+
+
अन्तर्वार्ता :

‘सरकारले नीतिगत निर्णय गर्न पाउँदैन, हामी यसलाई रोक्छौं’

आचारसंहिता लागू भएपछि अर्थात् १२ असोजभन्दा अघि यस्ता निर्णय भएको हो भने आयोगले क्षेत्राधिकार ग्रहण गर्दैन । त्यसपछि यदि कानुनले निषेध गरेको विषयमा सरकारले नीतिगत रूपमा निर्णय गरेर लागू गर्छ भने त्यसो गर्न पाइँदैन, यो कारबाहीको विषय हुन्छ ।

रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त
२०७९ असोज ३१ गते २०:१५

चुनाव घोषणा हुनलाग्दा र भएपछि पनि सरकार एकपछि अर्को नीतिगत र दूरगामी महत्व राख्ने निर्णय गरिरहेको छ । तर, निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ‘सरकार छ भन्ने अनुभूति होस् भन्नका लागि मात्रै कामचलाउ सरकारको व्यवस्था गरिएको हो । त्यसैले उसले दैनिक कामचलाउ बाहेक अरू काम गर्न पाउँदैन, आचारसंहिता र कानुनले निषेध गर्छ’ भन्छन् । भण्डारीसँगको संक्षिप्त कुराकानी :

निर्वाचन घोषणापछि भएका सरकारका कामकारबाहीलाई निर्वाचन आयोगले कसरी हेरिरहेको छ ?

निर्वाचन घोषणा भइसकेपछि सरकार कामचलाउ हुन्छ । अन्तर्राष्ट्रिय मान्यता पनि त्यही हो । घोषित मितिमा निर्वाचन भइसकेपछि नयाँ जनप्रतिनिधिबाट चयन हुने सरकार मात्रै पूर्ण सरकार हो । निर्वाचनको घोषणापछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मको सरकारले कुनै पनि दीर्घकालीन काम गर्न पाउँदैन । नीतिगत निर्णय, ठूला प्रकृतिका विषयवस्तुहरू स्वीकृत गर्ने काम गर्न पाउँदैन ।

नेपालको अभ्यास हेर्दा आचारसंहितालाई अलि बढी उजागर गर्न खोजेको देखिन्छ । निर्वाचन घोषणा भइसकेपछि आचारसंहिता जारी हुनुअघि कर्मचारी व्यवस्थापन, सरुवा/बढुवालगायतका निर्णयलाई यसले निषेध गर्दैन । यो निर्वाचनका क्रममा हामीले १२ असोज २०७९ देखि आचारसंहिता लागू गर्‍यौं । आचारसंहिता लागू भएपछि नीतिगत निर्णय, कर्मचारी सरुवा–बढुवा, उद्घाटन, शिलान्यासलगायत सबै काम निषेध भएका छन् ।

सरकारले आफ्नो पूर्णकालीन अवस्थामा जस्तै कैयौं काम गरिरहेको छ । आयोगले जानकारी नपाएको हो ?

निषेधित कामहरू कसैले पनि गर्न पाइँदैन । त्यसो गरेमा आचारसंहिता अनि निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम सजायको भागीदार हुन्छ । हामीकहाँ अहिलेसम्म त्यो प्रकृतिका उजुरीहरू आएका छैनन् । अन्य प्रकृतिको उजुरी आइरहेको र हामीले तिनलाई सम्बोधन गरिरहेको हुनाले मैले यो विषयमा थप टिप्पणी गरिनँ ।

तर सही र सत्य कुरा के हो भने निर्वाचन घोषणा भइसकेको छ । आचारसंहिता लागू भइसकेपछि कुनै पनि काम गर्न पाइँदैन । सरकार कामचलाउ मात्रै हुन्छ । सरकारको शून्यताको स्थिति नहोस्, सरकार छ भन्ने अनुभूति होस् भन्नका लागि यस्तो व्यवस्था गरिएको हो । दैनिक कामचलाउ बाहेक सरकारले अरू काम गर्न पाउँदैन, आचारसंहिता र कानुनले निषेध गर्छ ।

कतिपय दीर्घकालीन प्रकृतिका काम भइरहेका छन् । त्यसमा आयोग मौन छ । त्यसो गर्न मिल्ने भएकाले नै आयोग मौन बसेको होला, हैन ?

