+
+
उपेन्द्र यादवसँग अन्तर्वार्ता :

‘अनि गठबन्धनलाई भन्यौं– याे षड्यन्त्र नगर्नुहोस्, बरु सबै सिट आफैंसँग राख्नुहोस्’

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ असोज २७ गते २१:०६

२७ असोज, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव यसपल्ट पनि सप्तरी २ बाट  चुनाव लड्दैछन् । उनको क्षेत्रमा नयाँ प्रतिस्पर्धी सीके राउत  आएका छन् । यादव एमालेसँग तालमेल गरी यो खड्गो पार लगाउन चाहन्छन् । उनीसँग चुनावकै परिवेशमा अनलाइनखबरले गरेको कुराकानी :

चुनावपूर्वका परिदृश्य कस्ता छन् ?

मनोनयन भर्खरै भएको छ । दशैं, तिहार, छठ पनि आइरहेकै छन् । चाडबाडको आकर्षणबीच चुनावालाई देशविदेशका जनताले बडो रुचीपूर्वक हेरिरहेका छन् ।

दशैंको दिनमै तपाईंले सत्ता गठबन्धन तोडेर बालकोट जानुभयो ओलीलाई भेट्न, होइन त ?

योभन्दा अगाडिको सरकारले दुई दुईपटक संसद भंग गर्दा राजनीतिक अस्थिरता र मुलुक दिशाहीन भएर जाने खतरा थियो । लोकतन्त्रलाई नै छाड्दै जाने हो कि भन्ने खतरा र आशंका उत्पन्न भएका थिए । त्यो खतराबाट संघीय गणतन्त्रलाई जोगाउनुपर्छ भनेर आन्दोलन अघि बढायौं । पाँच पार्टीको गठबन्धन त्यसैक्रममा हुन गयो । सडक र सर्वोच्च अदालतमा यो गठबन्धनको प्रयास देखा पर्यो । मुलुक फेरि पुरानो ट्र्याकमा फर्कियो । स्थानीय चुनाव, राष्ट्रिय सभा चुनाव सम्पन्न भए ।

गठबन्धन तोड्ने अवस्था कसरी आइपर्‍यो ?

स्थानीय चुनावमा जहाँ–जहाँ हामीले गठबन्धन गरेका थियौं, ती–ती ठाउँमा कांग्रेसको मत एकदमै न्युन प्राप्त गर्यौं । विराटगर, जनकपुर, कलैया, नेपालगञ्जमा पाएनौं । वीरगञ्जमा आंशिक पायौं । त्यसले के देखायो भने यो गठबन्धनमा मत स्थानान्तरण हुँदो रहेनछ भन्ने देखियो । त्यही बीचमा सिट तालमेलको कुरा हुँदा निकै वार्ता भयो ।

अन्तिममा आइपुगेपछि जनता समाजवादी पार्टीलाई अवमूल्यन गर्ने दम्भ गठबन्धनमा रहेका ठूला पार्टीमा देखा पर्‍यो । थोरै सिट दिने र सिध्याउने षडयन्त्र सत्ता गठबन्धनभित्र देखा परे । हामीले भन्यौं, यो षडयन्त्र गर्दै नगर्नुस् । बरु सबै सिट तपाईहरु लिनुहोस् ।

एमालेसँग गठबन्धन हो कि तालमेल ?

अहिले तालमेल मात्रै हो । हामीले समग्रमा ८१ सिट प्रतिनिधिसभा, १४५ सिट प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछौं । १२–१३ जिल्लामा हाम्रो सिट तालमेल छ । बाँकी आफंै प्रतिस्पर्धा गर्दैछौं ।

उसोभए चुनाव सकिएपछि एमालेसँगको सहकार्य के हुन्छ ?

चुनावपछि पनि एमालेसँग हामी सँगै अघि बढ्छौं । साझा कार्यक्रमहरु बनाउन सक्ने सोच छ । बाँकी त चुनावपछि पनि धेरै सल्लाह हुनेछन् ।

त्यो त गठबन्धन बनाएकै बराबर त भयो नि ?

