
१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन टोली नियमित अनुगमनको क्रममा मंगलबार मध्याह्न १२ बजे नयाँ बानेश्वर चोकको ‘द बर्गर हाउस एन्ड क्रन्ची चिकेन’मा पुग्यो ।
निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बर्गर हाउसको भान्साको फ्रिज खोले, ह्वास्सै दुर्गन्ध आयो ।
‘मासु गन्हाएको रहेछ, तत्काल नष्ट गर्न निर्देशन दियौं’ खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपन्छी महाशाखा प्रमुख डा. अवधेश झाले अनलाइनखबरसँग भने, ‘बर्गर हाउसका ग्राहकका लागि दिन भनेर राखेको मासु कसरी बिग्रियो ? हामीले जवाफ मागेका छौं ।’
बर्गर हाउसका सञ्चालकले मासु सप्लायर्सले नै कुहिएको मासु पठाएको भन्दै टार्न खोजे । तर, अनुगमन टोली मासुको सप्लायर्ससँग पनि कुरा गर्ने गरी महानगरमा हाजिर हुन निर्देशन दिएर बाहिरियो । यसअघि जडीबुटीको बर्गर हाउसमा पनि यस्तै मासु र अखाद्य तेल भेटिएको थियो ।
बानेश्वरको बर्गर हाउसको किचेनमा काम गर्ने कर्मचारी र भान्साको सरसफाइमा समेत खासै ध्यान नपुगेको पाइएको झाले बताए ।

विभागको टोली बानेश्वरकै थकाली भान्छा घरमा पनि पस्यो । भान्सा घरको टेबलमा खाना खाइरहेका ग्राहकहरुको बाक्लै उपस्थिति थियो । अनुगमन टोली सरासर भान्सामा छिर्यो, यतिबेला भान्सा घरका कर्मचारीहरु भान्सामै बसेर खाना खाइरहेका भेटिए । ग्राहकका लागि स्वच्छ खान बनाएर दिइनुपर्ने किचेनमा टन्नै कर्मचारी बसेर खाना खाइरहेको भेटिएपछि अनुगमन टोली थप चकित भयो ।
‘भान्सा पनि सफा थिएन, कर्मचारीहरुले पनि खास स्वच्छतामा ध्यान दिएको अवस्था पाइएन । सबै जना कर्मचारी भान्सामै बसेर खाना खाने गरेको भेटियो’ झाले भने, ‘रेष्टुराँ चलाउने तर कर्मचारीलाई खाना खान ठाउँ नदिने गर्दा उपभोक्तालाई समेत स्वच्छ खानेकुरा उपलब्ध गराउन हेलचेक्रयाइँ गरेको देखियो ।’

थाकखोलाका फ्रिजमा स-साना प्याकमा राखिएका मासुका झोला भेटिए । ती मासु किन त्यसरी राखिएको हो भन्नेबारे सञ्चालकले स्पष्ट जवाफ दिन सकेनन् ।
बानेश्वर चोकमै रहेको द थकाली एण्ड सेकुवा क्याफे, काठमाडौं–३१ मा सञ्चालित कोलकत्ता स्वीट्स र लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा पनि यस्तै समस्या देखिएको झाले बताए ।
स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार अनुगमन गरिएका सबैको भान्सा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन् ।
‘परिकार बनाउने कच्चा पदार्थहरु चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरुलाई खास चासो देखिएन । भान्सामा काम गर्नेहरुको व्यक्तिगत सरसफाइ कमजोर छ’ उनले भने, ‘कर्मचारीहरुले एप्रोनको सही प्रयोग गरेका छैनन् । फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ । खाद्य अनुज्ञापत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुहरुको प्रयोग भएको देखिन्छ ।’
यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन विभागले निर्देशन दिएको उनले बताए । रेष्टुराँमा कार्यरत कर्मचारीलाई खाना खाने उचित स्थान व्यवस्थापन गर्न पनि विभागले निर्देशन दिएको छ ।
प्रतिक्रिया 4