+
+

सरकारले निकासा गरेको रकममा ८१ करोड थपेर कोरोना बीमाको दाबी भुक्तानी गर्दै बीमा समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:४०

२ कात्तिक, काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रकम भुक्तानी गर्ने तयारी गरेको छ । सरकारले कोरोना बीमाको दायित्व स्वीकार गर्दै एक अर्ब रुपैयाँ निकासा गरेको थियो ।

त्यसमा बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले ८१ करोड रुपैयाँ थप गरेर १ अर्ब ८१ करोड रुपैयाँ बराबरको दावी भुक्तानी तत्काल गर्न लागिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए ।

कुल १७ लाख ५८ हजार ३४३ जना बीमितले कारोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ जना बीमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको दावी परेको थियो ।

अर्थमन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मार्गदर्शन अनुसार सुरुको ३ अर्ब ५० करोड रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले गर्ने उल्लेख छ । त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सोही अनुसार बीमा कम्पनीहरुले ३ अर्ब ५० करोडसम्मको दावी भुक्तानी गरेर पनि थप १ अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ बराबरको दावी भुक्तानी बीमा कम्पनीले गरेको थिए । तर, नेपाल सरकारले कोरोना बीमा वापतको रकम निकासा नगर्दा बीमा कम्पनीले दावी भुक्तानी रोकेका थिए ।

बीमा कम्पनीहरुले साढे ३ अर्ब भन्दा माथि भुक्तानी गरिसकेको करिब डेढ अर्ब सहित नेपाल सरकारले कुल १२ अर्ब ३४ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । जसमध्ये १ अर्ब रुपैयाँ सरकारले निकास गरेसँगै उक्त रकमलाई ५५ प्रतिशत मानेर बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी र समितिले ८१ करोड थप गरि १ अर्ब ८१ करोड रुपैयाँ बराबरको कोरोना बीमाको दावी भुक्तानी गर्न लागिएको पौडेलले बताए ।

कारोना बीमितलाई भुक्तानी गर्न बाँकी रहेको १० अर्ब ८४ करोड ६ लाख ८३ हजार ३१९ रुपैयाँ मध्ये एक अर्ब ८१ करोड रूपैयाँको भुक्तानी गर्ने तयारी भएको पौडेलले बताए । ‘बीमा समितिले अर्थमन्त्रालयमा पठाएको कोरोना बीमा दावी भुक्तानीको दोस्रो ढाँचा अनुसार सरकारले ५५ प्रतिशत व्यहोर्ने र बाँकी समिति, बीमा कम्पनी, पुनर्बीमा कम्पनी मिलेर भुक्तानी गर्ने प्रस्ताव अनुसार ८१ करोड थपले दावी भुक्तानी गर्न लागिएको हो । पौडेलले भने, ‘अहिले निकास भएको रकम त्यसरी नै वितरण हुनेछ र बाँकी दावी भुक्तानी पनि सरकारले निकासा गरेअनुसार साही अनुपातमा भुक्तानी गर्दै जानेछौं ।’

४५ प्रतिशत मध्ये निर्जीवन बीमा कम्पनीहरुले २५ प्रतिशत, पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा समितिले बाँकी रहेको आठ प्रतिशत रकम व्यहोर्नेछ । समितिले भुक्तानी माग्न आउने ग्राहकको पीसीआर टेस्टको मिति अनुसार पुरानोलाई प्राथमिकता दिएर रकम दिने योजना बनाएको भएपनि यसमा अर्थ मन्त्रालयको स्वीकृति पर्खिरहेको समितिले जनाएको छ ।

समिति स्रोतका अनुसार सर्वसाधारणको दाबी भुक्तानी पछि मात्रै नेपाल सरकारको अनुदानमा कोरोना बीमा गरेर कोराना बीमा दावी गरेका ४२ हजार ७०४ जना राष्ट्रसेवकको ३ अर्ब ९२ करोड ५२ लाख ९५ हजार ५५५ रुपैयाँ बराबरको दावी भुक्तानी गरिने छ । तर, समितिका कार्यकारी निर्देशक पौडले भने बीमाको दाबी गर्नेको क्रमसंख्या अनुसार भुक्तानी हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?