होइन, गठबन्धन निश्चित लक्ष्य प्राप्तिका लागि मोर्चाबद्ध हुने हो । अहिले हामीले एमालेलाई सिट छाड्ने, एमालेले हाम्रा लागि सिट छाड्ने । भविष्यका लागि सहकार्यको बाटो खुला राखिराख्ने गरी सिट तालमेल गरेका हौं । यत्ति हो ।

दुई वर्षअघि तपाईंहरुले ओलीलाई असंवैधानिक संसद विघटन गरी प्रतिगमन गर्ने नेता भन्नुहुन्थ्यो । उहाँविरुद्ध सडकमा पनि जानु भो । अब प्रतिगमन सच्चियो ?

होइन, हामीले अडान छाडेका छैनौं । हामीले आफ्ना अडान र अवधारणाहरु यथावत राख्दै पनि सिट तालमेल भएको छ ।

भनेपछि एमालेलाई हेर्ने तपाईंको दृष्टिकोणमा कत्ति पनि फेरबदल भएको छैन ?

फेरबदलभन्दा पनि हाम्रो आफ्नो पार्टी भएकाले आफ्नै सोच चिन्तन हुन्छ । उहाँहरुको पनि छ । पार्टीहरुको आआफ्नो दृष्टिकोण र चिन्तन हुन्छ । पुरानै नजरले सबै कुरा नहेरौं । किनभने समय धेरै अघि बढेसकेको छ ।

पहिले तपाईं कहिले एक्लै, कहिले मधेसकै अर्को क्षेत्रीय शक्तिसँग मिलेर चुनाव लड्नुहुन्थ्यो । अब चैं काठमाडौंको बलियो संस्थापन समात्नुपर्ने अवस्था आइलागेको हो ?

के छ भन्दाखेरि, यो सहकार्य हो । सहकार्य गर्दाखेरि ठूला साना शक्ति भन्ने हुँदैन । यो संसदीय व्यवस्थामा कुनै दल ठूलो भए पनि संसदमा एक दुई सिट नपुगे पनि बहुमत नपुगेमा हाल बेहाल भइहाल्छ । त्यसैले सबैको आआफ्नो महत्व हुन्छ । दलहरुमा आफ्ना लक्ष्य र चिन्तन फरक हुन सक्छन् । कुरा यति हो ।

महन्थ ठाकुरहरुलाई चैं अब छाडिदिनुभएको हो ?

हामीले छाडेको होइन, उहाँहरु भागेको हो । उहाँहरुको राष्ट्रिय जनता पार्टी, हाम्रो समाजवादी पार्टीबाट नाम नै जोडेर जनता समाजवादी पार्टी बनाएको हो । चुनाव चिह्न छाता जोड्यौ । पछिल्लोपल्ट महन्थजीहरुले जनता पनि छाड्नु भो । छाता पनि जोड्नु भो । बल्ल एउटा साइकल भेट्नुभएको छ अहिले । हामीले जाउ भनेको त होइन ।

बाबुराम भट्टराईले पनि छाडेर जानुभो नि ?

खोई उहाँ त कहाँ आउनुभएको थियो । कहाँ जानुभो । कुनै ठेगान छैन । के कुरा गर्ने उहाँको ?

तपाईंले एमालेसँग तालमेल गर्न लाग्दा प्रभु साहले यसैलाई निहुँ बनाउँदै एमाले नै छाडिदिनुभो नि ?

होइन, तालमेल नगरेको भए पनि उहाँ जानुहुन्थ्यो । उहाँले अलग पार्टी बनाउने चर्चा पनि चलिरहेकै थियो । खासमा उहाँको स्कुलिङ र एमालेको स्कुलिङ नै फरक हो । धेरै लामो सहकार्य हुने सम्भावना थिएन । उहाँ एमालेको नीतिमा चल्ने खालको नेता नै होइन ।

जहाँ जहाँ तालमेल भो, त्यहाँ त्यहाँ नै उहाँले उम्मेदवार उठाउँदा प्रभाव पर्दैन ?

