+
+

एउटा दलको अध्यक्ष, अर्कै दलको उम्मेदवार

एउटा राजनीतिक आस्था र विचारधाराको नेतृत्व गरिरहेका कतिपय नेता निर्वाचित हुनकै लागि अर्को दलको उम्मेदवार भइरहेका छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ असोज २७ गते २१:०५

२७ असोज, काठमाडौं । मकवानपुर– १ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपरान्ह उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्‍यो । सूची अनुसार, मकवानपुर– १ मा एमालेमा तर्फबाट कमल थापा उम्मेदवार हुन् । उनले सूर्य चिह्न पाएका छन् ।

निर्वाचन आयोगले केही साताअघि आयोगमा दर्ता भएका दलहरुको अद्यावधिक विवरण सार्वजनिक गर्‍यो । २० साउन २०७९ सम्म अद्यावधिक भएको विवरण अनुसार आयोगमा १४९ नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नामक दल दर्ता भएको छ । तीर चुनाव चिह्न पाएको उक्त दलका अध्यक्ष कमल थापा हुन् ।

एकनाथ ढकाल नेपाल परिवार दल (निर्वाचन आयोग दर्ता नं.१९) का अध्यक्ष हुन् । साँचो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको दलका अध्यक्ष एमालेको समानूपातिक सूचीमा छन् । उनी एमालेले १९ औं क्रममा ‘खस आर्य’ को क्लष्टरबाट समानूपातिक सूचीमा छन् ।

एउटा दलको अध्यक्ष भइसकेको व्यक्ति अर्को दलबाट निर्वाचन लड्नु राजनीतिक प्रश्न त हो नै ।

थापा र ढकालजस्ता व्यक्ति कथंकदाचित निर्वाचित भएमा उनीमाथि कयौं कानूनी प्रश्न समेत उठ्ने देखिन्छ । परिवार दरले निर्वाचन आयोगमा कुनै समानूपातिक सूची नै नपठाई आफ्ना अध्यक्षलाई एमालेको समानूपातिक सूचीमा पठाएको छ । एमालेले उदारतापूर्वक उम्मेदवारीमा स्वागत गरेका यी दुई अध्यक्ष आवद्ध दलहरु एमालेमा एकीकरण भइसकेका छैनन् ।

आफ्ना अरु नेता र कार्यकर्तालाई पार्टीको आधिकारिक निर्वाचन चिह्न ‘तीर’ लिएर निर्वाचनमा पठाएका राप्रपा नेपालका अध्यक्ष कमल थापा आफै भने एमालेको ‘सूर्य’ चुनाव चिह्न लिएर मकवानपुर– १ मा उठेका छन् ।

निर्वाचन आयोगमा राप्रपा नेपालका अध्यक्ष रुपमा रहेका थापाको पृष्ठभूमि र यथार्थ अवस्था जे भएपनि मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई एमाले उम्मेदवारको रुपमा चिन्ने र व्यवहार गर्ने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको आधिकारिक पत्रका आधारमा उहाँ मकवानपुर–१ मा एमाले उम्मेदवारको रुपमा मनोनित हुनुभएको छ र सबै प्रक्रिया पूरा भएर उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित भइसक्यो’, मुख्य निर्वाचन अधिकृत निरौलाले भने, ‘हामीले प्रक्रिया अनुसार हेर्नुपर्ने कागजात हेरेर उहाँको उम्मेदवारी निर्क्यौल गरिसकेका छौं । उहाँका बारेमा अन्यत्र के कसो छ, अरु विषय थाह हुदैन ।’

निर्वाचन आयोगमा भएको अभिलेख अनुसार, राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो पार्टीको उम्मेदवार र मनोनयनपत्र पठाउने आधिकारिक व्यक्ति समेत हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनका बेला राप्रपाका अध्यक्ष रहेका उनी नेपाली कांग्रेसको समर्थनमा मकवानपुर– १ मा उम्मेदवार थिए र एमाले उम्मेदवार कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए । त्यतिबेला भने आफ्नै पार्टी राप्रपाको चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।