त्यसो हुनै सक्दैन । त्यस्तो ठान्ने हो भने गलत हुन्छ । निर्वाचन सम्बन्धी कानुन बमोजिम तयार भएको आचारसंहिताको परिधिभित्र रहेर हामी निर्वाचनमा प्रतिस्पर्धा गर्न जानुपर्छ भन्नेमा प्रधानमन्त्री, मन्त्रीलगायत सबै सहमत हुनुहुन्छ । यसमा उहाँहरूले कुनै आपत्ति ठान्नुहुन्छ जस्तो लाग्दैन ।

वित्तीय तथा आर्थिक क्षेत्रमा सरकारले गरेका केही नीतिगत निर्णयबारे आयोगको दृष्टिकोण के हो ?

बीमा, लघुवित्तलगायतको विषयमा लाइसेन्स दिने विषय हामीकहाँ पनि उजुरी परेका छन् । हामीले मसिनोसँग निगरानी गरेर यसलाई हेरेका पनि छौं । यी विषयलाई हामीले हाम्रो क्षेत्राधिकारभित्र ग्रहण गरिसकेका छौं । कतिपय विषयमा पत्राचार समेत गरिसकेका छौं ।

बाहिर सञ्चारमाध्यममा आएको हो वा अरू हो, हामी छानबिनको क्रममा छौं । अहिले उनीहरूलाई इजाजत दिने काम भएको हो भने तुरुन्तै नियन्त्रण हुन्छ, दिन पाइँदैन । किनभने त्यसले नीतिगत रूपमा असर गर्छ । निर्वाचन (कसूर तथा सजाय) ऐन र आचारसंहिताले समेत नीतिगत निर्णयलाई निषेध गरेको हुनाले उहाँहरूले त्यस्तो काम गर्नुहुन्न भन्ने हामीलाई विश्वास छ ।

हामीले टड्कारो निगरानी गरेर हेरिरहेका छौं । कहीं त्यस्तो गल्ती, कमजोरी गरेको देखियो भने ‘यसले तपाईंलाई असर गर्छ, यस्तो निर्णय नगर्नुस्, बदर गर्नुस्’ भनेर हामीले लेख्छौं ।

अर्थ मन्त्रालयबाट बजेट परिचालन र रकमान्तरणको विषयमा त आयोगले विज्ञप्ति नै निकालेको थियो । निर्वाचन आयोगले यो काम गलत भयो पनि भन्ने, केही पनि गर्न नसक्ने देखियो नि

अर्थ मन्त्रालयले ठूलो मात्रामा रकमान्तरण गरेर खर्चको बाटो खोलेको भनी हामीलाई लागेपछि (सूचना आएपछि) तुरुन्तै ‘रकमान्तरण गरेर तपाईंहरूले खर्च गर्न पाउनुहुन्न, आचारसंहिताले निषेध गर्छ । यदि त्यसरी रकमान्तरण गर्नुभयो भने कानुनले तपाईंहरूलाई दण्डित गर्छ, तपाईंहरू सजायको भागीदार बन्नुहुन्छ, बेरुजु ठहर्छ’ भनेर लेखेर पत्राचार गरिसकेका छौं ।

बजेटमा निर्वाचनलाई प्रभावित पार्ने वितरणमुखी कार्यक्रम पनि आए भनेर आलोचना भयो । निर्वाचन आयोगले संसदसम्म आँखा पुर्‍याउँछ ?