खासै पर्दैन । रौतहटमा उहाँले त्यसो गरेको हो । एमालेसँग यही तालमेलबाट हामी चुनाव जित्छौं । सानातिना समस्या आउलान्, तर हामी मिलेर हल गर्छौं ।

तालमेल नगरी हिँड्ने अवस्था अब छैन ?

पहिलो र दोस्रो संविधानसभा एक्लै लड्यौं । पछिल्लो चुनाव राजपासँग मिलेका हौं । दुवै दृष्टान्त छन् ।

योपल्ट सीके राउतको प्रवेश तपाईंको क्षेत्रमा भएकाले दबाबमा पर्नुभएको हो ?

त्यस्तो यथार्थ होइन । सत्यता छैन यसमा । त्यस समूहलाई काउन्ट गर्नुपर्ने गरी ठूलो फोर्स भइसकेको छैन ।

तपाईं कहिले बारा, कहिले सप्तरी १ जान खोजेको देख्दा चुनाव हारिने चस्काले घर गरेको हो ?

होइन, होइन । मलाई यसपल्ट चुनाव लड्न धेरै जिल्लाबाट अनुरोध थियो । तर मैले आफू जन्मेको जिल्लामै लड्ने निर्णय गरें । आफ्नै राजनीतिक क्षेत्रमा लड्ने मेरो सुरुदेखिकै मानसिकता थियो ।

नागरिकताको प्रश्नमा, एमाले अध्यक्ष ओलीले हिजो गैरआवासीय नेपाली संघको कार्यक्रममा निकै कडा अभिव्यक्ति दिनुभयो । तपाईंको भावना नमिल्ने गरी त्यो आएको छ । यस्तोमा सहकार्य हुन्छ ?

मधेसका नागरिकलाई नागरिक अधिकारबाट बञ्चित बनाएर सैन्य, राजनीतिक शक्तिको आडमा आधिपत्य राख्ने सोच अझै हो भने गलत छ । नागरिकता कानुनहरु विगतदेखि नै गलत थिए । पार्टी विशेषले केही भनेको हुन सक्छ । त्यसले तालमेललाई असर पर्दैन ।

मधेसमा तपाईंले छानेको मूख्यमन्त्रीको कार्यकाल कस्तो रह्यो ?

पहिलो कार्यकाल । नयाँ अनुभव । नयाँ मान्छे । संघीय प्रणालीको प्रयोगमा धेरै राम्रो गर्नु भो म भन्दिनँ । ठिकठिकै थियो ।

तपाईंले लालबाबु राउतलाई उहाँको अन्तिम कालमा हटाउन लाग्नुभो नि त ?

पार्टीभित्र यसबारे छलफल भएकै हो । निर्णय चाहिँ भएन ।

उहाँको कामलाई लिएर असन्तुष्टि थिए ?

अब ती कुरा बितेर गए । नयाँ फेज आइसक्यो ।

तर, किन हटाउन लाग्नुभएको थियो ?

जनताका गुनासा थिए । साथीभाइका पनि भनाइहरु थिए । कारबाही गर्ने कि नगर्ने भन्ने छलफल भएको हो । तर, अन्तिम बेलामा त्यसो नगरौं भन्ने कुरा भो । त्यसैले निर्णय भएन ।

तपाईं गणितको शिक्षक पनि हो । अनि उहाँको पार्टी अध्यक्ष पनि । लालबाबु राउतको कार्यकाललाई सयमा कति नम्बर दिनुहुन्छ ?

फेल गर्नुहुन्न । कापी काट्ने हो भने उहाँ फेल हुने विद्यार्थी होइन । पास मार्क पाउनुहुन्छ उहाँले ।

ग्रेस दिनुपर्छ ?

पर्दैन ।

तर तपाईं सन्तुष्ट चैं हुनुहुन्न रहेछ ।

उहाँले धेरै गर्न सक्नुहुन्थ्यो । अपेक्षा जनता र पार्टीका एकदमै धेरै थिए । राम्रा कामले प्रशंसा पाउनुपर्छ ।

तस्वीर र भिडियो : शंकर गिरी र आर्यन धिमाल

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?