+
+

हरिबोलमाथि कसरी हावी भए राजन ?

गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीमा छलफल गर्नुपर्ने माग गरेका छन् । टिकट नदिनुको कारणबारे स्पष्ट जवाफ नदिएसम्म जिल्लाको चुनावी कार्यक्रममा सहभागी नहुने अडानमा गजुरेल छन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असोज ३१ गते ८:५५

३१ असोज, काठमाडौं । लडेकाजति कुनै चुनाव नहारेका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली टिकट नै पाएनन् । सिन्धुलीबाट २०७० र २०७४ का दुई चुनाव जितेका गजुरेल फेरि पनि चुनाव लड्न चाहन्थे तर हाललाई उनको संसदीय राजनीतिको यात्रामा ‘ब्रेक’ लागेको छ ।

यसबाट असन्तुष्ट बनेका गजुरेलले भने आफूले टिकट नपाउनुको स्पष्ट कारण नदिएसम्म चुनावी गतिविधिमा सहभागी नहुने अडान लिएका छन् ।

स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म गजुरेल र जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को नाम सिफारिस भएको थियो । तर, अन्तिममा टिकट भने राजनले नै पाए ।

गजुरेलले जिल्लाबाटै आफूलाई जबरजस्ती रोक्न खोजेकोरुपमा बुझेका छन् । ‘उहाँविरुद्ध नांगो गुटबन्दी भयो,’ गजुरेल निकट एक नेता भने, ‘गाउँपालिकाका नेताहरुलाई थर्काएर एउटा मात्रै नाम सिफारिस गर भनेर रोक्न खोजे ।’

टिकट पाएर चुनावको प्रचारमा जुटिसकेका दाहाल भने यसलाई स्वीकार गर्दैनन् । आफूले टिकट समेत नमागेको उनको दाबी छ । ‘टिकटका लागि मैले कुनै पनि पार्टी कमिटीमा दाबी गरेको छैन,’ दाहालले भने, ‘न हरिबोलजीलाई, न अध्यक्षलाई मैले मलाई टिकट दिनुपर्यो, म आकांक्षी छु भनेको छु । पार्टी केन्द्रले टिकट दिएपछि लडेको हो ।’

गुटबन्दी गरेको भन्ने गजुरेल निकट नेताहरुले लगाएको आरोपको पनि दाहाल प्रतिवाद गर्छन् । ‘कुनै गुटबन्दी भएको होइन,’ उनले भने, ‘नौं वटै पालिकाले उहाँकै उपस्थितिमा स्वतन्त्र निर्णय गरेका छन् । शतप्रतिशत कार्यकर्ताको भनाइ यो पटक उहाँले छोडिदिनुपर्छ भन्ने थियो ।

कसरी पाए दाहालले टिकट ?

गजुरेल माओवादी केन्द्रका पुराना नेता हुन् । पार्टी उपमहासचिव समेत रहेका गजुरेल समेत आकांक्षी हुँदाहुँदै पनि टिकट भने दाहालले फुत्काए ।

दाहालको नाम जिल्लाका ९ वटै पालिका, दुई वटै निर्वाचन क्षेत्र र जिल्ला कमिटी हुँदै प्रदेशबाट केन्द्रमा पुगेकाले टिकट पाएको बताउँछन् माओवादी केन्द्र सिन्धुलीका नेता गणेश रत्न ।

जिल्लाको संगठन विभाग प्रमुख समेत रहेका उनी जिल्लामा खटिरहने र प्रत्येक कार्यकर्ताको दुःख, सुखमा नजिक रहने भएकाले सबै कार्यकर्ताबाट दाहाललाई समर्थन मिलेको दाबी गर्छन् । ‘उहाँ प्रत्येक कार्यकर्ताको दुःख–सुखमा सधैं सँगै हुनुहुन्छ,’ रत्न भन्छन््, ‘उहाँ सधैं भूगोलमै रहनुहुन्छ । उहाँ केन्द्रमा जाने भनेको बैठकका निम्ति मात्रै हो । बागमती प्रदेशसभा सदस्य हुँदा पनि उहाँले अर्बौंको बजेट ल्याएर विकासका निम्ति प्रेरणादायी काम गर्नुभयो ।’