बजेट ल्याउने सरकारको क्षेत्राधिकारको विषय भयो । त्यसलाई हामीले अन्यथा भन्न सक्ने कुरा भएन । तर, निर्वाचनको क्रममा वितरणमुखी बजेट ल्याएर राष्ट्रिय ढुकुटीमा अपचलन आउने हो भने निर्वाचन आयोगले (त्यसलाई) तुरुन्तै नियन्त्रण गर्छ । निर्वाचनको अवधिभर यस्तो कुरा कानुनले निषेध गर्छ ।

निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गर्‍यो । पछि आयोगले नै निर्णय गरेर ‘आजदेखि आचारसंहिता सकियो है’ भनेर निर्णय गर्नुपर्छ । त्यसरी निर्णय नहुँदासम्म आचारसंहिता सकिंदैन । निर्वाचनको प्रक्रिया सम्पूर्ण रूपमा सम्पन्न भएपछि मात्रै आयोगले ‘आचारसंहिताको अवधि सकियो है’ भन्छ । घोषणा नभएसम्म त्यस्ता काम गर्न पाइँदैन, निषेध हुन्छ ।

सरकारले यो अवधिमा कैयौं खुद्रे काम गरेको छ । निर्वाचनमा कार्यकर्ताहरू लाभान्वित हुने निर्णय भइरहेका छन् । आयोगले वक्तव्य निकालेर कारबाही हुन्छ हैभन्ने बाहेक केही गर्दैन ?

आचारसंहिता लागू भएपछि अर्थात् १२ असोजभन्दा अघि यस्ता निर्णय भएको हो भने आयोगले क्षेत्राधिकार ग्रहण गर्दैन । त्यसपछि यदि कानुनले निषेध गरेको विषयमा सरकारले नीतिगत रूपमा निर्णय गरेर लागू गर्छ भने त्यसो गर्न पाइँदैन, यो कारबाहीको विषय हुन्छ ।

त्यसैले १२ असोजभन्दा अगाडि र पछाडिको विषयलाई मूल्यांकन गरेर हेर्नुपर्छ । त्यो मितिभन्दा अगाडिको हाम्रो क्षेत्राधिकारमा परेन । त्यो मितिभन्दा अगाडिको विषयमा सरकार आफैं नैतिकवान भएर यो काम गर्दिनँ भन्ने ठान्यो भने छुट्टै कुरा हो, नत्र हामीले हेर्न मिलेन । १२ गतेपछि पनि त्यस्तो निर्णय भएको छ भने त्यस्ता काम गर्न पाइँदैन, रोक्छौं ।

निर्वाचन आयोगको दूरबीनले कहाँसम्म देख्ने हो ? मन्त्रिपरिषद्का निर्णय नै झिकाएर हेर्न सक्छ ?

अहिले निर्वाचन आयोगको दूरबीन राम्रै छ । किनभने हामीले हरेक ठाउँमा निगरानी गरिरहेका छौं । निर्वाचन आयोगले स्वच्छ प्रतिस्पर्धा र धाँधलीरहित वातावरणमा विश्वास गर्छ । यदि सरकारले नीतिगत निर्णयभित्र घुसाएर त्यस्ता काम गर्ने हो भने स्वच्छ प्रतिस्पर्धात्मक निर्वाचन हुँदैन र त्यसले विश्वसनीयता ग्रहण गर्दैन ।

आफ्नै लागि पनि यस्ता काम गर्नुहुँदैन भन्नेबारे सरकारले पनि महसुस गरेको हुनुपर्छ । यसका अतिरिक्त हामीले टड्कारो निगरानी गरेर हेरिरहेका छौं । कहीं त्यस्तो गल्ती, कमजोरी गरेको देखियो भने ‘यसले तपाईंलाई असर गर्छ, यस्तो निर्णय नगर्नुस्, बदर गर्नुस्’ भनेर हामीले लेख्छौं । निर्वाचन आयोगले रोक लगाउँछ । नीतिगत निर्णय गरेर स्वच्छ निर्वाचन र निष्पक्ष मतदानमा प्रभाव पारेर दलहरूलाई भेदभाव गर्न पाइँदैन, यसलाई हामी रोक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?