ‘अब कसरी पढ्ने थाहा छैन ।’

बुवाको हत्यामा संलग्नमाथि कडा कारबाही हुनुपर्ने उनले बताए । ‘हत्या गर्नेलाई कारवाही गर्दै हामीलाई क्षतिपूर्ति समेत दिनुपर्छ’ उनले भने ।

मृतक सत्यनारायणका दाजु पर्ने निलाम्बर यादव हत्या घटनामा माथिल्लो निकायसम्मको संलग्नता देखिएको बताउँदै निष्पक्ष छानबिन हुनुपर्ने बताए । सही ढंगले छानबिन गरी दोषी पत्ता लगाएर कारवाही नगरिए पूरा गाउँले नै आन्दोलनमा उत्रिने उनले बताएका छन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?