
२८ असोज, पोखरा । रोल्पाकी शर्मिला रोकामगर भैरहवामा भएको लुम्बिनी प्रदेशको महिला क्रिकेट टिमको छनोट खेल खेलेर दशैं मनाउन दाङ पुगिन् । मन बेचैन थियो – टिममा परिन्छ कि परिँदैन ?
टिममा परेको खबर आए दशैंलगत्तै उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेट खेल्न पोखरा पुग्नुपर्ने थियो । तर १८ असोजमा उनलाई भाइले पुर्ख्यौली घर रोल्पा जने प्रस्ताव गरे । काठमाडौंमा स्नातकोत्तर गरिरहेकी शर्मिला गृह जिल्ला नपुगेको वर्षौं भइसकेको थियो । त्यसैते १९ गते साँझ नै फर्किने गरी दाङबाट रोल्पा जान राजी भइन् ।
१८ गते अपरान्ह ४ बजे रोल्पाको सुलीचौर पुग्दा लुम्बिनी प्रदेशको महिला क्रिकेट टिमका प्रशिक्षक सञ्जु केसीले शर्मिलालाई फोन गरेर टिममा परेको जनकारी दिए । त्यतिबेलासम्म पनि आकाश सफा थियो, मौसम खुलेकै थियो । उनले प्रशिक्षकलाई भनिन्, ‘हुन्छ दाइ म भोलि साँझसम्म (१९ गते) दाङ आइपुग्छु ।’
रोल्पा सदरमुकाम लिबाङबाट २० किलोमिटर टाढा पेवा भन्ने गाउँमा पुग्दा साँझको ८ बजिसकेको थियो । तर, शर्मिला पेवास्थित बहिनी ज्वाइँको घरमा पुगेको केहीबेरमै पानी पर्न थाल्यो । ‘ठूलो पानी पर्यो भने कसरी फर्किने भन्ने चिन्ताले सताउन थाल्यो,’ शर्मिला सुनिन्छन्, ‘नभन्दै अर्को दिन पनि पानी रोकिने छाँट देखाएन । झरीझरी झन्झन् बढ्न थाल्यो ।’
बर्षातपछि मोवाइल नेटवर्कले पनि काम गरेन । बसिरहेकै ठाउँ वरिपरि लगालग पहिरो जान थाल्यो । पहिरोले सडकमार्ग थुनिरहेको थियो । उनले प्रशिक्षकलाई भनेझैं १९ असोजमा दाङ झर्न सकिनन् । पानी रोकिने आशमा रोल्पामै बसिरहिन् ।
‘अति नै भएपछि झरी, कुहिरो, पहिरो छिचोल्दै २० गते बिहानै लिबाङसम्म जसोतसो पुग्ने भनेर बिहानै निस्किएँ’ शर्मिलले सुनाइन् ।
तर, शर्मिलाले सोचेजस्तो भएन । पेवादेखि लिबाङसम्म आइपुग्ने सडक पहिरोले धेरै क्षतविक्षत बनाइसकेको थियो । बर्षात नरोकिएकाले पहिरो झर्न पनि रोकिएको थिएन । ‘हिँड्ने एउटा पनि बाटो थिएन । कहिले माथिबाट पहिरो झथ्र्यो, कहिले बाटो मुनिबाट जान्थ्यो । जंगलको बाटो जान खोज्दा त केहीबेर हराइयो पनि’, उनले भनिन्, ‘लिबाङ पुग्न सक्ने अवस्था नै रहेन ।’
त्यसपछि उनी पुनः बहिनीकै घर पेवा फर्किइन् । ‘२ घन्टा हिँडेर फोन लाग्ने ठाउँमा पुगेर दाइ (कोच) लाई खबर गरें । उहाँले आउन सक्ने अवस्था छ भने आऊ भन्नुभयो । तर, त्यहाँको अवस्था त्यस्तो थिएन । म निराश भएर गाउँ नै फर्किएँ’ शर्मिलाले सुनाइन् ।
२१ असोजको बिहान मौसम केही सुधारियो । शर्मिला बिहानै उठेर रोल्पा सदमुकाम लिबाङसम्म पुग्न हतारिइन् । नियमित बाटो पहिरोले अवरुद्ध भएपछि अर्को बाटो रोजिन् ।
गाउँले आफन्तको साथ लागेर बिहान ७ बजे बहिनीको घरबाट हिँडेकी उनी अपरान्ह ४ बजे लिबाङ आइपुगिन् । यति हिँड्दा उनको खुट्टा सुन्निन थालेको थियो भने जुत्ता पनि आधा च्यातिएको थियो ।
‘लिबाङ पुगिसकेपछि त अब सजिलै दाङ पुग्न सकिन्छ भनेर लामो सास फेरें,’ शर्मिलाले दुख सम्झिइन्, ‘लिबाङ बजार आएर जोडले चिच्याएँ । कम्ता खुसी भइनँ ।’
