+
+
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता :

महिला क्रिकेटमा पुलिसले जित्यो स्वर्ण

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक १ गते १६:४८
स्वर्ण पदकसहित पुलिसका खेलाडी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न सफल भएको हो ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नै गत भदौ अन्तिममा काठमाडौंमा भएको पुरुष क्रिकेटको उपाधि पनि पुलिसले नै जितेको थियो ।

मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको एपीएफले ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।

पुलिसका लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाउन ५५ बल खेलिन् । यस्तै सम्झना खड्काले २१, कविता कुँवरले ११, कविता जोशीले अविजित १३ रन बनाए ।

एपीएफका लागि बलिङमा नेरी थापा, इन्दु वर्मा र सीता राना मगरले १-१ विकेट लिए । रेखा रावलले ४ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चिइन् भने विकेट लिन सकिनन् ।

९० रनको लक्ष्य पछ्याउने क्रममा एपीएफको सुरुवात राम्रो हुन सकेन ।

चौथो ओभरमै ओपनर ज्योति पाण्डे व्यक्तिगत ७ रन बनाएर रनआउट भएपछि एपीएफले लय लिन सकेन । त्यसपछि इन्दु वर्मा २, कप्तान सीता राना मगर ७, नेरी थापा शून्य, ममता चौधरी ९ रनमा आउट हुँदा एपीएफले १३.४ ओभरमा ४७ रन बनाउँदा ५ विकेट गुमायो । छैटौं नम्बरमा ब्याटिङ गरेकी रोमा थापाले लोअर अर्डरमा इनिङ्स सम्हाल्ने प्रयास गरेकी थिइन् ।

उनले सरिता राना मगरसँग मिलेर इनिङ्स अघि बढाउने प्रयास गरेकी थिइन् । तर सरिता ९ रनमा आउट भइन् । त्यसबेला एपीएफले ६४ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

अन्तिम दुई ओभरमा एपीएफलाई जितका लागि १८ रन आवश्यक थियो । १९ औं ओभरको पहिलो बलमा रोमाले १ रन लिँदै राजमती ऐरिलाई स्ट्राइक दिइन् ।

तर दोस्रो बलमा राजमतीले रन लिने क्रममा रोमालाई पुलिसकी अप्सरी बेगमले डाइरेक्ट हिटमार्फत रनआउट गराइन् । रोमाले १९ बल खेल्दै २ चौका मद्दतमा २६ रन बनाइन् ।

अन्तिम ओभरमा एपीएफलाई जितका लागि १३ रन चाहिएको थियो । एपीएफले ७ रन मात्र जोडेपछि पुलिस विजयी भयो । राजमती १२ रनमा अविजित रहिन् ।

बलिङमा पुलिसका लागि ईश्वरी विष्टले २, रुविना क्षेत्री, सबनम राई र हिरन्मई रोयले १-१ विकेट लिए ।

दशैं बिर्सेर गरेको अभ्यासको सफलता 

टिम बनाएको पहिलो प्रतियोगितामै च्याम्पियन बनेपछि पुलिसका खेलाडीले उत्साहका साथ सेलिब्रेसन गरे । ‘ठूलो टिमलाई ठूलै टिमले हराएर स्वर्ण जित्यो । राम्रो खेल्ने विश्वास थियो । त्यसमा सबैले राम्रो प्रदर्शन गरे’ खेलपछि पुलिसका प्रशिक्षक मन्जित श्रेष्ठले भने ।

यसअघि पुरुष टिमको कप्तानी सम्हाल्दै आएका मन्जितले गत भदौमा नवौं खेलकुदकै लागि दीपेन्द्र सिंह ऐरीलाई कप्तानी हस्तान्तरण गरेका थिए ।

घरेलु महिला क्रिकेटमा दबादबा भएको एपीएफ विरुद्ध ८९ रनको लक्ष्य भेट्दा पुलिसका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । ‘हाम्रो बलिङमा एक्कुरेसी थियो । त्यसैले डिफेण्ड गर्नै नै लक्ष्य थियो । विपक्षीलाई पनि रन लिन गाह्रो थियो । तर हामी डिफेण्ड गर्छौँ भन्ने थियो’ मन्जितले भने ।

पुलिसले नवौं खेलकुदका लागि एक महिनाअघि नै टिम निर्माण गरेर तयारी गरेको थियो । राष्ट्रिय टिमबाट कप्तान रुविना क्षेत्रीसहित आधा भन्दा बढी खेलाडी समेटेको पुलिस विन्दु रावल र डली भट्टलाई टिममा राख्न सफल भएन ।

उनीहरु नभएपनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्‍यो । ब्याटिङमा सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक बनाउनुका साथै उत्कृष्ट प्रदर्शन गरे । कविता जोशीले पनि राम्रो प्रदर्शन गरिन् ।

पहिलो प्रतियोगितामै पुलिसलाई च्याम्पियन बनाएपछि कप्तान रुविना क्षेत्रीले टिममा विश्वास रहेकोले सफल भएको बताइन् । ‘सुरुमा पुलिसले टिम बनाएपछि दबाब त थियो । युवा टिम नै बनाएका थियौं । हामीलाई ब्यारेकमै राखेर एक महिना ट्रेनिङ गराउनुभयो,’ रुविनाले भनिन्, ‘दशैं बिर्सेर प्रशिक्षण गरेको स्वर्ण जित्दा खुशी छौं ।’

उनले सुरुदेखि नै स्वर्ण जित्ने लक्ष्यसहित तयारी गरेको बताइन् ।  ‘हाम्रो जितको मुख्य आधार नै टिम स्पिरिट नै हो’ रुविनाले भनिन् । रुविनाले १९औं ओभरमा अप्सरीले डिरेक्ट हिटमार्फत रोमालाई रनआउट गर्नु नै खेलको टर्निङ प्वाइन्ट भएको बताइन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?