+
+

५० लाखको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री

रासस रासस
२०७९ असोज ३१ गते १३:५३

३१ असोज, धनकुटा । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।

यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा यस बर्ष समयमा फूल नफुल्दा किसानहरु मारमा परेका वडा अध्यक्ष विकास घिमिरेले जानकारी दिए । किसानहरुको फूल खेतीमा लगानी र व्यापार राम्रो भएकाले २०७५ सालमा वडाले विशेष अनुदानको व्यवस्था गरेर उन्नत जातको फूल खेती कार्यक्रम सुरु गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार गाउँमा फूल राम्रो उत्पादन भए पनि भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि पुनः किसान पारम्परिक खेतीमा फर्किएका थिए । किसानले गाउँभरी लगाएका फूल समसमै नफूल्दा समस्यामा परेको लाँकुरे गाउँका २५ वर्षीय नवीन मल्लले जानकारी दिए ।

गतवर्ष पाँच रोपनीमा फूल लगाएर एक लाख ५० हजारमा बेचेका मल्लले यो वर्ष चार रोपनीमा लगाएको फूल भर्खर मात्र फूल्न थालेका छन् । मल्लको जस्तै उक्त गाउँमा ५० भन्दा बढी किसानले लगाएको सयपत्री फूल नफूलेपछि तिहारमा फूल अभाव हुने देखिएको उनले बताए ।

‘जम्मा तिहारमा लक्ष्मी पूजाको एक दिन फूल व्यापार हुन्छ । यो फूल तिहारमा बेच्नेगरी नफुल्ने भो । अब सबै उखालेर फ्याँक्नुपर्ला’, मल्लले भने ।

मल्लको जस्तै सिलिङ्ग्वा टोलका ५३ वर्षीय राजकुमार राईले चार रोपनीमध्ये दुई रोपनीमा लगाएको सयपत्री फुलेको छैन । अगाडि लगाएको फूल अधिक वर्षाको कारण बिग्रिएको र पछि रोपेको फूल फूलेको छैन । ‘अब काटेर बाख्रालाई घाँस खुवाउने’, राईले भने ।

यस्तै १ रोपनीमा फूल रोपेका स्याउलेका राधादेवी घिमिरेले गाउँमा किसानले लगाएको फूल कसैको पनि नफूलेको जानकारी दिए । छोरालाई भनेर फूल फूलाउने औषधि लगाए पनि तिहारमा फूल्ने छाँट नभएको उनले बताए । ‘दशैंमा फूलेको भए तिहारसम्म पुग्थ्यो होला ! तर यो पाली तिहार छिटो आएर पनि फूल नफूल्ने भयो’ उनले भनिन् ।

जिल्लामा हाल सयपत्री फूलको व्यवसायिक खेती नभएको र मौसमी खेती मात्र हुनेगरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जलवायु परिवर्तनका कारण मौसम परिवर्तन र कृषि क्षेत्रमा प्रयोग हुने अधिक विषादीका कारण समयमै फूल नफूलेको हुनसक्ने कार्यालय प्रमुख नगेन्द्रबहादुर राणाले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?