+
+

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा ‘डब्लूटीओ चेयर’को शुभारम्भ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १३:२०

३१ असोज, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी)को शुभारम्भ गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले कुसोममा डब्लूटीओ चेयरको उद्घाटन गरेका हुन् ।

विश्व व्यापार संगठनका सदस्यहरुको बहुपक्षीय व्यापार प्रणालीमा पूर्ण सहभागीतालाई सहज बनाउने लक्ष्यका लागि डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी)ले विकासोन्मुख राष्ट्रहरुमा शेक्षिक संस्थालाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउँछ ।

यसबाट ती मुलुकले अन्तर्राष्ट्रिय व्यापार कानुन र अर्थशास्त्रको ज्ञान बढाउने उद्देश्य लिइएको हुन्छ । यस्तो कार्यक्रम नेपालमा ल्याउनु गर्वको विषय भएको डब्लूसीपी नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले बताए । उनका अनुसार डब्लूसीपी आगामी चार वर्ष (सन् २०२२–२०२६) कुसोममार्फत सञ्चालन हुनेछ । जसमा मुख्यतया तीन वटा खम्बामा काम हुनेछन् । यसभित्र पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता अभिवृद्धिको काम हुनेछ ।

क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन तथा व्यापारसँग सम्बन्धित सरोकारवाला निकायहरुमा सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गरिने भएको छ । पाठ्यक्रम विकास शिक्षणतर्फ अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित विभिन्न तहमा कोर्षहरु निर्माण गरिनेछन् । व्यापारसँग सम्बन्धित अनुसन्धानका काम समेत यसबीचमा हुने कुसोमले जनाएको छ ।

शुभारम्भ कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश पठाएका थिए । जसमा प्रधानमन्त्री देउवाले डब्लूसीपी नेपाल कार्यक्रमले नेपालको व्यापार र लगानी नीति तर्जुमा गर्न सहयोग गर्ने र जसका माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारमा नेपालले सामना गर्ने प्रमुख अवरोधमा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । उनले नेपालले खासगरी आपूर्तिको क्षेत्रमा बढी बाधा भोग्नु परेको समेत उल्लेख गरे । अन्तर्राष्ट्रिय व्यापार यथार्थमा आधारित बनाउन समेत यो कार्यक्रमको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

विश्व व्यापार संगठनका उपमहानिर्देशक जियाङ्ग झाङ्गले यस्तो नेटवर्कबाट विचारहरुको अन्तर विजारोपणका साथ ज्ञानलाई बढावा दिई त्यसको अधिक आदान–प्रदान गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा मुख्यसचिव बैरागीले शैक्षिक, अनुसन्धानका माध्यमबाट व्यापारको क्षेत्रमा नयाँ-नयाँ सोचको सिर्जना गर्न चेयर कार्यक्रमले भूमिका खेल्ने बताए । उनले यो कार्यक्रमको सफलताका लागि नेपाल सरकारको दरिलो साथ रहने समेत आश्वान दिए । सन् २००४ मा नेपाल डब्लूटीओको सदस्य बनेको स्मरण गराउँदै उनले नेपाल अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रुपमा काम गरिरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा दाता मुलुकका तर्फबाट अष्ट्रियाको डिजिटल तथा आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सिन्थिया जिम्मरम्यानले शैक्षिक विधेषज्ञताको पूँजीकरणमार्फत क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताइन् । डब्लूटीओ चेयर प्रोग्रामकी शैक्षिक बोर्ड सदस्य डेसिरी भान गोर्पले कुसोममार्फत तोकिएका क्षेत्रमा आक्रामक नतिजा प्राप्त हुने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्लूटीआको सदस्य हुँदा नेपालको निजी क्षेत्र सबैभन्दा उत्साहित भएको स्मरण गराउँदै आज त्यसअनुसारको नतिजा नदेखिएको बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले डब्लूसीपी नेपालमा आउनु आफैंमा गर्वको विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?