+
+

लुम्बिनीका प्रदेशसभामा एकीकृत समाजवादीले पाएन सिट

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असोज २८ गते १५:५४
फाइल तस्वीर

२८ असोज, बुटवल । लुम्बिनी प्रदेशका सबै ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले सत्तरुढ गठबन्धनको समर्थन पाउन सकेन ।

सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले ३३, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा एकीकृत समाजवादी भने भागवण्डामा एक सिट पनि पाउन सकेन ।

प्रतिनिधि सभा सदस्यतर्फ प्रदेशका २६ सिटमा दाङ–१, पाल्पा २, गुल्मी–२ र रुपन्देही–२ गरी ४ सिट पाएको एकीकृत समाजवादी प्रदेशसभाको प्रत्यक्षतर्फ भने शून्य उम्मेदवार भएपछि भावी प्रदेश सरकारमा उपस्थिति नहुने सम्भावनाले पार्टीभित्र असन्तुष्टी बढेको छ ।

प्रतिनिधि सभामा चार सिट पाएकाले र उनीहरुको जितका लागि कांग्रेस र नेकपा माओवादी केन्द्रको मत पनि आवश्यक पर्ने भएकाले प्रदेशसभामा टिकट नपाएको विषय एकीकृत समाजवादीका नेताहरुले उठाउन सकेका छैनन् ।

‘हाम्रो पार्टीले प्रदेश सभाका कम्तीमा ७ क्षेत्र मागेको थियो, तर नियोजितरुपमा एक सिट पनि दिइएन’, प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘कांग्रेस र माओवादी मात्रै मिलेर वहुमत पुर्‍याउने र सरकार चलाउने योजना बनाएको देखियो ।’

गठबन्धनका नाममा माओवादीले मात्रै फाइदा लिएकाले आफ्नो पार्टी अन्याय र पीडामा परेको उनको दुखेसो छ । ‘खुलेर विरोध गर्दा प्रतिनिधि सभामा पाएका क्षेत्रमा उनीहरुको भोट नपाएर हार्ने डर छ’, एकीकृत समाजवादीका अर्का एक नेताले भने, ‘चार जना नेताको भाग पुर्‍याउन खोज्दा प्रदेशमा पार्टी कमजोर र प्रदेश सभामा उपस्थिति शून्य हुने डर भयो ।’

लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिको मतको आधारमा मात्र एकीकृत समाजवादीका सांसद निर्वाचित हुन सक्छन् । समानुपातिकतर्फ कम मत आएमा प्रदेशसभा र प्रदेश सरकारमा पार्टीको उपस्थिति नहुने देखेपछि कार्यकर्ताहरुमा निराशा बढेको छ ।

एकीकृत समाजवादीका प्रदेश इन्चार्ज भागवत विश्वासीले भागवण्डामा गठबन्धनले एक सिट पनि नदिएपछि पार्टीले कपिलवस्तु, बर्दिया, बाँके लगायतका जिल्लाका प्रदेश सभा क्षेत्रहरुमा उम्मेदवारी दिएर गठबन्धनको साथ खोजेको तर उनीहरुले नमानेको स्वीकारे ।

‘हामीमाथि अन्याय र पीडा भएपनि गठबन्धनको पक्षमा उभिनुपर्ने वाध्यता छ’, उनले भने । यसअघि लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादीबाट एकजना सांसद थिए । प्रदेशसभाको कार्यकालको अन्तिममा ८१ प्रदेशसभा सदस्य कायम रहँदा नेकपा एमालेको ३६, कांग्रेसको १९, माओवादीको १९, जसपाको ४, राष्ट्रिय जनमोर्चाको एक सांसद थिए ।

यस्तो छ भागबण्डा

नवलपरासी पश्चिम–१(१) कांग्रेस र १ (२) माओवादीले पाएको छ । नवलपरासी पश्चिम–२ (१) माओवादी केन्द्र र २ (२) कांग्रेसले पाएको छ ।

रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ (१) कांग्रेस र २(२) माओवादी केन्द्रले पाएको छ । रुपन्देही–३ को प्रदेश सभा (१) लोसपा र (२) कांग्रेसले पाएको छ ।

रुपन्देही–४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने ५ (१) मा माओवादी केन्द्र र (२) मा कांग्रेसले पाएको छ ।

कपिलवस्तु–१ र २ को प्रदेशसभाको ४ वटै सिट कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को (१) मा माओवादी केन्द्र र (२) मा कांग्रेसले पाएको छ ।

दाङ–१ (१) माओवादी केन्द्र, १(२) कांग्रेस, २ का दुबै क्षेत्र कांग्रेसले तथा दाङ ३ (१) कांग्रेस र (२) माओवादी केन्द्रले पाएका छन् ।

बाँके–१ (१) माओवादी केन्द्र र १ (२) कांग्रेस र २ (२) कांग्रेसको भागमा परेको छ ।

बाँके ३ (१) माओवादी केन्द्र र ३ (२) कांग्रेसले पाएको छ । बर्दिया १ (१) कांग्रेस र (२) माओवादी केन्द्रले पाएका छन् । बर्दिया २ (१) कांग्रेस र (२) माओवादी केन्द्रले पाएको छ ।

गुल्मी १ (१) माओवादी केन्द्र र १(२) कांग्रेसको भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ (१) कांग्रेस र २(२) माओवादीको भागमा परेको छ ।

पाल्पा–१ का प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ (१) कांग्रेस र २(२) माओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र कांग्रेस र राष्ट्रिय जनमोर्चाले बाँडेका छन् । रुकुम पूर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा एउटा माओवादी केन्द्र र अर्को कांग्रेसले पाएका छन् । प्यूठानमा प्रदेशसभातर्फ (१) माओवादी केन्द्र र (२) कांग्रेसको भागमा परेको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?