+
+

ब्रेकअपपछि जब कोही विक्षिप्त हुन्छन्

मनिषा थापा मनिषा थापा
२०७९ असोज ३१ गते १३:५२

काठमाडौं । सात वर्षसम्म अटुट रहेको प्रेम सम्बन्ध अनायासै टुट्न पुगेपछि सागर अधिकारी विक्षिप्त बने । उनी घरबाट बाहिर निस्कन सकेनन् । ‘जतिबेला पनि उनीसँग बिताएको क्षणहरुको झझल्को आइरहने’ सागर सुनाउँछन्, ‘अब उनी मेरी हुने छैन भन्ने कुराले मन चिसो हुन्थ्यो, उनको लायक हुन नसकेकोमा ग्लानि भइरहन्थ्यो ।’

प्रेम वियोगले उनको भावनामा चोट त पुग्यो नै, दैनिकी पनि बदलियो । सुत्ने, उठ्ने, खाने, काम गर्ने तालिका सबै चौपट भयो । सुत्नका लागि निद्राको औषधि र मन बहलाउनका लागि रक्सीको सहारा लिन थाले ।

‘बुवाआमाको आवाज पनि झर्कोलाग्दो लाग्न थालेको थियो । कसैसँग भेट्न, बोल्न पटक्कै मन लाग्दैनथ्यो,’ उनी भन्छन्, ‘कहाँ जाउँ के गरौं भनेर औडाहा भइरहन्थ्यो ।’ कहिले पशुपतिनाथमा बाबासँग अबेरसम्म बसेको त कहिले शिवपुरी डाँडामा जोगीहरुसँग रात गुजारेको कठोर अनुभव छ उनीसँग ।

‘मैले उनलाई नै विवाह गर्छु भनेर प्रेम गरेको थिएँ । घरपरिवार, साथीभाइ सबैलाई थाहा थियो,’ उनी सुनाउँछन्, ‘अहिले पनि उनीहरुको अगाडि पर्न असहज लाग्छ ।’

‘एउटा फिल्ममा अभिनेत्रीले ब्रेकअपको पीडा भुल्न प्रेमीको सबै सामान जलाएको देखेको थिएँ,’ उनले भने, ‘मैले पनि त्यसै गरें ।’ सम्हालेर राखेको उपहार, प्रेमपत्र आदि जलाएपछि उनको मन चंगा भयो ।

***

आशिष कार्की आफ्नै सहपाठीको प्रेममा चुर्लुम्म डुबेका थिए । उनलाई आफ्नी प्रेमिका नै सर्वस्व लाग्थ्यो । आफूलाई संसारकै भाग्यमानी ठान्थे । तर तीन वर्ष नबित्दै उनीहरुको प्रेम टुट्यो ।

‘हामी दुवै परिपक्व थिएनौं । उनी अरु पनि साथीहरु बनाउने र निस्फिक्री घुम्न जाने गर्थिन्,’ आशिष भन्छन्, ‘तर मलाई त्यस्तो मन पर्दैनथ्यो । एक दिन साह्रै रिस उठेर उनलाई कुटपिट गरें ।’ त्यही निहुँमा प्रेमिकाले उनको फेसबुकदेखि फोनसम्म ब्लक गरिन् । कति पटक माफी माग्दा पनि प्रेमिकाको मन पग्लिएन ।

‘त्यसपछि उनी कहिले पनि मेरो जीवनमा आइनन्,’ उनी भन्छन्, ‘तर म उनको प्रेमबाट कहिले पनि टाढा हुन सकिनँ ।’

प्रेम टुटेपछि उनको निद्रा हरायो, चैन हरायो । एकोहोरिने, रुने गर्न थाले । ‘मेरो हालत देखेर आमा पनि मलाई सम्झाउँदा सम्झाउँदै मसँगै रुनु हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘मलाई साथीभाइले केटीको लागि कति पागल भएको भन्थे ।’

आफूलाई सम्हाल्नै नसकेपछि आत्महत्याको प्रयाससम्म गरेको उनी बताउँछन् । ‘घर नजिकै खोलामा मर्छु भनेर गएँ,’ उनी भन्छन्, ‘तर मलाई साथीभाइले खोजेछन् र समातेर घर फर्काए ।’ आफू लामो समयसम्म डिप्रेसनमा परेको उनी सुनाउँछन् ।

