+
+

‘योग्य जनशक्ति पनि प्रतिस्पर्धामा सहभागी हुन छाडे’

विश्वविद्यालयहरूबाट योग्य जनशक्ति उत्पादन नै नभएको होइन । जो योग्य उत्पादन भए तिनीहरू यो संस्कारमा जागिर खाएर केही वृत्ति–विकास हुँदैन भनेर प्रतिस्पर्धामा सहभागी नै हुनछाडे ।

प्रा.डा.सुसन आचार्य, शिक्षाविद् प्रा.डा.सुसन आचार्य, शिक्षाविद्
२०७९ असोज २८ गते १९:३२

श्रम बजारमा योग्य जनशक्ति उत्पादन कम भइरहेको देखिएको छ । यो शिक्षा क्षेत्रको असफलता हो । शिक्षा क्षेत्र असफल हुनेवित्तिकै समाजका सबै क्षेत्रमा सीधै असर पर्छ । समाज कता जाँदैछ भन्ने कुरा कस्तो जनशक्ति श्रम बजारमा निस्किन्छन् भन्ने कुराले निर्धारण गर्छ ।

श्रम बजारमा मान्छे योग्य भएनन् भन्दैमा समाज खत्तमै हुन्छ भन्ने पनि हैन । किन भने हाम्रा पूर्वजहरू शिक्षाको अवसरबाट वञ्चित भए पनि उनीहरूले समाज चलाएर बसेकै थिए । औपचारिक शिक्षा नलिएकाहरूले पनि समाजलाई राम्रोसँग चलाएका थिए । तर, श्रम बजारमा मान्छे जान नसक्ने भएपछि त्यसले आर्थिक क्षेत्रमा असर गर्छ र समाजमा प्रत्यक्ष प्रभाव पार्छ ।

हाम्रा विश्वविद्यालयहरूले योग्य जनशक्ति उत्पादन गर्न नसकेकै हो । यो सत्य हो र यसलाई सबैले स्वीकार गर्नैपर्छ । जो योग्य छ उनीहरू प्रतिस्पर्धा गर्न जानै छोडे । किनभने दलीय राजनीति यति हावी भयो कि योग्य व्यक्तिले ‘म मेरो योग्यता अनुसार नेतृत्वमा पुग्छु’ भन्ने विश्वासै गर्न छोडे ।

जहाँ त्यहीं राजनीति हावी भयो । आफ्नो स्वार्थको मान्छेहरू घुसाए । त्यसले कुनै स्वतन्त्र विचार भएका अथवा काम गर्न चाहने व्यक्तिहरूमा ‘यो संस्थामा बसेर मेरो वृत्ति–विकास हुन्छ’ भन्ने विश्वास नै हुन छोड्यो । कुनै पनि राजनीतिक दलमा आवद्ध नभएका तर योग्य मान्छेले ठाउँ पाउने अवस्था नै छैन । अहिले योग्य व्यक्तिहरूले भन्दा पनि राजनीतिक पहुँच भएकाहरूले ठाउँ पाउँछन् ।

विश्वविद्यालयहरूबाट योग्य नै उत्पादन नभएका पनि होइनन् । जो योग्य उत्पादन भए तिनले यो संस्कारमा जागिर खाएर मेरो केही वृत्ति–विकास हुन्छ भन्ने विश्वास गर्न छोडे । त्यही अविश्वासको कारण प्रतिस्पर्धामा सहभागी नै हुनछोडे ।

यसअघि नै र अहिले प्रतिस्पर्धाबाट योग्य व्यक्तिहरू जो छिरेका छन्, छिर्छन् उनीहरू स्वतन्त्र, सक्षम पदाधिकारीहरू अथवा नेतृत्व भएका स्थानमा राम्रो क्षमता देखाउन सक्छन् । तर त्यस्ता व्यक्ति बढुवा भएर अर्थात् लेक्चररमा भएको उप, सह–प्राध्यापक हुन्छन् तर क्षमताका आधारमा नेतृत्व तहमा पुग्न सक्ने अवस्था छैन ।

बढुवा हुनु पनि एउटा वृत्ति–विकास त हो तर त्यति मात्रै होइन । उनीहरू अनुसन्धान, नेतृत्वदायी भूमिका निभाउनुपर्ने ठाउँहरू पनि छन् । तर जो राजनीतिक पार्टीको फेरो समाउँछ नेतृत्वमा उही पुग्छ । जो योग्य हुन्छ ऊ चाहिं राजनीतिक नियुक्ति अथवा राजनीतिक पहुँचको भरमा नेतृत्व तहमा पुग्नेको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यसले योग्य व्यक्तिलाई हीनताबोध गराउँछ । त्यसैले यो संस्कारमा हीनताबोध महसुस गरेर समय बिताउन किन आउँछन् ?

राजनीतिक पार्टीहरूले अनेक बहानामा जहाँ पनि गिजोलेको कारण यस्तो भएको हो । हाम्रो विद्वत् वर्ग भनिनेहरूले पनि राजनीतिक दलको फेरो समाउन छोड्नुपर्छ । आफ्नै बलबुतामा उभिन सक्छु भनेर आँट नगरेसम्म यस्तै भइरहन्छ ।

आफ्नो योग्यता, क्षमतामाथि विश्वास नगरेर राजनीतिक पार्टीको फेरो समाएर भर्‍याङ चढ्न नछोडे यस्तै रहन्छ । राजनीतिक दलहरूले गिजोल्न छोड्दैनन् । किनभने निजी शिक्षण संस्थाहरू उनीहरूकै छन् ।

निजीलाई सफल बनाउनका लागि सर्वसाधारणका सन्तान अध्ययन गर्ने विश्वविद्यालय, क्याम्पस, सार्वजनिक संस्थाहरूलाई ध्वस्त नपारी हुँदैन । राजनीतिक दलहरूको स्वार्थले शिक्षण संस्थाहरू धरासायी भइरहेका छन् । धरासायी शिक्षण संस्थाहरूबाट सीमित क्षमतावान जनशक्ति मात्रै उत्पादन हुन्छन् ।

(शिक्षाविद् आचार्यसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?