+
+

नयाँ भन्दै पुराना ल्यापटप नेपालमा ल्याएर बेच्ने गरिएको खुलासा

भन्सारले रोक्यो ५ सय थान ल्यापटप

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते २०:००

३१ असोज, काठमाडौं । नेपालमा नयाँ भनेर पुराना ल्यापटप आयात गरेर बिक्री गर्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कतार र दुवईबाट आयात भएको चार वटा फर्मको शंकास्पद ल्यापटपमा गरेको परीक्षणमा यस्तो रहस्य बाहिरिएको हो ।

काठमाडौंका तीन र ललितपुरका एक फर्मले आयात गरेका एक हजार मध्ये करिब ५ सय वटा ल्यापटप पुराना र वारेन्टी सकिएपछि नयाँ भनेर आयात भएको पाइएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

यसरी आयात भएका सबै ल्यापटप ‘डेल’ कम्पनीको भएको उनको भनाइ छ । ‘गत भदौ तेस्रो साता शंकास्पद अवस्थामा आयात भएका ल्यापटपको प्राविधिक परिक्षण गर्दा आयात भएकामध्ये आधा ल्यापटपको वारेन्टी सकिएको पाइयो,’ प्रमुख भन्सार प्रशासक पोखरेलले भने, ‘यो त बजारले अनुभव नगरेको नयाँ प्रकारको ठगी हो । हामी थप अध्ययन गरिरहेका छौं ।’

अध्ययनका क्रममा हेर्दा वाह्य मुलुकमा एक पटक प्रयोग भएर काम नलाग्ने भएका र उपयोग वारेन्टी सकिएपछि दोस्रो बजारमा पठाइएको ल्यापटप पुनः खरिद गरेर नेपाल ल्याइएको पाइएको भन्सार कार्यालयले जनाएको छ ।

हाल जफत भएका ल्यापटपको भन्सार पास रोकेर थप कारवाहीको सिफारिस तयारी भइरहेको र नयाँ भित्रिने ल्यापटपलाई कडाइका साथ परीक्षण थालिएको भन्सार प्रमुख पोखरेलले बताए । विमानस्थलमा यस्तो अवस्थामा ल्यापटप भेटिएपछि बजारमा बिक्री भएका ल्यापटपको गुणस्तरमा समेत गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

‘आयात भएका ल्यापटपको भन्सारमै कडाइ सुरु हुन्छ, तर बजारमा गएका ल्यापटपको गुणस्तरमा पनि अब अनुगमन र परीक्षण गरिनु पर्छ,’ पोखरेलले भने,’विमानस्थल भन्सारको सिंगो टिम अहिले यस प्रकार ठगीको विरुद्ध काम गरिहरको छ ।’

चालु आर्थिक वर्षको २ महिनामा नेपालले एक अर्ब २५ करोड ९२ लाख रुपैयाँको १९ हजार ५०८ थान ल्यापटप आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?