+
+
सम्झनामा सत्यमोहन जोशी :

पौराणिक तथ्यको ‘सत्यमोहन’

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ असोज ३० गते १९:४३

२०७९ असोज ३० गतेको बिहानी, अशुभ समाचारले मथिङ्गल रन्थनाइदियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन । उफ् ! यमराजको निर्दयीपन । चित्रगुप्तले बहिखाताबाट सत्यमोहन जोशीको नाम किन हटाएनन् होला ? प्रश्नको झटारो हान्दैछ मनभित्र ।

फुर्सदको परिभाषा के हो ? मानिसलाई फुर्सद चाहिं हुन्छ कहिले ? म आफैं पनि र अरु धेरै मानिसहरु कुरैकुराको प्रसंगमा फुर्सद नै छैन भनिदिन्छन् । मेरो आफ्नै थेगो बनेको फुर्सदको परिभाषा र फर्मुला खोजिरहेको छु म अहिले । उपलब्धिमूलक काम पनि छैन र साँच्चै भन्नु पर्दा मनग्य फुर्सद पनि छैन । फुर्सद नभएरै त होला नि झण्डै छ महिनाअघि किनेको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ अहिलेसम्म पनि पढिसकेको छुइँन ।

२०७९ सालको यो दशैंमा चाहिं पढिसक्छु भन्ने थियो । अँह सकिन । अझै केही अध्याय पढ्न बाँकी नै छ । तिहारलाई बिदाई गर्दासम्म भने पुस्तक पढी भ्याइन्छ कि भन्ने अपेक्षा छ । कस्तो पीडादायी संयोग, लेखक जीवित रहँदै पढ्न सुरु गरेको पुस्तक उनको मृत्युको खबर आउँदासम्म पनि पढिभ्याइएन ।

‘सत्यमोहन’ भित्र जेलिएका शब्दहरुको मेल गराउने कुरामा लेखक गिरीश गिरीले निक्कै मेहनत गरेका छन् । त्यसैले पनि म ‘सत्यमोहन’ पुस्तकभित्रका पौराणिक तथ्यलाई विश्लेषण गर्दै अक्षर, शब्द र वाक्यमा भाषिक चमत्कार छर्न सक्ने लेखक गिरीश गिरीलाई स्यालुट गर्दछु । ‘सत्यमोहन’ पुस्तक शताब्दी पुरुष सत्यमोहन जोशीकै पनि महत्वकांक्षी पुस्तक थियो । धेरैठाँउमा पढेको हो, सत्यमोहन जोशीले आफ्नो आत्मकथा ‘सत्यमोहन’ साफीको क्रममा पनि बारम्बार जिज्ञासा राख्थे रे । अनि ‘सत्यमोहन’ तयार भएर उनको हातमा पर्दा अनौठो चमक देखिएको थियो रे मुहारमा ।

सत्यमोहन जोशीले आफ्नो आत्मकथामा मुद्राको प्रसंगमा दोलखा र राजा जय इन्द्रसिंह देवको चर्चा नगरेकाले इतिहासको एउटा तथ्य मर्ने हो कि भन्ने चिन्ता थपिएको छ । त्यसैले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँगको भेटमा उनले दोलखाबाट प्रचलनमा आएको मुद्राको खोजीको लागि गरेको आग्रहलाई आत्मसात् गर्दै हामी सबै त्यसमा जुट्नुपर्छ ।

१०३ वर्ष बाँचेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी किष्ट अस्पतालको बेडमा मृत्युसँग संघर्ष गरिरहेको समय देशविदेशबाट नेपालीले मात्र होइन, गैरनेपाली समुदायले समेत उनको स्वास्थ्यलाभको कामना गरिरहेका थिए । किनभने सत्कर्मले शताब्दी उमेर पार गरेका सत्यमोहन जोशीले नेपाल र नेपालीलाई गौरव गर्न लायक धेरै कुरा दिएका छन् । भनिन्छ नि दैवको लीला, स्वास्थ्यकर्मीहरुको अथक प्रयत्न र आम समुदायको प्रार्थनाले पनि उनले थप जीवन पाउन सकेनन् ।