राजनीतिशास्त्रका प्राध्यापक डा. गेहेन्द्रलाल मल्ल यस्तो अभ्यासलाई दलीय राजनीतिको विकृत अभ्यास मान्छन् । ‘यो हदसम्मको अभ्यास अत्यन्त विकृत नमुना हो । आफ्नो राजनीतिक जितका लागि कार्यकर्ताको प्रयोगदेखि व्यक्तिगत स्वार्थ हावी भएको छ’, उनी भन्छन्, ‘यस्तो क्रियाकलाप बढ्दै गएमा सिद्धान्त, निष्ठा र प्रतिवद्धताको राजनीतिकलाई निमिट्यान्न पार्छ । संसदीय प्रणालीमा यस्ता अभ्यासले लोकतन्त्रलाई कमजोर बनाउँछ ।’

****

१९ मंसिर २०७८ मा राप्रपाको महाधिवेशनले कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

त्यसपछि असन्तुष्ट थापाले राप्रपा परित्याग गरेर र नयाँ पार्टी घोषणा गरे । उनले नयाँ दल दर्ता गर्नुको साटो निर्वाचन आयोगमा साढे दुई वर्षअघि दर्ता भएर अस्तित्वमा रहेको राप्रपा नेपालमा प्रवेश गरेका थिए । उनका कार्यकर्ताहरुले ‘भैपरी आउने परिस्थिति’ आँकलन गरेर साढे दुई वर्षअघि अर्थात २५ चैत २०७५ मा राप्रपा नेपाल गठन गरेको देखिन्छ ।

राप्रपा नेपालमा प्रवेश पाउनासाथ थापा अध्यक्ष समेत बने । त्यसपछि उनले राजतन्त्रको एजेण्डासमेत छाडे । त्यति बेलासम्म राप्रपा नेपालको निर्वाचन चिह्न ‘तीर’ थियो ।

पञ्चायतकालदेखि नै राजावादी रहेका पूर्वमन्त्री थापाले त्यसक्रममा अथाह लाभ लिएको र अहिले तात्कालिक लाभका लागि गणतन्त्रवादी समूहसँग सहकार्र्य गरेको देखिएको प्राध्यापक मल्लको टिप्पणी छ । उनी भन्छन्, ‘तात्कालिन लाभका लागि गरिने राजनीतिले लोकतन्त्रलाई बलियो बनाउन योगदान गर्दैन ।’

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ‘गाई’ निर्वाचन चिन्हमार्फत राप्रपा नेपालले समानूपातिक पद्धतिमा आकर्षक मत ल्याएको थियो । हिन्दु धर्मसँग जोडिएको र राष्ट्रिय जनावर समेत भएकाले राप्रपा नेपालमा प्रवेश गर्नासाथ थापाले निर्वाचन आयोगमा ‘गाई’ चुनाव चिह्न दावी गरेका थिए ।

उनले निर्वाचन आयोगमा औपचारिक रुपमा मात्रै होइन, अनौपचारिक रुपमा समेत गाई निर्वाचन चिन्हका लागि दवाव दिएका थिए । निर्वाचन आयोगले भने करिव दुई वर्षअघि नै ७ माघ २०७७ मा राष्ट्रिय चिन्ह, संकेतहरु र राष्ट्रिय विभूति वा तीसँग सम्बन्धित अनुहार वा फोटो निर्वाचन चिह्न नदिने र भएकाहरुलाई समेत हटाउने भनी नीतिगत निर्णय गरेको थियो । यसै आधारमा निर्वाचन आयोगले राप्रपा नेपाललाई गाई चिह्न दिन अस्वीकार गर्‍यो ।

आयोगको निर्णय विरुद्ध कमल थापा सर्वोच्च अदालत पुगे । शुरुमा गाई चिह्न ‘अरु कुनै दलहरुलाई नदिनु’ भनी अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले पछि कमल थापाको निवेदन नै खारेज गरेर निर्वाचन आयोगको निर्णयलाई सदर गर्‍यो ।

त्यसपछि आफ्नै दलका अरु नेता र कार्यकर्तालाई राप्रपा नेपालको चुनाव चिह्न ‘तीर’ दिएर मनोनयनपत्रमा हस्ताक्षर गरेका थापा आफू भने एमालेको सूर्य चिह्न लिएर उम्मेदवारी दिएका हुन् । पछिल्ला एक साताका गतिविधि हेर्दा उनी अन्य दलका कार्यकर्तालाई एमालेमा प्रवेश गराउनेदेखि राप्रपा नेपालका चुनाव प्रचारप्रसार अभियानमा समेत सहभागी छन् ।

