
२८ असोज, पोखरा । नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालमा हुँदैछ । तर असोज ३ गतेदेखि नै पोखराको ब्याडमिन्टन कभर्डहलमा सुरु भएको फेन्सिङ प्रतियोगिता भने शुक्रबार बिहान सम्पन्न भएको छ । विभागीय टोली त्रिभुवन आर्मी सर्वाधिक ५ स्वर्ण, ५ रजत र ७ कांस्यसहित कुल १७ पदक जितेर च्याम्पियन बन्यो ।
च्याम्पियन बन्ने लक्ष्य राखेको अर्को विभागीय टिम एपीएफ भने तेस्रो भयो । एपीएफ यस पटक २ स्वर्ण, ४ रजत र ७ कांस्यसहित १३ पदक जित्यो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो भएको एपीएफलाई यस पटक बागमती प्रदेशले पटि पार्दै दोस्रो भयो ।
बागमती प्रदेशले ४ स्वर्ण ३ रजत र १ कांस्यहसति ८ पदक जित्यो । फेन्सिङमा इपी, फोएल र साबर गरी तीन विधामा कुल १२ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा एपीएफ ६ स्पर्धामा फाइनल पुग्दा २ वटामा मात्र जित हात पार्दै स्वर्ण जित्न सफल भयो ।
एपीएफका लागि पुरुष साबरमा राजेन्द्र गजुरले र मन्दिरा थापा, अनिशा राई, अनिता अधिकारी र उर्मिला माझी सम्मिलित महिला टिमले फोएलमा स्वर्ण जित्यो ।
शुक्रबार भएको अन्तिम इभेन्ट पुरुष टिम इपीको फाइनलमा एपीएफ विभागीय प्रतिस्पर्धी आर्मीसँग पराजित हुँदै रजतमै चित्त बुझाउन बाध्य भयो ।
आठौं खेलकुदमा भन्दा नवौँमा एपीएफको स्वर्ण संख्या घट्यो । स्वर्ण पदक अपेक्षा गरेका खेलाडी बिरामी भएपछि नतिजा आफ्नो पक्षमा नआएको एपीएफको भनाइ छ ।
टिम च्याम्पियन लक्ष्यमा डेंगु बाधक
२०७३ को पहिलो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा एपीएफ टिम च्याम्पियन बनेको थियो । त्यसपछिका प्रतियोगितामा एपीएफ फेन्सिङमा दोस्रो हुँदै आएको छ । यस पटक त्यसमा सुधार गर्दै टिम च्याम्पियन बन्ने एपीएफको लक्ष्य थियो ।
तर प्रतियोगिता सुरु हुनु अघिदेखि नै खेलाडी बिरामी हुन थालेपछि एपीएफको त्यो लक्ष्य पूरा हुन सकेन । एपीएफका प्रशिक्षक सुवास आचार्यका अनुसार तीन खेलाडी डेंगुबाट प्रभावित थिए । उनीहरुले शतप्रतिशत प्रदर्शन गर्न सकेनन् ।
‘हामी टिम च्याम्पियन बनै बन्ने लक्ष्यमा थियौँ । तर खेलाडीहरुमा डेंगुको समस्या हुँदा र वैकल्पिक खेलाडी पनि नहुँदा गाह्रो पर्यो’, आचार्यले भने । जंग गिरीले हातमा चोटका बावजुद पनि खेले ।
आचार्यका अनुसार एपीएफका खेलाडीहरु मन्दिरा थापा, उर्मिला लामा र अनिता कार्कीलाई प्रतियोगिताअघि नै डेंगु संक्रमण भएको थियो ।
एपीएफकी मन्दिरा थापाले यसअघि काठमाडौंमा भएको गणेशमान फेन्सिङ च्याम्पियनसिपमा दुई स्वर्ण जितेकी थिइन् । ७ वर्ष देखि फेन्सिङ खेल्दै आएकी मन्दिराले २०७५-०७६ मा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत र टिम इभेन्ट दुवैमा स्वर्ण जितेकी थिइन् ।
तर उनले यस पटक महिला टिम फोएलमा मात्र स्वर्ण जितिन् । व्यक्तिगतमा भने उनी सेमिफाइनलमै आर्मीकी रमा सिंहसँग पराजित भइन् ।
‘डेंगुबाट रिकभरी भएर खेल्दा अलि गाह्रो भयो । फाइनलमा खेल्ने विपक्षीसँग सेमिफाइनलमै भिड्दा पराजित भएँ’ उनले भनिन्, ‘च्याम्पियन बन्ने लक्ष्य थियो तर डेंगीको समस्याले गर्दा सम्भावना कम थियो । खेलाडी पनि कम थिए ।’
मन्दिरासँगै एपीएफकी अनिता कार्की पनि स्वर्णकी दाबेदार थिइन् । तर उनले पनि ज्वरो ठीक नभइसकेकाले शतप्रतिशत प्रदर्शन गर्न नसकेको बताइन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4