+
+
नवौं राष्ट्रिय खेलकुद :

प्याराग्लाइडिङ तयारी खेलको नतिजा नै आधिकारिक, आर्मी र गण्डकीलाई ३/३ स्वर्ण

निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइने

प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईका अनुसार दुर्घटनामा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइने भएको छ ।

विकास रोकामगर विकास रोकामगर
२०७९ कात्तिक ३ गते ९:४१
प्याराग्लाइडिङ । फाइल तस्वीर

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको तयारी उडानको नतिजालाई नै आधिकारिक मानेर पुरस्कार वितरण गर्न थालिएको हो ।

संघका अनुसार टिम तथा एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३/३ स्वर्ण जितेका छन् । यस अन्तर्गत क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कूल २७५० अंकसहित स्वर्ण पदक हात पारेको हो ।

विभागीय टिम नेपाल आर्मी क्लबले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कूल २५५५.९ अंकसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

त्यस्तै, बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ ।

प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईका अनुसार खेलकै क्रममा दुर्घटनामा मृत्यु भएका निसिम थापाको सम्मानमा मानार्थ स्वर्ण पदक दिइने भएको छ । गोरखा स्थायी घर भई हाल पोखरा–१० मा बस्दै आएका थापाको घरमै पुगेर पदक हस्तान्तरण गरिने उनले जानकारी दिए ।

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कुल १ सय अंकसहित स्वर्ण पदक हात पारेका हुन् ।

सोही स्पर्धामा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारेका छन् । उनले कुल ९४८.६ अंक हात पारेका थिए । त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जितेका छन् । उनले कुल ९२५.६ अंक प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।

प्याराग्लाइडिङ एक्युरेसी पुरुषतर्फ गण्डकीलाई स्वर्ण

प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ । गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुमन थापा, सागर नेपाली, रिखी पोडे र नुरन थापाको टिमले कुल २३ अंकसहित स्वर्णपदक हात पारेका हुन् ।

त्यस्तै, विभागीय टिम एपीएफले अक्युरेसी टिम पुरुषतर्फ रजत पदक हात पारेको छ । संघका अनुसार पूर्वतयारी खेलमा अञ्जन कुँवर, रवीन्द्र ढकाल, विष्णु कार्की र अमन थापाको समूहले कूल ४० अंक प्राप्त गरेको थियो ।

सोही स्पर्धामा प्रदेश १ ले कांस्य पदक जितेको छ । प्रदेश नं. १ का रोशन बस्नेत, युवराज सुनुवार, दिलकुमार सुनुवार र विश्वास गुरुङको समूहले सामूहिक ४९ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् ।

प्याराग्लाइडिङ एक्युरेसी पुरुष व्यक्तिगततर्फ गण्डकी पहिलो

अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । गण्डकीका खेलाडी सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवर रजत र नेपाल आर्मीका विष्णु तिमिल्सिनाले कांस्य पदक जितेका हुन् ।

व्यक्तिगत अक्युरेसीमा गण्डकीका थापा र विभागीय टिम नेपाल आर्मीका कुँवरले समान ३, ३ अंक ल्याएका थिए । दुवैको अंक बराबर भएपछि गोलाप्रथाबाट सुमनले स्वर्ण जितेको संघले जनाएको छ ।

प्याराग्लाडिङ टिम एक्युरेसी महिलामा आर्मी च्याम्पियन

महिला टिम अक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीका मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङको समूहले ४० अंकसहित राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हात पारेका छन् ।

रजत पदक हात पारेको गण्डकीको महिला एक्युरेसी टिमले कुल ११३ अंक ल्याएको थियो । गण्डकीको टिममा ऋतु श्रेष्ठ, कृष्णु पौडेल र शर्मिला शर्मा सहभागी थिए ।

त्यस्तै, सोही स्पर्धामा रजत पदक प्रदेश नं. १ ले हात पारेको छ । प्रदेश १ का देवकी सुनुवार, अनुष्का सुनुवार, इश्का राईले ८९० अंक प्राप्त गरेको संघले जनाएको छ ।

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीको बर्चस्व

निसिम थापा

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज गरेको छ । आर्मीका मुनामाया जिटी २० अंकसहित स्वर्ण पदक, दुर्गामाया गुरुङ २१ अंकसहित रजत र स्वस्तिका गुरुङ कांस्य ५४ अंक प्राप्त गरेका थिए ।

क्रसकन्ट्री अन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । उडानका क्रममा दुर्घटनापश्चात दुर्घटना भएपछि नेपाल हवाई खेलकुद संस्थानले देशैभरिको प्याराग्लाइडिङ उडान स्थगित गरेको छ ।

‘इन्टरनेसनल प्राक्टिस नै के हुन्छ भने दुर्घटना वा मौसमका कारण गेम भएन भने प्राक्टिस वा जुन गेम भएको हुन्छ त्यहीअनुसार नै नतिजा दिनुपर्ने हुन्छ,’ महासचिव रावतले भने, ‘हाम्रो प्राक्टिस २८ गते भएकाले एक्युरेसीको त्यही नतिजा घोषणा भएको हो । क्रसकन्ट्रीमा भने एक चरणको गेम भएको थियो, त्यसैलाई आधिकारिक मान्यौं ।’

पुरस्कार वितरण नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशालामा गरिने भएको छ ।

पोखरा रंगशालामा निसिमको अर्धशालिक राखिने

नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?