निर्वाचन आयोगको अभिलेख अनुसार, आजका मितिसम्म पनि कमल थापा राप्रपा नेपालका अध्यक्ष हुन् । प्रत्यक्ष र समानूपातिकतर्फ उनकै हस्ताक्षरलाई आधिकारिक मानी निर्वाचन आयोगले समानूपातिक उम्मेदवारहरुो नामावली टुंग्याएको छ भने प्रत्यक्षतर्फ कैयौ उम्मेदवारहरुको नाम स्वीकार गरेको छ । निर्वाचन आयोगको विवरण अनुसार राप्रपा नेपालले समानुपातिकमा ११० जना र प्रत्यक्षमा ५८ जिल्लामा उम्मेदवारहरु उठाएको छ ।

निर्वाचन आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार, कुनैपनि दलमा आवद्ध नेता वा कार्यकर्ता (सदस्य) अर्को दलमा जान र नयाँ ढंगले राजनीति गर्न स्वतन्त्र हुन्छन र, त्यसलाई कानूनले बन्देज लगाएको छैन ।

‘कुनै सदस्य अर्को दलमा गएर उम्मेदवार हुन्छ भने ऊ नयाँ दलको सदस्य हुने भयो । निर्वाचन अधिकृतको कार्यालयले उसलाई सिफारिस गर्ने दलको सदस्यको रुपमा व्यवहार गर्छ’, सहसचिव भट्टराईले भने, ‘ऊ अर्को दलमा गएकोमा कारवाही गर्ने वा नगर्ने भन्ने सम्बन्धित (पुरानो) दलको विषय हो । उनीहरुले प्रक्रियासम्मत रुपमा कारवाही गरे आयोगले अभिलेख अद्यावधिक गर्छ ।’

सहसचिव भट्टराईका अनुसार, कानूनतः कुनै दलको प्रमुख नेता वा पदाधिकारी भएकै कारण अर्को दलको उम्मेदवार बन्न उसलाई तत्काल कानूनी बाधा हुदैन । उनी भन्छन्, ‘यो कानूनी भन्दा पनि राजनीतिक र नैतिक मान्यताको विषय हो ।’

नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्र राय यादव दुवैजनाले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वादी दिने घोषणा गरेका थिए । पछि डा. भट्टराईले संसदिय राजनीतिबाट अलग रहेको घोषणा गरी आफू त्यसबाहिरको राजनीतिमा मात्रै सक्रिय हुने बताए । यादवले सर्लाही–२ बाट उम्मेदवारी दिए ।

नेपाल समाजवादी पार्टीमा रहेपनि उनी सर्लाहीमा माओवादी केन्द्रको मनोनयनमा उम्मेदवारी दिएका व्यक्ति हुन् र अब उनले माओवादीकै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं–७ बाट उम्मेदवारी दिएकी मानुषी यमी भट्टराई नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सचिव समेत हुन् । नेपाल समाजवादी पार्टीका नेताहरु गंगानारायण श्रेष्ठ, मानुषी यमी भट्टराई लगायतले यही अभ्यास गरिरहेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको तुलनामा नेपाल समाजवादी पार्टीका नेताहरु ‘कानूनी रुपमा’ संरक्षित छन् । किनभने निर्वाचन कानूनमा दुई दलहरु मिलेर एउटा निर्वाचन चिह्नबाट प्रतिस्पर्धा गर्नसक्ने व्यवस्था छ । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन् ।

यसरी निर्वाचित हुने व्यक्ति जुन चुनाव चिह्न लिएको छ सोही दलको सांसद मानिनेछ । कानूनी रुपमा सुरक्षित भएपनि एउटा दल र राजनीतिक आस्थामा आवद्ध उनीहरु अर्को विचारधारा राख्ने दलको चिह्नबाट प्रतिस्पर्धा गरिरहेका छन् । यसमा उनीहरुको मतको हिसाबकिताब र तत्कालको लाभबाहेक अरु उद्देश्य देखिदैन ।

