+
+

२६ वटा ल्यापटपसहित शृङ्खलाबद्ध रुपमा चोरी गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १६:१५

१८ मंसिर, काठमाडौं । ललितपुरको विभिन्न स्थानहरूमा शृङ्खलाबद्ध रुपमा ल्यापटप चोरी गरेको आरोपमा समूहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ घर भइ काठमाडौं भोटेबहाल बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोबहादुर थलाल छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिकाको ३, ४, १० र १५ वडाका विभिन्न ठाउँमा विभिन्न मितिमा ल्यापटप चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । कोही नभएको मौका छोपेर, होस्टल, अफिस, तथा घर कोठाबाट ल्यापटप चोरी हुने गरेको थियो ।

त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । हाल पक्राउ परेका रसाइली यसअघि ८ पटक चोरी मुद्दामा र ५ पटक अभद्र व्यवहारको कसुरमा गरी १३ पटक मुद्दा चलेका व्यक्ति रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

त्यसैगरी थलालविरुद्ध यसअघि काठमाडौंबाट १ पटक चोरीको कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीहरूबाट २६ थान चोरीका ल्यापटप प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?