२२ गते लिबाङबाट दाङको घोराही जाने बस नपाएपछि शर्मिला भालुबाङसम्म जानका लागि काठमाडौं जाने बसमा चढिन् । ५ किलोमिटर टाढा सातदोबाटो भन्ने ठाउँमा पुगेपछि बसलाई ट्राफिक प्रहरीले रोक्यो । ‘यो बस लिबाङ नै फर्काउनुस् । बाटोमा पहिरो खसेको छ । २, ३ पन्छाउन सक्ने अवस्था छैन’ ट्राफिक प्रहरीको भनाइले शर्मिला अत्तालिइन् ।
‘२४ गते गेम थियो । २३ गते जसरी पनि रिपोर्टिङ हुनुपथ्र्यो । कोचलाई फोन गरेर अब त सक्दिनँ, विकल्प नै भएन भनें,’ उनले भनिन्, ‘दाइले पत्रिकाको बस हुन्छ कि एम्बुलेन्समा हुन्छ जसरी पनि आऊ भन्नुभयो । तर, बाटो नै बिग्रेकाले कुनै माध्यम थिएन ।’
२३ असोजको बिहान ७ बजे टिममा रिपोर्टिङ भइसक्नुपर्ने बाध्यता थियो । नभए नवौं राष्ट्रिय खेल शर्मिलाको सपना सपनामै सीमित हुन्थ्यो ।
बाटोमा शर्मिलाजस्तै अलपत्र पर्नेहरु धेरै थिए । उनीहरुबीच सल्लाह भयो, ‘प्युठानदेखिको बाटो पहिरो गएको भए पश्चिम होलेरीदेखिको बाटो खुलेको हुन सक्छ । जिप रिजर्भ गरेर भए पनि जाने ।’
सल्लाह बमोजिम उनीहरुले जिप रिजर्भ गरे । तर, जब जिप आधा बाटोमा पुग्यो, त्यहाँको बाटो पनि पहिराले क्षतविक्षत बनाइसकेको रहेछ । त्यहाँ गाडी त के मान्छे पार हुन सक्ने ठाउँ पनि थिएन । त्यतिबेला २२ असोजको राति १२ बजिसकेको थियो ।
घना जंगल, एकान्त ठाउँमा शर्मिला आफ्नो साथीहरुसँग अलपत्र परिन् । तर, त्यहाँबाट रोल्पा, दाङ सीमाना नजिकै पथ्र्यो । ‘सबै सल्लाह भइसकेपछि हिँडेरै भए पनि दाङ पुग्ने भयौं । हामी १२ जना थियौं, सबै हिँड्यौं । एकचोटि पनि नबिसाई रातभर हिँड्यौं’, शर्मिलाले भनिन्, ‘होलेरी पुग्दा बिहानको ६ बजेको थियो ।’
होलेरी पुग्दा उनका दुबै खुट्टा सुन्निएका थिए, निरन्तर हिँडाइले खुट्टाभरि घाउ भइसकेका थिए । ‘तर, होलेरी आइसकेपछि भने मनमा केही आशा पलायो । ‘त्यहाँबाट एउटा गाडीमा चढेर दाङ आइयो । तर, लमही–घोराही सडकखण्ड पनि पहिरोले पुरै अवरुद्ध बनाइसकेको रहेछ । टिमका साथीहरु छोडेर (पोखरा) हिँडिसकेका थिए’, उनले भनिन्, ‘तर, जसोतसो गरेर गाडी फेर्दै भए पनि पोखरा आइयो ।’
रोल्पाबाट हिँडेको ४८ घन्टामा पोखरा आइपुगेपछि मात्रै बल्ल आफूले सन्तोषको श्वास फेरेको शर्मिलाले सुनाइन् । ‘हामी खेल्नेहरुलाई त राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु ठूलो गौरवको कुरा हो । बाटोबाटै पटकपटक फर्किनुपर्दा माया नै मारिसकेकी थिएँ । तर, जसरी पनि पोखरा आइसकेपछि भने साह्रै खुसी लाग्यो,’ शर्मिलाले भनिन्, ‘यो घटना त म जीवनमा कहिल्यै बिर्सन सक्दिनँ होला ।’
शर्मिला सहभागी भएको लुम्बिनी प्रदेशको पहिलो खेल प्रदेश १ सँग थियो । सो खेल बर्षातका कारण हुन नसकेपछि अंक बाँडिएको थियो । कर्णालीसँगको दोस्रो खेलमा लुम्बिनी विजयी भयो भने शुक्रबार भएको खेलमा नेपाल पुलिससँग ९७ रनले पराजित भए पनि रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4