+
+

प्रदेश १ : जसको नजर मुख्यमन्त्रीमा छ

आश गर्ने तर हार्ने डरले नबोल्ने

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज २८ गते १८:२०

२८ असोज, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ का निवर्तमान संसदीय दलका नेता राजीव कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर पार्टीले उनलाई संघको टिकट दिएन । प्रतिनिधिसभामा सिताराम मेहताले टिकट पाएपछि उनी सुनसरी क्षेत्र नम्बर २ (२) बाट पुनः प्रदेशसभा सदस्यको उम्मेदवार बने ।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि मुख्यमन्त्रीको दाबेदार रहे पनि अवसर नपाएका कोइराला मुख्यमन्त्रीको आश्वासन पाएपछि प्रदेशमा उम्मेदवार बनेका हुन् । पार्टीको बहुमत आए आफू मुख्यमन्त्री बन्ने उनले बताए । ‘पहिला चुनाव जितेर आउनुपर्याे, पार्टीले सरकार बनाउने अवस्था आयो भने मुख्यमन्त्रीको उम्मेदवार म हो,’ उनले भने, ‘पार्टीका नेताहरुले भनेर मात्रै भएन्, सरकार बनाउने अवस्था पनि  बन्नपर्यो ।’

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अमृत अर्याल मोरङ क्षेत्र नम्बर  ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । उनले दाबी गरेको क्षेत्र माओवादी केन्द्रले पाएपछि शिवकुमार मण्डल गठबन्धनबाट उम्मेदवार छन् । सुरुमा प्रदेशमा उठ्न नमानेका अर्याल सभापति शेरबहादुर देउवाले चुनाव जिते मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि मोरङ ५ को २ बाट उम्मेदवार बने । उनी मुख्यमन्त्रीको दाबेदार हुन् । चुनावी प्रचारका क्रममा अभिव्यक्ती दिए हराउने डर उनलाई  छ । ‘अहिले चुनावी अभियानमा छौं,’ उनले भने, ‘अहिले बोल्ने बेला भएको छैन ।’

डाक्टर शेखर कोइरालाका पक्षबाट राजिव र देउवा पक्षबाट अर्याल मुख्यमन्त्रीको मुख्य दाबेदार हुन् ।

विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली पनि मुख्यमन्त्रीको दाबेदार हुन् । उनले खुलेर मुख्यमन्त्री बन्नका लागि भन्दै भोट मागिरहेका छन् । ‘महानगरको मेयर भइसकेको म मुख्मयमन्त्रीको स्वाभाविक दाबेदार हुँ,’ पराजुली भन्छन्, ‘पार्टीका नेताले मुख्यमन्त्री बनाउने भनेपछि प्रदेशमा आएँ ।’

आफूसँग स्थानीय सरकार चलाएको अनुभव भएका कारण प्रदेश सरकार पनि सहज रुपमा चलाउने उनले बताए । मोरङ क्षेत्र नम्बर ४ को २ बााट उम्मेदवार बनेका पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् ।

सोही क्षेत्रमा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार जीवन घिमिरे पनि मुख्यमन्त्रीको दाबेदार हुन् । मोरङ ४ को १ मा कांग्रेसबाट उम्मेदवार बनेका गुरुराज घिमिरे पनि चुनाव जिते मुख्यमन्त्री बन्ने लाइनमा छन् । घिमिरे र पराजुली दुबै क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर गठबन्धनमा भागबण्डा गर्दा सो क्षेत्र माओवादीले पाएको छ । माओवादीले अमनलाल मोदीलाई उम्मेदवार बनाएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि भोजपुरबाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए ।  प्रतिनिधिसभा सदस्यको सिट माओवादी केन्द्रका सुदन किराँतीले पाएपछि उनी भोजपुरको १ बाट प्रदेशसभामा उठेका छन् ।  राईले ‘प्रदेश १ को मुख्यमन्त्रीमा निरन्तरताका लागि’ भन्दै मत मागिरहेका छन् । ‘राजेन्द्र राई मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुनुहुन्छ,’ मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार जीवन राईले भने,‘पार्टीले उहाँलाई नै मुख्यमन्त्रीको रुपमा अघि सार्छ ।’

माओवादी केन्द्रका नेता तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीको दाबेदार हुन् । उनी मुख्यमन्त्री बन्नकै लागि पाँचथरको प्रदेशसभा २ बाट पुनः दोेहोरिएका  छन् ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टीबाट आङ्बो मुख्यमन्त्रीको दाबेदार भएको बताए । चुनावी अभियानमा रहेका आङ्बोले भने मुख खोलेका छैनन् । उनी समय आएपछि बोल्ने बताउँछन् । माओवादी केन्द्रबाट प्रदेशमा उठेका १९ उम्मेदवार मध्ये उनी सिनियर नेता हुन् ।

निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने आशमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले मुख्यमन्त्रीको आश गरेका हुन् ।

प्रदेश १ का पूर्व दुई मुख्यमन्त्री शेरधन राई र भीम आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि एमालेबाट प्रदेशमै दोहोरिएका दुई पूर्व मन्त्री मुख्यमन्त्रीको आकांक्षी छन् ।

झापा क्षेत्र नम्बर ५ को २ बाट उम्मेदवार बनेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की मुख्यमन्त्रीको प्रमुख दावेदार हुन् । शेरधन राई नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । ‘पार्टीबाट औपचारिक निर्णय भएको छैन तर मुख्यमन्त्रीको स्वभाविक उम्मेदवार म हो,’ कार्की भन्छन्, ‘मतदातासँग मुख्यमन्त्रीका विषयमा खुलेर कुरा गरिरहेको छु ।’

मुख्यमन्त्रीको अर्काे दाबेदार जीवन घिमिरे १० बुँदे पक्षधर हुन् । घिमिरेलाई उम्मेदवार बन्नबाटै रोक्न नेकपा एमालेले जसपासँग गठबन्धन गर्दा उनको क्षेत्र मोरङ क्षेत्र नम्बर ४ को २ जसपालाई दिने सहमति गरेको थियो । तर मनोनयन दर्ताको दिन दिउँसो पार्टीबाट टिकट पाए । चुनावी अभियानमा रहेका उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् । ‘अहिले त चुनाव जित्ने प्रमुख विषय हो,’ उनले भने, ‘भोलि प्रक्रियामा गएपछि दाबी रहन्छ ।’

उनी शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मन्त्रीबाट राजीनामा दिएका उनी पार्टी विभाजन हुँदा एमालेमा रहे ।

२०७४ सालको निर्वाचनपछि पार्टीको संसदीय दलको नेता छनोटको निर्वाचनमा उनी आफ्नो पक्षका नेता भीम आचार्यलाई छाडेर शेरधन राईको पक्षमा उभिएका थिए । अप्ठ्यारोमा सहयोग गरेको भन्दै राईले त्यसबेला घिमिरेलाई सामाजिक विकास मन्त्री बनाएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?