चिरञ्जीवी मास्के

सत्यमोहनको नाममा धेरै रेकर्ड छन् । मदन पुरस्कार लेखन क्षेत्रको शिखर विभूषण मानिन्छ । मदन पुरस्कार आफूले चाहेर या सितिमिति लेखनले प्राप्त गर्ने पुरस्कार होइन । सत्यमोहन जोशीले त्यही शिखर विभूषण तीन पटक प्राप्त गरेका छन् । यो उनको नामको अकाट्य रेकर्ड बनेको छ । किनभने मदन पुरस्कार गुठीले यो पुरस्कार एक व्यक्तिलाई एक पटक भन्दा बढी नदिने निर्णय गरिसकेको छ । २०१० सालमा मदनशमशेरको निधनपछि स्थापना गरिएको मदन पुरस्कार पहिलो पटक २०१३ सालमा सत्यमोहन जोशीको पुस्तक ‘हाम्रो लोक संस्कृति’लाई प्रदान गरिएको थियो । त्यसपछि उनले अर्को दुईवटा पुस्तकको लागि मदन पुरस्कार प्राप्त गरेका थिए । २०१७ सालमा उनको पुस्तक ‘नेपाल राष्ट्रिय मुद्रा’ ले दोस्रो मदन पुरस्कार प्राप्त गरेको थियो भने २०२८ सालमा उनको ‘कर्णाली लोक संस्कृति’ पुस्तकले तेस्रो पटक मदन पुरस्कार प्राप्त गरेको थियो ।

सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’मा धेरै कुरा छन् । जसले नेपालको सांस्कृतिक, धार्मिक, पौराणिक, साहित्यिक, राजनीतिक लगायत विषयवस्तुको ऐतिहासिक तथ्यलाई जानकारी दिन्छ । उमेरको हिसाबले, कर्मको हिसाबले, कामको हिसाबले आफैंमा एउटा इतिहास बनेका सत्यमोहनको आत्मकथा कुनै विश्वविद्यालय भन्दा कम छैन । त्यसैले पनि यसको अध्ययन अनिवार्य मात्र होइन, अपरिहार्य नै छ भन्छु म ।

‘सत्यमोहन’ले दुईवटा कुरा दिन्छ– पहिलो, नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक विशेषताका तथ्यगत विवरण । दोस्रो, लेखनकार्य तथ्यमा आधारित नेपाली विशेषतासहितको विविध विषयमा केन्द्रित हुनुपर्छ भन्ने ज्ञान । यो पुस्तक विशेषगरी लेखनमा सक्रिय युवा लेखकहरुका लागि महत्वपूर्ण छ ।

हरेक मानिसको महत्वाकांक्षा लेखनसँग पनि जोडिएको हुन्छ । उमेरको एउटा बिन्दुमा कवितै भए पनि लेख्छन् मानिसले । कविताबाट सुरु हुने मानिसको लेखनकर्म कहाँ गएर टुंगिन्छ भन्ने ठेगान चाहिं हुन्न । कसैले त्यो एउटै कवितामा लेखन यात्रालाई बिट मारिदिन्छ, कसैले त्यसलाई तन्काउँदै र विस्तार गर्दै मृत्युपर्यन्त निरन्तरता दिइरहेका हुन्छन् ।

अर्का शताब्दी पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो लेखन कार्यलाई मृत्युपर्यन्त तन्काइरहेका थिए । ‘ऋतमभरा’ र एउटा गीत ‘यसरी होस मरण…’ त्यसैको उदाहरण थियो । जीवनको अन्त्यतिर लेखेका थिए राष्ट्रकवि माधव घिमिरेले यी दुवै रचना ।