***

कच्चा उमेरमै आफ्नो कक्षाका साथीसँग प्रेममा परेकी थिइन्, मधुमल्लाकी समिक्षा । उनीहरु जति हुर्कंदै गए, प्रेम सम्बन्ध पनि झाँगिंदै गयो । भेटघाट गर्ने, घुम्ने मात्र होइन ‘सँगै बाँच्ने, सँगै मर्ने’ कसम समेत खाए ।

तर अलग-अलग कलेज पढ्न थालेपछि उनीहरुले एकअर्कालाई शंका गर्न थाले । दुवैले आपसमा फेसबुकको पासवर्ड पनि आदानप्रदान गरेका थिए । जब उनीहरुको भेट हुन्थ्यो, फेसबुकमा जोडिएका साथीहरुको निहुँमा झगडा पर्थ्यो  । ‘पाँच मिनेट शान्त र रमाइलोसँग बित्यो भने ५० मिनेट चाहिं आरोप-प्रत्यारोप र झगडामै बित्थ्यो,’ समिक्षा भन्छिन् ।

एकदिन उनका प्रेमीले ‘यसरी दिनदिनै झगडा र तनाव झेलेर नबसौं, पढाइमा बाधा हुन्छ । बरु ब्रेकअप गरौं’ भने ।

यसरी आफ्नो प्रेमी अचानक बदलिएपछि समिक्षालाई सहनै गाह्रो भयो । उनी ललितपुरस्थित यूएनपार्कमा प्रेमीको हात समातेर धुरुधुरु रोइन् । त्यसपछिका दिनमा उनका प्रेमी कहिल्यै नजिक परेनन् । पछि थाहा भयो, उनको अर्कैसँग अफेयर रहेछ ।

जब समिक्षाले यो कुरा सुनिन्, उनले घरमा राखेको मुसा मार्ने औषधि खाइन् । तर आमा लगायत परिवारका सदस्यले तुरुन्तै अस्पताल पुर्‍याएपछि उनी मृत्युको मुखबाट बाँचिन् ।

***

लोकन्थलीका अनुभव फुयालको ब्रेकअप भएको अहिले पाँच वर्ष भयो । ब्रेकअपपछि अहिलेसम्म उनी कुनै केटीसँग सम्बन्धमा बस्न सकेका छैनन् । स्नेहासँग उनको फेसबुकबाट कुरा हुन थाल्यो । त्यसपछि भेट भयो, सम्बन्ध गाढा हुँदै गएपछि उनीहरु प्रेममा पर्दै गए । बेलुका ८ बजे सुरु हुने उनीहरुको कुराकानी राति १-२ बजेसम्म जारी रहन्थ्यो ।

स्नेहा अनुभवको घरमा आउने जाने गर्न थालिन् । अनुभवकी आमाले उनलाई बुहारी भनेर सम्बोधन गरिदिंदा अनुभव खुसीले गद्गद् हुन्थे । उनीहरुको विवाह गरिदिने कुरा भयो । त्यसपछि अनुभव र उनका काका स्नेहा हात माग्न गए । स्नेहाको परिवार काठमाडौंको धनाढ्य परिवारको थियो । घरमा सहयोगी कामदार पनि निकै थिए । स्नेहाले पहिले पनि विवाहको कुरा गर्दा परिवारले खानदान गतिलो चाहिन्छ भनेर भनेको अनुभवलाई सुनाएकी थिइन् । अनुभव जसरी पनि सम्झाउँछु भनेर काकासँग गएका थिए ।

तर स्नेहाको परिवारले सामान्य परिवारमा छोरी नदिने भन्दै चिया–पानी समेत नसोधी फिर्ता पठाइदिए । स्नेहालाई पनि त्यो केटा भेटिस् भने विष खाएर मर्दिन्छु भनेर आमाले धम्की दिइन् । स्नेहाले ‘मेरो बिहे अन्तै फिक्स भयो’ भनेर अनुभवलाई फेसबुकदेखि फोन सबैमा ब्लक गरिन् । त्यसपछि विक्षिप्त बने अनुभव ।