‘यसले गर्दा पार्टी कमिटी र जनसमुदाय लाभान्वित भए,’ उनले थपे, ‘कार्यकर्ता र जनताको दबावले गर्दा उहाँलाई सिफारिस गर्न पार्टी कमिटी बाध्य भयो । प्रदेश हुँदै केन्द्रसम्म स्वीकृत भएपछि अध्यक्ष प्रचण्डले पनि त्यसलाई स्वीकृत गर्नुभयो ।’

कोरोनाका संक्रमणका बेला आइसोलेसन भवन निर्माण र जिल्ला पार्टी कार्यालय निर्माणमा समेत दाहालकै पहल मुख्य भएको उनले बताए ।

प्रचण्डलाई बाध्य पार्ने त्यो ‘डेलिगेशन’

जिल्लाबाट दाहाललाई टिकट दिन दबाव दिने उद्देश्यले सिन्धुलीका माओवादी नेता–कार्यकर्ताहरु दुईपटक ‘डेलिगेशन’ नै आएका थिए ।

दोस्रो पटक १५ असोजमा सिन्धुलीबाट आएको डेलिगेशनले दाहाललाई नै टिकट दिने अवस्थामा प्रचण्डलाई पुर्याएको थियो । जिल्लाका ९ वटै पालिकाका इन्चार्ज, अध्यक्ष, ७ जना स्थानीय जनप्रतिनिधिहरु प्रचण्ड निवास पुगेका थिए ।

स्थानीय नेता गणेश रत्नका अनुसार हरिबोललाई अन्तै व्यवस्थापन गरेर राजन दाहाललाई प्रतिनिधिसभाको टिकट दिन दबाव दिइएको थियो । ‘उहाँ उपमहासचिव हुनुहुन्छ, उहाँलाई बायस गरेर होइन कि अन्त व्यवस्थापन गर्नुहोस्, भनेका थियौं,’ उनले भने ।

त्यसपछि प्रचण्डले जिल्लाका सबै नेताहरु सामुन्ने दाहालले टिकट पाउने संकेत गरेका थिए । ‘तपाईंहरु जिल्ला नै उल्टिएर आउनु भएको रहेछ,’ प्रचण्डको भनाइ थियो, ‘तपाईंहरु जुन उद्देश्यका साथ आउनु भएको छ, त्यो मैले बुझें । यसको तपाईंले सकारात्मक जवाफ पाउनुहुन्छ ।’

प्रचण्डको संकेतपछि डेलिगेशनमा आएको जिल्लाको टोली ढुक्क भएर जिल्ला फर्किएको थियो । र, संकेत अनुसारै प्रचण्डले टिकट पनि राजनलाई नै दिए ।

गजुरेलले जनाए असहमति

यसबाट गजुरेल भने असन्तुष्ट बनेका छन् । यसबारे सार्वजनिक प्रतिक्रिया नदिएका गजुरेलले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहमति पत्र दर्ता गराएका छन् ।

माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय परिसडाँडा र ‘प्रचण्ड’ निवासमा असहमति पत्र दर्ता गराएका हुन् ।

पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीमा छलफल गर्नुपर्ने माग गरेका छन् । आफूलाई टिकट नदिइएकोबारे स्पष्ट कुरा बताउनुपर्ने उनले पत्रमा उल्लेख गरेका छन् ।

टिकट नदिनुको कारणबारे स्पष्ट जवाफ नदिएसम्म आफू जिल्लाको चुनावी कार्यक्रममा सहभागी नहुने अडानमा गजुरेल छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?