यसरी लेखनलाई निरन्तरता दिनेहरुका लागि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ मार्गदर्शन पुस्तक हुने छ । अबको लेखन ऐतिहासिक तथ्यसहितको हुनुपर्छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो मदन पुरस्कार दिलाउने पुस्तक ‘हाम्रो लोक संस्कृति’ तथ्यमा आधारित लेखनी थियो । त्यसमा नेपालको विभिन्न ठाँउमा प्रचलनमा रहेका लोकगीतहरु संकलित थिए । नेपाली भूगोल, भाषा र समाजको प्रचलन अनुसारका स्थायी, अन्तरा रहेका लोकगीतको संग्रहले नेपालको सांस्कृतिक तथा साहित्यिक सभ्यताको परिचय दिएको थियो ‘हाम्रो लोक संस्कृति’ पुस्तकले ।

हाम्रो मुलुकका गाँउघरमा महाभारतकालीन सभ्यताहरु छन् । प्रमाण र तथ्य सहितका विभिन्न लोकोक्तीहरु छन् । शिव, राम–सीता, पाँच पाण्डव, बुद्ध भगवानका तथ्यगत लोकोक्ती छन् । यस्ता तथ्यलाई हाम्रो लेखनमा समाविष्ट गर्न सकियो भने यो पुस्तौंपुस्तासम्म निरन्तर रहनेछ । वाङ्मय शताब्दी पुरुषको ‘सत्यमोहन’मा उल्लेख भएका धेरै तथ्य हामीले अहिलेसम्म नदेखेको मात्र होइन, नसुनेका समेत छन् । यदि उनले ती तथ्यहरुलाई आफ्नो आत्मकथा ‘सत्यमोहन’मा उल्लेख नगरेको भए भोलिका दिनमा त्यो किंवदन्तीको रुपमा समेत सम्झिंने अवस्था बन्ने थिएन । त्यसैले लेखनको विषय कविता, कथा, संस्मरण, नियात्रा, नाटक, निबन्ध, गीत–गजल जेसुकै होस् त्यसमा तथ्यगत पौराणिक प्रसंग उल्लेख हुनु उपयुक्त हुन्छ ।

हाम्रो लेखनले नै हाम्रो सभ्यतालाई शताब्दियौंसम्म जीवन्त राख्नेछ । हामी अहिले सोह्रौं, सत्रौं शताब्दीका विषयहरु उल्लेख गरिरहेका छौं । त्यो कसरी सम्भव भयो होला ? त्यतिबेला ढुंगामा कोरेर तथ्यगत विवरण उल्लेख गरिएकैले त्यो सम्भव भएको हो । अहिले आधुनिक प्रविधिको विकाससँगै त्यस्ता तथ्यहरुलाई संग्रहित गर्न पुस्तक, भिडियो आदि उपयुक्त माध्यम बनेका छन् ।

म लेखक नै त होइन, तर मैले मनमा शब्दहरु तरंगित बन्दै गर्दा जति कुराहरु कोरेको छु त्यो तथ्यगत पौराणिक प्रसंगलाई केन्द्रमा राखेरै कोरेको छु । सुरुका लेखन यात्रा शुद्ध प्रेमका भावनासँग मात्र सम्बन्धित थिए होलान्, तर जतिबेला पौराणिक सभ्यता र तथ्यगत लेखन महत्वको बोध भयो मैले मेरा हरेक शब्द यात्रालाई पौराणिक तथ्यकै सेरोफेरोमा केन्द्रित गर्न सुरु गरेको छु ।

दोलखासँग जोडिएको एउटा प्रसंग,

नेपालमा पहिलो सिक्का प्रचलनमा ल्याउने राजा जय इन्द्रसिंह देव हुन् भन्ने तथ्य नेपालको राष्ट्रिय मुद्रा संग्रहालयमा समेत उल्लेख गरिएको छ । पुस्तकका अध्यता ई. सुरेश राउत, राजनीतिज्ञ वसन्तराज कार्की, पत्रकार जीवन लामा लगायतसँगको भेटमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भन्नु भएको रहेछ– फस्ट क्वाइन एभर माइन्टेड इन दोलखा । सुरेशले सम्झनुभयो त्यो भेटको प्रसंग, शताब्दी पुरुष सत्यमोहनले सुरेशलाई नेपालको पहिलो सिक्काको विषयमा त्यसका अघि र पछिका इतिहास खोज्न अह्राउनुभएको थियो रे ।