‘त्यो समयमा धेरै गाह्रो भयो । डिप्रेसनको औषधि समेत खाने गरेको छु अहिलेसम्म । उनको फोटो हेर्दै उठ्थें । उनको फोटोसँगै निदाउँथें, अनुभव सुनाउँछन् । पेसाले शिक्षक उनी प्रेममा यति विक्षिप्त बने कि जागिर नै छाडेर घरमा बसे ।

ब्रेकअप हुँदा संसार नै सकिएको जस्तो हुन्छ : अध्ययन

न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयका मनोवैज्ञानिक एडवर्ड स्मिथले ६ महिनासम्म लगाएर ब्रेकअपबाट गुज्रिएका ४० जनामा हुने भावनात्मक असरको अध्ययन गरेका थिए ।

उनीहरुलाई एमआरआई मेसिनमा राखेर आफ्ना बिछोडिएका प्रेमी-प्रेमिकाको फोटो हेर्न र उनीहरुलाई कसरी अस्वीकार गरियो भनेर कल्पना गर्न लगाइयो । एमआरआई स्क्यानले के देखायो भने सहभागीहरुले आफ्नो रोमान्टिक उथलपुथलबारे सोच्दै गर्दा शारीरिक दुखाइसँगै मस्तिष्कमा पनि दख्खल पर्ने रहेछ ।

विगतमा बिताएका रमाइला पल, मीठा कुराकानी, प्रेमिल गतिविधिहरु बिर्सन खोज्दा त्यसले पीडालाई अरु आलो बनाइदिन्छ र मनमा आघात पुर्‍याउँछ । यसको सोझो असर मस्तिष्कसम्म पर्छ ।

यसले गर्दा निद्रा नपर्ने, भोक नलाग्ने, दुःख मात्र महसुस हुने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छ ।

ब्रेकअपको लामो पीडाबाट उम्किन सागर अधिकारीले आफूलाई अन्य काममा व्यस्त राख्न थाले । बिहान उठेर ओछ्यानमै टोलाउने भन्दा पनि ब्याटमिन्टन खेल्न जाने, दिउँसो अफिस जाने, साँझ साथीहरुसँग रमाइलो गफगाफ गर्न थाले ।

प्रेम-वियोगले मानसिक आघात’

डा. अनन्त अधिकारी, निर्देशक, पाटन अस्पताल

जब प्रेममा चुर्लुम्म डुबेका जोडीको बिछोड हुन्छ, कतिपय अवस्थामा त्यसले मस्तिष्कलाई गहिरो असर गर्छ । प्रेमी वा प्रेमिकाले हठात ब्रेकअपको कुरा गरेमा त्यसले कतिपयलाई नराम्ररी मानसिक आघात पर्न सक्छ ।

यसमा दुई किसिमको प्रतिक्रिया हुन्छ । एउटा अलि सामान्य र अर्को जटिल । एक किसिमको प्रतिक्रिया के हुन्छ भने सुरुमा रिसाउने, रुने गर्छन् र पछि ग्लानि वा पछुतो अनुभव गर्न थाल्छन् । यसरी सोच्दासोच्दै उनीहरुले ‘मलाई मात्र किन यस्तो बज्रपात परेको होला’ भन्ने ठान्छन् । केही सातापछि उनीहरु सामान्य अवस्थामा फर्कन्छन् ।

अर्को ‘एबनर्मल रियाक्सन’ हुन्छ । यसमा मनोवैज्ञानिक जोखिम आउनसक्छ । सहन शक्ति कम भएकाहरुमा यस्तो समस्या आउन सक्छ । उनीहरु एकोहोरिने, लागुऔषधको लतमा पर्ने, आत्महत्याको प्रयास गर्नेसम्म हुन्छन् ।