एमालेले २०७४ सालको निर्वाचनमा पनि यस्तो अभ्यास गरेको थियो । हृदयेश त्रिपाठी प्रतिनिधिसभा निर्वाचनमा अघिल्लो पटक नवलपरासी (पश्चिम)–१ बाट सूर्य चिह्न लिएर उम्मेद्वार भएका थिए र पछि एमालेकै सांसदको रुपमा मन्त्री समेत भए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेका उनी पछि स्वास्थ्यमन्त्री भए । केही महिनाअघि जनता प्रगतिशील पार्टी गठन गरेर हाल उनी त्यस पार्टीको अध्यक्ष छन् । अहिले पनी उनले एमालेसँग सहकार्य कायमै राखेका छन् तर आफ्नै दलको निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् ।

नयाँ दल खोलेपछि पनि त्रिपाठीले त्यसबेला एमालेबाट निर्वाचित सांसद पद त्यागेनन् भने एमालेले पनि उनलाई ‘दलत्याग’को कारवाही चलाएन । अहिले राप्रपा नेपालका अध्यक्ष थापाले त्यही अभ्यास दोहोर्‍याएका हुन् । फरक के हो भने एमालेको चुनाव चिह्न लिएर उम्मेदवार हुँदा त्रिपाठी अरु दलमा आवद्ध थिएनन् । तर कमल थापा भने निर्वाचनमै भाग लिएको एउटा दलको नेतृत्व गरेर अर्को दलबाट उम्मेदवार बनेका हुन् ।

निर्वाचन सम्बन्धी कानून अनुसार, राजनीतिक दलको मनोनयनपत्र र उसको निर्वाचन चिह्नका आधारमा उम्मेदवार बनेर निर्वाचित हुने जनप्रतिनिधि (सांसद) सम्बन्धित दलप्रति जवाफदेही हुनुपर्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा २८ मा प्रतिनिधिसभामा विश्वास/अविश्वासको प्रस्ताव, सरकारको नीति तथा कार्यक्रम, बार्षिक बजेट, राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य कुनै विषयमा जारी हुने ह्विपको अनिवार्य पालना गर्नुपर्छ । थापा निर्वाचित भएमा उनले ५ वर्षसम्म एमालेले जारी गर्ने ह्विप स्वीकार्नुपर्छ । ह्विप उल्लंघन गरेमा उनलाई पार्टीले निष्कासनसमेत गर्न सक्नेछ ।

निर्वाचित भएमा थापामाथि कुनैपनि बेला एमालेले कारवाही गर्न सक्ने अर्को कानुनी व्यवस्था पनि छ । राजनीतिक दलसम्बन्धी ऐनमा ‘अर्को दलको सदस्यता लिएमा’ दल त्याग गरेको मानिन्छ । दल त्याग गरेको कार्यकर्ताको सांसद पद रिक्त भएको मानिने व्यवस्था छ । निर्वाचित भइहालेमा पनि थापामाथि राप्रपा नेपालमा आवद्ध भएको आरोपमा एमालेले कुनैपनि बेला दलत्यागको कारवाही चलाउन सक्छ ।

प्राध्यापक मल्लका अनुसार, सयौं वर्षको संसदीय अभ्यासमा नभएको र विकृत मानिने यो प्रवृत्ति हावी हुनु गलत हो । दलहरुबीचको सैद्धान्तिक निकटता र विचारधाराका आधारमा कार्यगत एकतालाई स्वभाविक मानिएपनि केवल क्षणिक लाभका लागि हुने सहकार्यले दलीय मूल्यमान्यतालाई खण्डित बनाउने उनी बताउँछन् ।

‘अवसर र तत्कालको राजनीतिक लाभका लागि गरिने यस्ता क्रियाकलापले सिद्धान्त र निष्ठालाई कमजोर बनाउँछ । कालान्तरमा त्यो साँठगाँठ नै हो’ उनी भन्छन्, ‘विशुद्ध व्यक्तिगत र राजनीतिक लाभका लागि गरिने यस्ता क्रियाकलापले दलीय प्रणाली अघि बढ्न सक्दैन, बढेपनि लोकतन्त्रका लागि घातक हुन्छ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?