इतिहासका अध्यता दोलखाका स्थानीय शान्तकृष्ण श्रेष्ठको अध्यनमा पनि जय इन्द्रसिंह देवको पालामा १६ औं शताब्दीमा दोलखाबाट प्रचलनमा आएको चाँदीको (मोहोर) सिक्का नै नेपालको पहिलो सिक्का हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले २०१७ सालमा मुद्रा सम्बन्धी एउटा लेख प्रकाशित भएको र त्यस लेखमा नेपालमा पहिलो चाँदीको सिक्का दोलखाबाट प्रचलनमा आएको प्रसंग उल्लेख भएको शान्तकृष्ण श्रेष्ठ बताउँछन् ।

तर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’मा उल्लेख भएको राष्ट्रिय मुद्रा सम्बन्धी विवरणमा भने नेपालमा पहिलो चाँदीको मुद्रा १६ औं शताब्दीमा काठमाडौंमै राजा महेन्द्र मल्लले सुरु गरेको उल्लेख छ । राष्ट्रिय मुद्रा सम्बन्धी प्रसंगमा सत्यमोहन जोशीले नेपालमा चाँदीको सिक्का पहिलो पटक राजा महेन्द्र मल्लले प्रचलनमा ल्याएको भन्ने विश्वास रहिआएकोमा आफूले एक सर्वसाधारण व्यक्तिबाट प्राप्त गरेको एउटा सिक्काले त्यो विश्वासलाई गलत सावित गरिदिएको र पहिलो चाँदीको मुद्रा प्रचलनमा ल्याउने राजा महेन्द्र मल्ल भएको कुरा उल्लेख गरेका छन् ।

ई. सुरेशसँगको भेटमा र २०१७ सालमा लेखिएको मुद्रा सम्बन्धी लेखमा नेपालमा पहिलो पटक चाँदीको मुद्रा चलाउने राजा दोलखाका जय इन्द्रसिंह देव भएको चर्चा गर्ने वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो आत्मकथामा उल्लेख गरेको राष्ट्रिय मुद्रा सम्बन्धी विषयमा कहींकतै दोलखाको प्रसंग र राजा जय इन्द्रसिंह देवको प्रसंग उल्लेख नहुनु प्राविधिक भूल हुनसक्छ ।

सत्यमोहन जोशीले आफ्नो आत्मकथामा मुद्राको प्रसंगमा दोलखा र राजा जय इन्द्रसिंह देवको चर्चा नगरेकाले इतिहासको एउटा तथ्य मर्ने हो कि भन्ने चिन्ता थपिएको छ । त्यसैले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँगको भेटमा उनले दोलखाबाट प्रचलनमा आएको मुद्राको खोजीको लागि गरेको आग्रहलाई आत्मसात् गर्दै हामी सबै त्यसमा जुट्नुपर्छ । जसकारण ‘सत्यमोहन’ भित्र छुटेको एउटा तथ्य लिपिबद्ध हुने कुरामा सहयोग पुग्नेछ ।

अन्तमा, हरेक कालखण्डको पौराणिक तथ्यलाई लिपिबद्ध गरेर जीवन्त राख्न पहल गर्ने वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति शब्द श्रद्धासुमन अर्पण गर्दछु । नेपालको नक्सा, नेपाली मुद्रा, अरनिको, चर्या नृत्य, विष्णु विक्रान्तको मूर्ति, खस सभ्यता जस्ता अरु धेरै पौराणिक विषयको खोज र तथ्य प्रमाणीकरणको लागि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आवश्यकता अरु धेरै वर्ष थियो, तर यमराजको अघि कसैको जोड चलेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?