प्रेम सम्बन्ध रहनु, डेटिङ जानु, ब्रेकअप हुनु । यी कुरा सामान्य लागे पनि यसको प्रभाव निकै गहिरो हुने गर्छ । किशोर वा युवा उमेरमा प्रेममा बहकिने गर्छन् । ख्यालख्यालैमा सुरु भएको प्रेम सम्बन्ध विस्तारै परिपक्व हुँदै जान्छ र यस्तो क्षण पनि आउँछ कि उनीहरु एकअर्कासँग छुट्टिनै सक्दैनन् । यसबीचमा विभिन्न जटिलता वा झन्झटले घेरिसकेको हुन्छ । न उनीहरु प्रेम सम्बन्धलाई अगाडि बढाइरहन सक्छन्, न तोड्न नै ।

जब सम्बन्ध तोड्नैपर्ने स्थिति आइलाग्छ, त्यसले उनीहरुलाई मानसिक रुपमा विक्षिप्त बनाइदिन्छ । नतिजा, उनीहरु असामान्य बन्न पुग्छन् । खाने, खेल्ने, रमाउने, बोल्ने, काम गर्ने कुरा सबै प्रभावित हुन्छ । कति लागुऔषधमा पर्छन्, कतिले आत्महत्या गर्छन् ।

यसको सोझो असर उनीहरुको परिवार, इष्टमित्र, समाजमा पर्छ । अल्लारे जोडीको प्रेम र वियोगले उनीहरुलाई मात्र पिरोल्दैन, त्यसले अरु धेरैलाई समस्यामा पारिदिन्छ ।

ब्रेकअपबाट उन्मुक्ति

ब्रेकअपको लामो पीडाबाट उम्किन सागर अधिकारीले आफूलाई अन्य काममा व्यस्त राख्न थाले । बिहान उठेर ओछ्यानमै टोलाउने भन्दा पनि ब्याटमिन्टन खेल्न जाने, दिउँसो अफिस जाने, साँझ साथीहरुसँग रमाइलो गफगाफ गर्न थाले ।

यसैबीच कोरोना महाव्याधिको कारण लकडाउन भयो । यसै क्रममा उनले सामाजिक सञ्जालमा भेटिएका साथीहरुसँग आफ्नो कुरा साझेदार गरे । एकअर्कालाई सम्झाउने, बुझाउने गर्न थाले । यसरी क्रमशः आफ्नो वियोगको पीडाबाट उम्किए ।

आशिष कार्कीको दैनिकी पनि अब फेरिएको छ । उनी खुसी मात्र छैनन्, आफ्नै काममा व्यस्त पनि ।

‘एक दिन बुवा र आमा मेरै कुरा गरेर रोइरहनु भएको रहेछ,’ आशिष भन्छन्, ‘एउटा केटीको लागि यसरी आमाबुवालाई रुवाउनु ठीक लागेन । अनि बुवाआमालाई खुसी राख्छु भनेर मोटिभेसनल भिडियोहरु हेर्न थालें ।’

प्रेम वियोगको चरणबाट उम्कनुपर्छ भन्ने लागेर उनी नयाँ नयाँ किताब पढ्ने, घुम्न निस्कने, साथी बनाउने गर्न थाले । ‘यसरी विस्तारै म त्यो स्थितिबाट बाहिर आएँ,’ उनी भन्छन् ।

लोकन्थलीका अनुभव फुँयालको जब ब्रेकअप भयो, उनी नराम्ररी विक्षिप्त बने । पाँच वर्षको प्रेम सम्बन्ध अनायास टुटेपछि अनुभवलाई ‘संसार नै अँध्यारो’ लागेको थियो । कतिसम्म भने, त्यही पीडाबाट उम्कन उनले डिप्रेसनको औषधि खानुपर्‍यो ।

तर अहिले उनी वियोगको पीडाबाट मुक्त छन् । औषधि त खाइरहेकै छन्, तर पहिले जस्तो कमजोर भावनात्मक स्थिति छैन ।

‘एउटा फिल्ममा अभिनेत्रीले ब्रेकअपको पीडा भुल्न प्रेमीको सबै सामान जलाएको देखेको थिएँ,’ उनले भने, ‘मैले पनि त्यसै गरें ।’ सम्हालेर राखेको उपहार, प्रेमपत्र आदि जलाएपछि उनको मन चंगा भयो ।

(माथि उल्लेखित पात्रहरूको नाम परिवर्तन गरिएको हो – सम्पादक ।)

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?